ठूला बैंकलाई अझै ठूलो बन्ने हुटहुटी

  २०७९ साउन २० गते १७:४२     सीआर भण्डारी

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूबीच मर्जरको लहर चलेको छ । साना बैंकहरूभन्दा पनि ठूला वाणिज्य बैंकहरूलाई झन ठूलो बैंक बन्ने प्रतिस्पर्धा बैंकिङ बजारमा देखिएको छ । आफूलाई एक नम्बरको वाणिज्य बैंक बनाएर बिजनेस विस्तारमा आक्रामक बन्ने रणनीतिका साथ बैंकहरू एकपछि अर्को मर्जर सम्झौतामा अभ्यस्त देखिन्छन् ।

नेपाली बैंकिङ क्षेत्रमा जनता बैंकलाई आफुमा समाहित गरेर सुरूमा ‘बिग बैंकिङ मर्जर’ को इतिहास रचेको ग्लोबल अझै पनि मर्जर सम्झौता गरेर थाकेको छैन् । ग्लोबल आइएमई र जनता बैंक मर्जरपछि बैंकिङ क्षेत्रमा मर्जरको विषय केही रोकिए पनि पुनः अहिले बैंकहरुबीच मर्जर हुनका लागि प्रारम्भिक सम्झौता हुने क्रम बढेको छ ।

अहिले साना बैंकहरूलाई भन्दा पनि ठूला बैंकलाई अझै ठूलो बन्ने हुटहुटी देखिएको छ । ठूलो बैंक बनेर आफ्नो विजनेस चौतर्फी होस् भन्ने चिन्ता साना भनिएका बैंकलाई खासै देखिँदैन । तर, यसको चिन्ता ठूला बैंकहरुमा देखिन्छ । अहिले मर्जरको छलफलको तीव्रताले त्यसलाई पुष्टि गरेको छ ।

राष्ट्र बैंकको चाहना हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुको संख्या घटेर १५ वटा मात्रै होस् भन्ने छ । तर, राष्ट्र बैंकले यो संख्यामा वाणिज्य बैंकलाई झार्न ठूलै सकस परिरहेको छ । वाणिज्य बैंकको संख्या घटाउन राष्ट्र बैंकले विभिन्न अस्त्र फालेपनि त्यो सम्भव हुन सकिरहेको छैन । अहिले राष्ट्र बैंकले संख्या घटाउन मर्जर तथा प्राप्तिमा सहुलियतको व्यवस्था गरेको छ ।

पुस मसान्तसम्म मर्जर सम्झौता गरी एकीकृत कारोबार गर्ने बैंकलाई कर छुटसहित विभिन्न सेवामा सहुलियत दिने घोषणा राष्ट्र बैंकको छ । यसअघि असार मसान्तसम्म यस्तो व्यवस्था गरेकोमा थप गरेर पुस महिनासम्म लम्ब्याएको हो । साना बैंकहरूलाई राष्ट्र बैंकको सुविधाको फाइदा उठाउनुको सट्टा त्यसको चिन्ता ठूला भनिएका बैंकमा देखिएको छ ।

एक वर्षअघि नेपालका दुई ठूला हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने सम्झौता गरे । उक्त सम्झौतालाई नेपालको वित्तीय क्षेत्रको ठूलो फड्को भएको मानिएको थियो । दुई बैंकबीच मर्जर सम्भव भएको भए चुक्ता पूँजी २७ अर्ब पुग्थ्यो । तर, अन्तिम समयमा मर्जर भाँडियो । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर भाँड्नुमा केही ठूला उउद्योगीहरूको भूमिका महत्वपूर्ण भएको गाइँगुईं पनि सुनिन्छ ।

