१० सूचकमा २६ बैंक : कुनको स्ट्रेन्थ कति ?

  २०७९ साउन २४ गते १२:५५     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार २६ वटा बैंकहरु विभिन्न सूचकहरुमा अब्बल देखिएका छन् । विभिन्न सूचकमा फरक–फरक बैंकहरुको स्ट्रेन्थ देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा नाफा, निक्षेप, कर्जा लगानी, चुक्ता पुँजी, जगेडा कोष, ब्याज आम्दानी, सिडी रेसियो, प्रति सेयर आम्दानी, खराब कर्जा र रिटर्न अन इक्विटीमा फरक– फरक बैंकहरु अब्बल देखिएका हुन् ।

नाफामा राष्ट्रिय वाणिज्य बैंक टप 

अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरुको नाफा २३.१४ प्रतिशतले बढेको छ । गत वर्षको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुले नाफा ७४ अर्ब ८० करोड ११ लाख रुपैयाँ गरेका छन् । नाफामा राष्ट्रिय वाणिज्य बैंक अगाडि देखिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ नाफा गरेको छ । नाफामा ग्लोबल आईएमई बैंक दोस्रो देखिएको छ । ग्लोबल आइएमई बैंकले ५ अर्ब २० करोड ६४ लाख, नबिल बैंकले ४ अर्ब ९७ करोड २७ लाख, एनआइसी एशियाले ४ अर्ब ५२ करोड, नेपाल इन्भेष्टमेन्टले ४ अर्ब ८ करोड रुपैयाँ नाफा गरेका छन् ।

एनएमबि बैंक, प्राइम बैंक, नेपाल बैंक र सिद्धार्थ बैंकले ३ अर्बभन्दा बढी नाफा आर्जन गरेर प्रतिस्पर्धा गरिरहेका छन् । सरकारी लगानी रहेको नेपाल बैंक पनि आफ्नो स्थान बढाउँदै गएकाले अझै अग्रस्थानमा छिट्टै पुग्ने तथ्याङ्कले देखाएको छ ।

कुमारी, मेगा, कृषि विकास, प्रभु, एभरेष्ट, हिमालयन, सानिमा, स्ट्याण्डर्ड चार्टर्ड, सिटजन्स, माछापुच्छ्रे, सनराइज र एनसीसी बैंकले २ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् । बिओके, नेपाल एसबिआई, लक्ष्मी, सिभिल र सेञ्चुरी बैंक भने एक अर्ब क्लबमा प्रतिस्पर्धा भइरहेको छ । नेपाल एसबिआई, सिभिल र सेञ्चुरी पहिलो पटक एक अर्ब बढी नाफा आर्जन गरेर अर्ब क्बलमा पुगेका हुन् ।

प्रतिशतका हिसाबले तुलना गर्ने हो भने यी ३ बैंकको नै सबैभन्दा बढी नाफा बढेको हो । सिभिलको १६२, सेञ्चुरीको ११६ र नेपाल एसबिआई बैंकको नाफा बढेको हो । गत वर्ष ३ वटा वाणिज्य बैंकको नाफा घटेको तथ्याङ्कले देखाएको छ । सानिमा, हिमालयन र कृषि विकास बैंकको नाफा घटेको देखिएको छ ।

निक्षेप, कर्जा र जगेडामा नबिल

यसअघि नाफामा अगाडि देखिने नबिल भने यस पटक कर्जा लगानी, निक्षेप संकलन र जगेडा कोष बढी भएको बैंकको शिर्ष स्थानमा छ । नबिल बैंकको चौथो त्रैमासको वित्तीय विवरण अनुसार कर्जा लगानी, निक्षेप संकलन र जगेडा कोष बलियो बनाउनेमा नम्बर वान बैंकका रुपमा देखिएको छ ।

नबिलले गत आर्थिक वर्षमा ३ खर्ब २६ अर्ब २२ करोड २३ लाख निक्षेप संकलन गरेको छ भने ३ खर्ब १ अर्ब ७ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले यस अवधिसम्म कुल २६ अर्ब ३७ करोड ९१ लाख रुपैयाँको जगेडा कोष बनाएको छ । जगेडा कोष बैंक तथा वित्तीय संस्थाको एक महत्वपूर्ण र स्ट्रेन्थ देखाउने सूचक पनि हो ।

निक्षेप संकलन बढी गर्ने दोस्रोमा एनआइसी एशिया, तेस्रोमा ग्लोबल र चौथोमा राष्ट्रिय वाणिज्य बैंक छ । कर्जा लगानीमा पनि दोस्रो ग्लोबल आइएमई, तेस्रोमा एनआइसी एशिया र चौथोमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । जगेडा कोषमा दोस्रो बैंकका रुपमा नेपाल बैंक, तेस्रोमा राष्ट्रिय वाणिज्य बैंक, चौथोमा नेपाल इन्भेष्टमेन्ट र पाँचौंमा कृषि विकास बैंक देखिएको छ ।

चुक्ता पुँजीमा ग्लोबल अब्बल

चुक्ता पुँजीको आधारमा ग्लोबल आइएमई बैंक अब्बल देखिएको छ । अहिले पनि नम्बर वानमा रहेको ग्लोबल आइएमई बैंक बैंक अफ काठमाण्डूसँग पनि मर्जर गरेर थप चुक्ता पुँजीमा बलियो हुने रणनीतिका साथ मर्जर सम्झौता गरिसकेको छ ।

