अझै कर्जा दिन नसक्ने अवस्थामा यी ४ बैंक, प्रभु बैंकसहित ७ बैंकलाई सहज

  २०७९ साउन २४ गते १३:४०     विकासन्युज

काठमाडौं । अहिले बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव छ । बैंकहरुले कर्जा लगानीका लागि लगानीयोग्य रकम नपाइरहेको अवस्था छ । असार मासन्तमा धेरै बैंकहरुलाई कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्न पनि धौधौ भएको थियो ।

नयाँ आर्थिक वर्ष सुरु भएपनि अझै केही बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा छन् । नबिल, ग्लोबल आइएमई, कृषि विकास र मेगा बैंक अझै पनि कर्जा लगानी गर्न सक्ने अवस्थामा छैनन् ।

गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार अझै पनि नबिल बैंकको ८९.७९ प्रतिशत, ग्लोबल आइएमईको ८९.२१ प्रतिशत, कृषि विकासको ८९.१७ प्रतिशत र मेगा बैंकको ८९.०५ प्रतिशत सीडी रेसियो छ ।

प्रभु बैंक भने सहज अवस्थामा छ । प्रभुको सीडी रेसियो ७८.३५ प्रतिशत छ । सीडी रेसियोमा सहज अवस्थामा कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सिटिजन्स, सिभिल र राष्ट्रिय वाणिजय बैंक पनि रहेका छन् । नेपाल राष्ट्र बैंकले ९० प्रतिशतको सीडी रेसियो हुनु पर्ने व्यवस्था गरेको छ ।

नेपाल बैंकर्स संघका अनुसार पछिल्लो समय वाणिज्य बैंकहरुमा निक्षेप घट्ने क्रम झन बढेकाे छ । असार मसान्तदेखि यता बैंकहरुको निक्षेप ९५ अर्ब रुपैयाँले घटिसकेको छ ।

नेपाल बैंकर्स संघका अनुसार साउनको तेश्रो साता (साउन २० गतेसम्म) मा बैंकहरुको निक्षेप ४४ खर्ब ४६ अर्ब रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो साताको तुलनामा ४ अर्ब रुपैयाँले घटी हो । गत असार मसान्तमा भने बैंकहरुमा यस्तो रकम ४५ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको थियो ।

त्यस्तै, बैंकहरुको कर्जा लगानी भने अघिल्लो साताको तुलनामा बढेको छ । अघिल्लो साता ४१ खर्ब ६४ अर्ब रुपैयाँ रहेको बैंकको कर्जा लगानी २ अर्बले बढेर ४१ खर्ब ६६ अर्ब रुपैयाँ नाघेको छ । जुन असार मसान्तमा भने ४१ खर्ब ७५ अर्ब रुपैयाँ थियो ।

त्यस्तै, कर्जा लगानी बढेको बैंकहरुको औषत सीडी रेसियो भने घटेको छ । अघिल्लो साता ८७.९८ प्रतिशत रहेको बैंकहरुको औषत सीडी रेसियो यो साता थोरैले घटेर ८७.६९ प्रतिशतमा झरेको छ । निक्षेप घट्दै गएपछि बैंकहरुले लगानी गर्नका लागि रकमकाे अभाव भइरहेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.