माथिल्लो तहमा अर्बौंको भ्रष्टाचार हुन्छ, तल्लो तहका कर्मचारीमा तलबमै विभेद भयो : भोलानाथ पोख्रेल

  २०७९ साउन २३ गते १७:०५     विकासन्युज

चालु आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्था विपरित उच्च तहका कर्मचारीको तलब वृद्धि गरिएपछि तल्लो तहका कर्मचारीहरुले बिदा बस्ने सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । कर्मचारीहरुको मागलाई सम्बोधन गर्ने र सार्वजनिक भएको नयाँ तलबमानलाई कार्यान्वयन नगर्ने विषय अर्थमन्त्री जनार्दन शर्माले बताइसकेका छन् । तर, सिंहदरबारमा तल्लाे तहका कर्मचारीहरु भने आन्दाेलित नै बनेका छन् । कर्मचारीकाे नयाँ तलबमान, आन्दाेलन गर्नुकाे कारण,  तल्लो तहका कर्मचारी माग लगायतका विषयमा विकासन्युजका नारायण अर्यालले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कार्यबाहक अध्यक्ष भोलानाथ पोख्रेलसँग गरेको कुराकानीको सम्पादित अंश :

उच्च तहका कर्मचारीको तलब वृद्धि गरिएपछि नायब सुब्बाहरु पनि आन्दोलनमा उत्रिए, यसलाई ट्रेड युनियनले कसरी लिएको छ ?

नायब सुब्बाहरुको आन्दोलनमा हाम्रो समर्थन छ । उहाँहरुले आफ्ना जायज माग अगाडि बढाउनुभएको छ । प्रकृया गलत भएकाले ठिक ढंगले मुद्दा उठेको छ । युनियनले उहाँहरुको कुरालाई बुझेको छ । आधिकारिक ट्रेड युनियनले अर्थमन्त्रीसँग गएर छलफल गरेको गरिसकेको छ । हामीले सरकारसँग कुरा पनि गरेका छौं । अहिलेलाई बजेटभन्दा बाहिरबाट आएको तलबमान कार्यान्वयन नगर्ने कुरा भइसकेको छ ।

अहिले जारी गरिएको ऐन कार्यान्वयन नगर्ने भैसकेको अवस्था छ । तलबमानमा केही नमिलेको कुराहरुलाई मिलाउनु पर्नेछ । तल्लो तहबाट माथिल्लो तहमा जाने तलबमानको फरक मिलेको छैन । खरदार र सुब्बाको तलबको फरक १ सय रुपैयाँ पनि छैन । शाखा अधिकृत र सुब्बाको तलबमा १३/१४ हजारको फरक छ । यो विषयलाई रेसियो मिलाउँदा अलिकति ध्यान पुर्याउनु पर्ने हो । यो मिलाउनु पर्ने  हाे । मिलेको छैन । यसलाई मिलाएर लैजानुको विकल्प पनि छैन । रेसियो क्याल्कुलेसन गर्ने कुरामा बैज्ञानिक, सामयिक र न्यायोचित हुनु पर्यो ।

बजेटमा समावेश नै नगरिएको विषयलाई मन्त्रालयस्तरबाट निर्णय गरेर तलबको वृद्धि गर्न मिल्छ ?

यो काम कानूनी हिसाबले भन्दापनि पूर्वाग्रही हिसाबले ल्याइएको हो । यो अवस्थामा निजामती प्रशासनलाई विभेद गर्ने, अराजकता सिर्जना गर्ने हिसाबले ल्याइएको थियो । विभेदकारी कुराहरु कसरी कानूनसम्मत हुन्छन ? हुँदैनन नी ? बजेटले हरेक श्रेणीका कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने भनेपछि सबैको १५ प्रतिशत हुनुपर्यो नी । कसैको २४ प्रतिशत कसैको १५ प्रतिशत र कसैको अझै तल हुन मिल्छ र ? अर्को अझ गम्भ‍ीर र अपराधिक काम के भएको छ भने समायोजन ऐन विपरित प्रदेशमा समायोजन भएर गएका सातौं तहका कर्मचारीहरुको तलब नै घटाउने काम भएको छ । यहाँ शाखा अधिकृत भन्दा समायोजन भएर गएका सातौं तहका अधिकृतको तलब अझ माथि हुन्छ । समायोजन भएर गएकाको एउटा तह वृद्धि भएको छ, अर्को तलब र ग्रेड वृद्धि भएको छ । हिजो यहाँ ३० हजार तलब खाने शाखा अधिकृतको तलब उहाँ ३३ हजार भएको थियो । अनि २ ग्रेड थपिएको थियो । अर्थमन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्रीको कार्यालय वा सिंहदरबारमा बस्ने कर्मचारीहरुले हामी सबै राजा हौं भन्ने मान्यताका साथ त्यो तलब बढाउने हो ?

