२०७९ साउन २३ गते १८:०६ विकासन्युज
काठमाडौं । एनएमबी क्यापिटल नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आवद्ध भएको छ । आफ्नो कारोबारलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न क्यापिटलले नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरी एनपीएसमा आवद्ध भएको हो ।
सम्झौता पत्रमा एनएमबी क्यापिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्य र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पश्चात एनएमबी क्यापिटलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ । सो अन्तर्गत एनएमबी क्यापिटलले एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा सम्बन्धीत कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछन ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमा हाल ५९ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु लगायतका ७३ गैर-बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।
एनएमबी क्यापिटल मर्चेन्ट एण्ड इन्भेष्टमेन्ट बैंकिङ्गको क्षेत्रमा एनएमबी बैंक लिमिटेडको पूर्ण स्वामित्व रही एक दशक भन्दा लामो समय देखि सञ्चालनमा रहेको सहायक कम्पनी हो । हाल उक्त कम्पनीले आईपीओ लगायत धितोपत्र र यसको व्यवस्थापन सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । कम्पनीले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र ग्राहकलाई थप सुविधा प्रदान गर्न नवीनतम प्रविधिको प्रयोग गर्दै आएको छ भने एनसीएचएल सँगको यस सहकार्यले कम्पनीको सेवा प्रवाह थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.