ग्लोबल आईएमई बैंककाे चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार छ । यस्तै, चुक्ता पुँजीमा दोस्रो बैंकका रुपमा नबिल देखिएको छ । नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि नबिलको चुक्ता पुँजी बढेको हो । हाल नबिलको कुल चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख छ ।

चुक्ता पुँजीको आधारमा तेस्रो नम्बरमा भने प्राइम कमर्सियल बैंक देखिएको छ । यस बैंकको कुल चुक्ता पुँजी १८ अर्ब ६५ करोड ६३ लाख छ भने चोथो नम्बरमा रहेको कृषि विकास बैंकको चुक्ता पुँजी १८ अर्ब ६२ करोड ६ लाख रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा पाँचौं नम्बरमा भने एनएमबी बैंक छ । यस बैंकको कुल चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ छ ।

तीन सूचकमा बलियो एनआईसी एशिया

एनआईसी एशिया बैंक तीन सूचकमा अगाडि देखिएको छ । ब्याज आम्दानी, प्रतिसेयर अम्दानी र रिटर्न अन एक्विटी (आरओईं) मा एनआइसी एशिया बैंक अब्बल देखिएको छ ।

एनआइसी एशिया बैंकले गत आर्थिक वर्षमा ३३ अर्ब २५ करोड ४६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । ब्याज आम्दानी बढी गर्ने बैंकको दोस्रो नम्बरमा ग्लोबल आइएमई, तेस्रोमा नबिल, चौथोमा राष्ट्रिय वाणिज्य बैंक र पाँचौंमा सिद्धार्थ बैंक देखिएको छ ।

यस्तै, प्रतिसेयर आम्दानीमा पनि एसआइसी एशिया नै अगाडि देखिएको छ । यस बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३९.१३ रुपैयाँ छ । ईपीएसमा दोस्रोमा राष्ट्रिय वाणिज्य बैंक, तेस्रोमा एभरेष्ट, चौथोमा नबिल र पाँचौंमा सिद्धार्थ बैंक छ ।

रिटर्न अन इक्विटीमा पनि एनआइसी एशिया नै अगाडि देखिएको छ । बैंकहरुको ‘स्ट्रेन्थ’ कति छ भन्नको लागि हेर्ने गतिलो सूचक रिटर्न अन इक्विटी (आरओई) अर्थात सम्पत्ति माथिको प्रतिफल हो ।

विभिन्न बैंकहरूले अर्बौं नाफा गरेको देखिए पनि उनीहरूले लगानी गरे अनुसारको कमाए वा कमाएनन् भन्ने विषय जानकारीका लागि सम्पत्ति माथिको प्रतिफल सूचक हो । बैंकहरूले यथार्थमा कति कमाए ? बैंकको स्ट्रेन्थ कस्तो छ ? भन्ने विषय थाहा पाउन आरओई नै सबैभन्दा अब्बल सूचक हो । लगानीमा कति प्रतिशत नाफा गरेको छ ? भनेर हेर्न रिटर्न अन इक्विटी नै हेर्नुपर्छ । सेयरधनीले बैंकमा गरेको कुल लगानीको प्रतिफल नै रिटर्न अन इक्विटी हो ।

रिटर्न अन इक्विटीमा राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ, माछापुच्छ्रे, ग्लोबल आईएमई बैंकबीच पनि आरओईमा प्रतिस्पर्धा देखिएको छ । यी बैंकहरुको आरओई क्रमशः २१.९४ प्रतिशत, १८.४५ प्रतिशत, १७.२२ प्रतिशत, १६.९१ प्रतिशत र १६.३० प्रतिशत छ ।

खराब कर्जा नेपाल एसबिआईकाे कम

बैंकहरुको जति बढी खराब कर्जा (एनपीएल) भयो त्यति नै जोखिम बढी हुन्छ । बैंकहरुको चोथौ त्रैमासको वित्तीय विवरण अनुसार सबैभन्दा कम एनपीएल नेपाल एसबिआई बैंकको देखिन्छ । नेपाल एसबिआई बैंकको खराब कर्जा ०.१५ प्रतिशत छ ।

खराब कर्जा कम हुनेमा एभरेष्ट बैंक दोस्रो, सानिमा तेस्रो, एनआइसी एशिया चौथो र स्ट्याण्डर्ड चार्टर्ड बैंक पाँचौं नम्बरमा छ । यी बैंकहरुको खराब कर्जा क्रमशः ०.२४ प्रतिशत, ०.३५ प्रतिशत, ०.४९ प्रतिशत र ०.५९ प्रतिशत छ ।

सीडी रेसियोमा प्रभु बैंक राम्रो

अहिले बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव छ । बैंकहरुले कर्जा ल गानीका लागि लगानीयोग्य रकम नपाइरहेको अवस्था छ । असार मासन्तमा धेरै बैंकहरुलाई कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्न पनि धौधौ भएको थियो ।

तर, सिटिजन्स बैंक भने सीडी रेसियो कायम गर्नमा उत्कृष्ट बैंकका रुपमा चिनिएको छ । चौथौ त्रैमासको वित्तीय विवरण अनुसार प्रभु बैंकको सीडी रेसियो ७८.३५ प्रतिशत छ । सीडी रेसियोमा सहज अवस्थामा कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड र सिटिजन्स पनि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.