त्यो अर्थमन्त्रालयमा बस्ने मान्छेहरु पूर्वाग्राही छन् । त्यहाँ निर्णय प्रकृयामा सामेल भएका मान्छेहरु अयोग्य छन्, असक्षम छन् । परिस्थिति र कानून केही पनि नबुझिकन निजामती प्रशासनलाई भद्रगोल बनाउने दिशामा अगाडि बढाउनेगरी काम गरेका छन् । अर्थमन्त्रीलाई नै विवादमा ल्याइदिएनन ? त्यहाँको कर्मचारीहरुलाई के गर्ने भन्ने विषयमा एउटा निर्णय गर्नु पर्ने अवस्था छ ।

निजामती कर्मचारीहरुको समस्या तलबमा छ की सेवा सुविधाहरुसँग जोडिएको छ ?

तलब रेसियो क्याल्कुलेसनमा विभेद छ । समस्या त्यहीँ छ । सेवा सुविधामा पनि विभेद छ । खाइपाई आएका सेवा सुविधा पनि कटौती गर्ने काम गरेका छन् । यो विषयको अन्त्य हुनु पर्यो नि । धेरै तलब बुझ्ने कर्मचारीहरुलाई पनि विभिन्न प्रकृतिका भ्रष्टाचारको आरोप तथा मुद्दा लगाइरहेको देखिन्छ । तलब वृद्धि गरेर नै कर्मचारीको प्रवृत्तिमा सुधार हुने त देखिँदैन नी ।

भ्रष्टाचार भनेको माथिबाट हुने हो, तलबाट हुँदैन । प्रधानमन्त्रीले भ्रष्टाचार नगरे कार्यालय सहयोगीले गर्दैन । त्यसले गर्दा नीतिगत भ्रष्टाचार गरेकाहरुलाई कारवाही नगरेसम्म हुँदैन । १० रुपैयाँ घुस खाएकालाई कुरा गर्नुहुन्छ तपाईं ? यहाँ अरबौं अरब खानेहरुको मतलब छैन । त्यसकारणले गर्दाखेरी भ्रष्टाचार नियन्त्रण भनेको माथिबाट गर्ने हो, तलबाट कहिल्यै हुँदैन ।

कर्मचारीहरुको पारिवारिक शिक्षा, स्वास्थ्य र आवास जस्ता विषयहरु सम्बोधन गर्ने कुराले बरु समस्याको दिगो समाधान गर्छ होला नी । तर, तपाईंहरुको यसतर्फ ध्यान गएको देखिँदैन ।

किन माग नगर्नु । म तपाईंलाई एउटा प्रतिवेदन हेर्न भन्छु । २०६६ सालमा एउटा कार्यदल बनेको थियो । हामीले ८४ बुँदा माग राखेका थियौं । निजामती कर्मचारीलाई छात्रवृत्ति, उपचार खर्च, अस्पताल बनाउनुपर्छ, आवास सुविधा, यातायात भत्ता, लगायतका कुरामा सहमति भएको थियो । सोही सहमतिका आधारमा निजामती अस्पताल बन्यो । कर्मचारीलाई छात्रवृत्ति दिने कुरा भयो । त्यसकै आधारमा कर्मचारीलाई अध्ययन विदा र पोशाक, लगायत लगायतका कुराहरु प्राप्त गरेका छौं ।
तलब वृद्धि भन्दापनि यस्तै खालका सुविधा दिनुपर्छ भन्ने कुरा नै हाम्रो माग हो । तर, सबैले तलबमात्रै माग गरेको देख्छन् ।

संघीयता कार्यान्वयनको ५ वर्ष हुन लाग्दा पनि संघीय निजामती ऐन आउन सकेन, आखिर मुल समस्या कहाँनेर अल्झिरहेको छ ?

पहिलो कुरा लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री हुनुहुन्थ्यो, सायद उहाँ सब–ओभरसियर फेल गर्नुभएको हो की जस्तो लाग्छ । कर्मचारीहरुप्रति उहाँ पूर्वाग्रही हुनुले समायोजनमा समस्या उत्पन्न भएको हो । कर्मचारीको समायोजन अपूर्ण छ, अबैज्ञानिक छ र पूर्वाग्रही छ । कानून ल्याउने कुरामा पनि स्टेकहोल्डरहरुसँग छलफल नै छैन ।

संघीय निजामती ऐनको समयमा नै निर्माण गर्ने विषयमा तपाईंहरुको पनि सिर्जनात्मक भूमिका देखिएन नी, बरु आन्दोलन समयमा नै ऐन ल्याउने कुरामा गर्नुपर्ने होइन र ? त्यसले समस्याको दिगो समाधान गर्न सक्थ्यो नी ?

ऐन कर्मचारीमैत्री बनाउन पर्छ भन्ने हाम्राे भनाइ हाे । ट्रेड युनियन अधिकारलाई सुनिश्चित गर्नुपर्छ । खाइपाई आएका सेवासुविधाहरु कटौती गर्न पार्ईंदैन । कर्मचारीका वृत्ति विकासका सवालहरुलाई समुचित न्यायोचित र वितरण प्रणालीलाई न्यायोचित बनाउन पर्यो । समायोजन भएर गएका कर्मचारीहरुलाई पनि वृत्ति विकास र सेवासुविधाको ग्यारेन्टी हुनुपर्यो । कसैकसैका लागि मात्रै ऐन बनाउन भएन । बसेर छलफल गरौं । टेबुलमा बसेर निकास दिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.