निजी कलेजमा कृषि र पशुविज्ञान पढ्ने विद्यार्थीकाे संख्या ५० प्रतिशतसम्म घट्यो, समस्यामा लगानीकर्ता

  २०७९ साउन २४ गते १७:०३     नारायण अर्याल

काठमाडौं । पछिल्लो समयमा निजी स्तरबाट सञ्चालन गरिएका कृषि कलेज तथा इन्स्ट्च्यिुटहरुमा पढ्ने विद्यार्थीको संख्या घट्न थालेको छ । कृषि तथा पशुविज्ञानका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सञ्चालकहरुले पछिल्लो समयमा पढ्न आउने विद्यार्थीको संख्यामा आधा कटौती भएको बताएका छन् ।
नेपाल पोलीटेक्निकल इन्स्ट्च्यिुट, भरतपुर चितवनले कृषि विज्ञान, पशु विज्ञान, इन्जिनियर, नर्सिङ र पब्लिक हेल्थ विषयहरुमा अध्यापन गर्दै आएको छ । कलेजले सञ्चालन गर्दै आएको कृषि तथा पशुविज्ञानका कार्यक्रममा पछिल्लो समयमा विद्यार्थीको संख्या कोटा भन्दा झण्डै ५० प्रतिशत कम भएको इन्स्ट्च्यिुटका प्रमुख कार्यकारी अधिकृत शिव सुवेदीले विकासन्युजलाई बताए ।

अधिकृत सुवेदीकाअनुसार इन्स्ट्च्यिुटले सिटिइभिटीको १८ महिने भेटेनरी र कृषि कार्यक्रम सञ्चालन गरेको छ । जसमा ४०/४० वटा कोटा रहेको छ । तर, पढ्ने विद्यार्थीहरु ५० प्रतिशत मात्रै रहेको सुवेदीले बताएका छन् । यस्तै स्नातक तहको कृषि विज्ञान विषयमा ९६ जना विद्यार्थीको कोटा रहेको छ । पढ्ने विद्यार्थी भने ५० प्रतिशत मात्रै रहेको उनी बताउँछन् । सुवेदीका अनुसार स्नातक तहको पशु विज्ञान पढ्ने विद्यार्थीको संख्या भने पूर्ण रुपमा रहेको छ ।

यस्तै, झण्डै १ दशकदेखि सिटिइभिटीका विभिन्न प्राविधिक विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको काठमाडौं अल नेपाल कलेज अफ टेक्निकल इन्स्ट्च्यिुटमा पनि पछिल्लो समय कृषि तथा पशुविज्ञान पढ्ने विद्यार्थीको संख्या आधा घटेको छ । विगत ३/४ वर्षसम्म इस्ट्च्यिुटमा १०/१२ जना विद्यार्थीले मात्रै १८ महिने कृषि तथा पशुविज्ञान पढ्ने गरेको र पछिल्लो शैक्षिक सत्रमा मात्रै सो संख्या बढेर २२ पुगेको इस्ट्च्यिुटका सञ्चालक निर्मल सापकोटाले बताए ।

०७५ सालसम्मको अवधिमा कोटा अनुसार नै विद्यार्थी हुने गरेकोमा कोभिड महामारीपछि कोटाअनुसार विद्यार्थी पढ्न नआएको सापकोटाको भनाइ छ ।
मदन भण्डारी स्मिृति प्रतिष्ठान अन्तर्गत स्कुल अफ एग्रिकल्चर उर्लावारीमा पनि कोटा अनुसार विद्यार्थीको संख्या नभएको स्कुलका सहायक प्रधानाध्यापक डा. मोदराज आचार्यले बताए । आचार्यले अन्यत्र जस्तो ठूलै संख्यामा विद्यार्थी कम नभएतापनि कोभिडपछिको अवस्थामा विद्यार्थीकाे संख्या कम देखिने संकेत देखिएको बताए ।

कोटा अनुसार किन विद्यार्थी पढ्न आएनन् ? 

