स्थानीयको घर भत्काएका मेयर र उपप्रमुखले ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने

  २०७९ साउन २० गते १८:५४     विकासन्युज

धनुषा । जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह र उपप्रमुख रीताकुमारी मिश्रलाई स्थानीय एक व्यक्तिको घर भत्काएको विषयमा सात लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन उच्च अदालत जनकपुरले आदेश गरेको छ ।

उच्च अदालतका कामु मुख्य न्यायाधीश विनोद शर्मा र न्यायाधीश विष्णुप्रसाद कोइरालाको संयुक्त इजलासले उनीहरुमाथि अदालतको अवहेलना गरेको र एक व्यक्तिको घर जानीजानी भत्काउन आदेश दिएकोमा जनही तीन लाख पचास हजार रुपैयाँका दरले दुबै जनाबाट सात लाख रुपैयाँ क्षतिपूर्ति भर्न आदेश जारी गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका-१ बस्ने चन्देश्वर साहको तत्कालीन धनुषा बेंगाशिवपुर गाविस वडा नम्बर ७ (हाल जनकपुरधाम उपमहानगरपालिका) ख को कित्ता नम्बर सात सय ७५ को २ कट्ठा १७ धुरमा रहेको एकतल्ले पक्की घरमा रहेको गिर्जा सेलर मिलसहितको घर भत्काउन थालेपछि २०७६ भदौ २४ मा निषेधाज्ञा मुद्दा दायर गरिएको थियो । सो घर भत्काइएपछि चन्देश्वरले १५ लाख ८९ हजार नौ सय मूल्य बराबरको घर पूर्णरुपमा क्षति भएको दाबी गर्दै विपक्षी जनकपुरधाम उपमहानगरका तत्कालीन प्रमुख साह र उपप्रमुख मिश्रसहित चार जनाविरुद्ध क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दायर गरेका थिए ।

विपक्षी जनकपुरधाम उपमहानगरपालिका-१८ का वडाध्यक्ष रामअशिष पजियार र वीरेन्द्र पासमानको हकमा प्रमाण नपुगेको भन्दै अदालतले सफाइ दिएको छ । सडक विस्तार गर्ने क्रममा २०७६ मा जनकपुरधाम उपमहानगरले सडक छेउका अधिकांश घर भत्काएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.