नबिल र हिमालयनले सेयर कारोबार ह्वात्तै घटाए, बिओके र सानिमा आक्रामक, सेयरबाट कुनको आम्दानी कति ?

  २०७९ साउन २२ गते १८:४४     विकासन्युज

काठमाडौं । गत वर्षदेखि सेयर (धितोपत्र)बजारको यात्रा आरालोतर्फ छ । सेयर बजारमा गिरावट आउँदा बैंकहरुले लगानी गरेवाफतको आम्दानी पनि घटेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुको सेयर कारोबारबाट ७ अर्ब ८ करोड ४५ लाख ८३ हजार रुपैयाँ आम्दानी गरेका छन् । तर, यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा भने ३८.४१ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरुले सेयर कारोबारबाट ११ अर्ब ५० करोड ४४ लाख ९९ हजार रुपैयाँ आम्दानी गरेका थिए ।

बढ्दो सेयर बजारबाट लगानीकर्ता जस्तै बैंकहरुले पनि उल्लेख्य रुपमा नाफा गर्छन् । तर, घट्दो बजारमा भने लगानीकर्ताकाे आम्दानी पनि घट्छ । बैंकहरुले सेयर कारोबारबाट गरेको आम्दानीलाई अन्य सञ्चालन आम्दानीमा राख्ने गरेका छन् । यो अवधिमा १४ वटा बैंकको सेयर कारोबारबाट आम्दानी घटेको छ भने १२ वटा बैंकको मात्रै बढेको देखिएको छ ।

गत आर्थिक वर्षमा वृद्धिदरका हिसाबले सबैभन्दा बढी आम्दानी बैंक अफ काठमाण्डू र सानिमा बैंकले गरेको छ । बैंक अफ काठमाण्डूले धितोपत्रमा लगानी गरेर ६ करोड ५३ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ र जुन अघिल्लो आबको तुलनामा ४५०.९१ प्रतिशत बढी हो । सानिमा बैंकले पनि १५ करोड २७ लाख ८ हजार आम्दानी गरेको छ । यस बैंकको आम्दानी अघिल्लो आबको तुलनामा १९५.५७ प्रतिशत बढी हो ।

एक वर्षको अवधिमा धेरै बैंकले लगानी घटाउँदा आम्दानी पनि कम भएको छ । यो अवधिमा सबैभन्दा नबिल बैंक र हिमालयन बैंकले लगानी घटाएका छन् । लगानी घटाउँदा आम्दानी पनि दुवै बैंकको घटेको देखिन्छ ।

गत आर्थिक वर्षमा नबिल बैंकको सेयर कारोबारबाट ७५.४१ प्रतिशतको कमि देखिएको हो । अघिल्लो आर्थिक वर्ष कुल १ अर्ब ४५ करोड १४ लाख ३६ हजार रुपैयाँ सेयर कारोबारबाट आम्दानी गरेकोमा गत आर्थिक वर्षमा भने ३५ करोड ६८ लाख ३५ हजार रुपैयाँ मात्रै आम्दानी गरेको हो ।

यस्तै, हिमालयन बैंकले पनि सेयर कारोबार ह्वात्तै घटाएको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब २२ करोड ७७ लाख २७ हजार रुपैयाँ सेयर कारोबारबाट आम्दानी गरेपनि गत आबमा ९४.४३ प्रतिशतले घटेर १२ करोड ४० लाख मात्रै आम्दानी गरेको देखिएको हो ।

अघिल्लो आर्थिक वर्ष जेठमो नेपाल राष्ट्र बैंकले बैंकहरुले अल्पकालीन रुपमा सेयर बजारमा लगानी गर्न नपाउने नीति गरेसँगै बैंकहरुले खरिद गरेको सेयर पनि बिक्री गरेको देखिएको छ । राष्ट्र बैंकले एकिकृत निर्देशनमार्फत् बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्त वित्तीय संस्थाहरुको सेयर किन्न नपाउने व्यवस्था गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था छ ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले ट्रेजली बिल्स लगायतको ब्याजदर घट्दा अधिकांश बैंकहरुको अन्य सञ्चालन आम्दानी घटेको देखिएको बताए ।

‘एलसीको कारोबार घटेपछि आम्दानीमा संकुचन आएको हो, ट्रेजरी बिलसको ब्याज पनि घट्यो, धेरै बैंकको सेयर बजारमा लगानी पनि छैन, अघिल्लो आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकको नीतिपछि धेरैले बिक्री गरिसकेका छन्, त्यसैले पनि तथ्यांकले घटेको देखिएको होला,’ उनले भने ।

यस्तै, ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) महेश ढकालले पनि अधिकांश बैंकहरुले पहिले नै सेयर बिक्री गरिसकेको कारणले आम्दानीमा पनि कमि आएको बताए । उनका अनुसार अधिकांश बैंकहरुले गत वर्ष नै सेयर बिक्री गरेका थिए । सोही कारणले पनि बैंकहरुको आम्दानी घटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.