वैदेशिक रोजगारमा जाने विद्यार्थीको संख्या बढ्ने गरेको र पछिल्लो समयमा धेरै सरकारी कलेज तथा स्कुलहरुमा प्राविधिक शिक्षाको सम्बन्धन गएको कारणले आफ्नो कलेजमा आउने विद्यार्थी संख्या घटेको नेपाल पोलिटेक्निकल इन्स्ट्च्यिुट भरतपुर चितवनका कार्यकारी अधिकृत बताउँछन् ।

त्यस्तै, अल नेपाल कलेज अफ टेक्निकल एजुकेशन काठमाडौंका सञ्चालक निर्मल सापकोटाले पनि प्राविधिक शैक्षिक कार्यक्रमको सम्बन्धन धेरै संख्याका कलेज तथा विद्यालयमा दिएपछि विद्यार्थी विकेन्द्रित भएको बताए । उनले पछिल्लो ४/५ वर्षमा सिटिइभिटीले मुलुकका ५५० भन्दा धेरै सरकारी स्कुलहरुमा आफ्नो कार्यक्रम विस्तार गरेको बताए ।

कृषि तथा भेटेनरीका कार्यक्रम आवश्यकता भन्दा धेरै जथाभावी रुपमा बाँड्दा अहिलेको परिस्थिति आएको भन्दै सापकोटाले कृषि तथा पशुविज्ञानमा विद्यार्थीको आकर्षण भने नघटेको बताए । विगतमा १८ महिने कृषि तथा पशुविज्ञानको कार्यक्रममा विद्यार्थीसँग १ लाख ५० हजार सम्म शुल्क लिने गरेकोमा विद्यार्थी नआएपछि अहिले ५० हजारमा मात्रै पढाउने गरेको सापकोटाको भनाइ छ ।

स्कुल अफ एग्रिकल्चर उर्लाबारीका सह प्रधानाध्यापक डा. मोदराज आचार्यले विदेश जाने बढ्दो प्रवृत्ति र प्राविधिक शिक्षाको विस्तारले नै विद्यार्थीको संख्या प्रभावित भएको हुनसक्ने बताए ।

निजी क्षेत्रका प्राविधिक कलेजहरुकाे भविश्य के हाेला ? 

युवाहरु विदेश जाने प्रवृत्ति बढेको कारणले गर्दा स्नातक तहमा विद्यार्थीको संख्या घटेको र डिप्लोमा लेवलमा आवश्यकता भन्दा धेरै संख्यामा सम्बन्धन वितरण गर्दा कसैलाई पनि विद्यार्थी संख्या नपुगेको नेपाल पोलिटेक्निकल इन्स्ट्च्यिुटका कार्यकारी अधिकृत सुवेदीको भनाइ छ । सुवेदी अहिलेको ढांचामा जथाभावी सम्बन्धन बाँड्दा कसैलाई पनि सर्भाइव हुन गाह्रो पर्ने बताउँछन् ।

अल नेपाल कलेज अफ टेक्निकल एजुकेसनका सञ्चालक सापकोटाले भने जथाभावी कार्यक्रम बाँडिएका स्कुलहरुले प्राविधिक विषयलाई राम्रोसँग दिन नसक्ने भएकाले फेरि विद्यार्थीहरु आफ्ना कलेजहरुमा आउने अवस्था उत्पन्न हुने बताउँछन् । उनले प्राविधिक विषय ब्ल्याक बोर्डमा अध्ययन गराएर नहुने भएकाले स्कुलहरुमा यसको दिगोपनामा शंका रहेको बताए ।

त्यस्तै, स्कुल अफ एग्रिकल्चर उर्लाबारीका सह-प्रधानाध्यापक डा. मोदराज आचार्यले स्कुलहरुमा विस्तार भएका प्राविधिक शिक्षा विस्तार भएमा निजी क्षेत्रबाट सञ्चालित कलेज तथा इन्स्ट्च्यिुटहरुले नयाँ ढंगले सोच्न पर्ने अवस्था पनि आउन सक्ने बताए । तर, अहिलेसम्मको अवस्थामा समस्या आइनसकेको उनको भनाइ छ ।

सम्बन्धित सामग्री : इन्जिनियरिङ पढ्ने विद्यार्थी पाइन छाडे, आकर्षण विदेशतर्फ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.