आफुलाई उत्कृष्ट बैंकका रूपमा चिनाइरहेको नबिल बैंक पनि एकपछि अर्को संस्थासँग मर्जर तथा प्राप्ति गर्ने रणनीतिमा छ । नेपाल बंगलादेश बैंकलाई आफुमा समाहित गरेर एकिकृत कारोबार गरिसकेको नबिलले अझै एनसीसी बैंकलाई पनि प्राप्ति गर्ने प्रयास गरिरहेको बुझिएको छ । नबिल बैंक पनि अझै ठूलो बन्ने रणनीतिमा लागेको छ । जसको हाल चुक्ता पूँजी २२ अर्ब ८३ करोड २९ लाख पुगिसकेको छ ।

हिमालयनसँग मर्जर भाँडिएपछि नेपाल इन्भेष्टमेन्टले आफ्नो पाटर्नर मेगा बैंकलाई बनाउने निर्णय गरिसेकको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरपश्चात् चुक्ता पूँजी ३२ अर्ब ८१ करोड ५९ लाख ५६ हजार रुपैयाँ पुग्नेछ । इन्भेष्टमेन्टले मेगालाई १००ः९० को स्वाप रेसियोमा मर्जर सम्झौता गरेको हो ।

त्यसलगत्तै ग्लोबल आइएमई बैंकले १ः१ स्वाप रेसियोमा बैंक अफ काठमाण्डूसँग मर्जर सम्झौता गर्याे । जबकी ग्लोबल आइएमई बैंकलाई मर्जरको कुनै आवश्यकता नै थिएन । किनभने ग्लोबलको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँ अहिले पनि कायमै छ । वाणिज्य बैंकमा यति धेरै चुक्ता पूँजी अरु कुनै बैंकको छैन । ग्लोबल आइएमई र बिओके मर्ज भएपछि कुल चुक्ता पूँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने देखिन्छ । मंसिरभित्रै एकिकृत कारोबार गर्ने तयारीमा रहेको ग्लोबल आइएमई बैंक पूँजीको हिसाबले अझै ठूलो बन्ने देखिन्छ ।

ग्लोबल आइएमईले बिओकेसँग मर्जर सम्झौता गरेपछि नै नबिल एनसीसीलाई प्राप्ति गर्नै पर्ने रणनीतिमा लागेको हो । ग्लोबल ठूलो बैंक बन्ने देखेपछि नबिललाई त्यो ‘छटपटी’ पुनः हुन थालेको जानकारहरु बताउँछन् । यस्तै, हिमालयन र सिभिल बैंकबीच पनि मर्जर सम्झौता भइसकेको छ । वाणिज्य बैंकहरुमा आफ्नो छुट्टै किसिमको पोर्टफोलियो बनाएको हिमालयन बैंकले पनि सिभिललाई सम्मानजनक स्वाप रेसियो दिएर प्राप्ति गर्ने सम्झौता गरेको छ । एकिकृत कारोबारपछि हिमालयनको चुक्ता पुँजी साढे २० अर्ब बढी पुग्नेछ ।

एक साताअघि प्रभु र सेञ्चुरी बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको छ । प्रभु बैंकले पूँजी बढाउन अन्य ठूला बैंकसँग प्रतिस्पर्धा गर्नकै लागि सेञ्चुरीलाई १ः१ को स्वाप रेसियो दिन तयार भएको बुझिएको छ। मर्जरपश्चात् २ बैंकको कूल चुक्ता पूँजी २२ अर्ब २६ करोड रुपैयाँ पुग्ने भनिएको छ ।

नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष सुनिल केसीले बैंकहरूले आफ्नो रणनीति अनुसार प्रतिस्पर्धी बनाउन ठूलो बैंक हुन खोजेको बताए । बैंकहरुको संख्या कम भएपछि प्रतिस्पर्धा कम हुने भएकाले ठूला बैंक नै मर्जरमा आक्रामक बनेको उनको भनाइ छ । उनले ठूलो बैंकले सानो बैंकसँग मर्जर गर्न लागेकोले सिनर्जी आउने धारणा राखे ।

अहिले मर्जरमा गएका सबै बैंकहरु सफल भएमा विजनेसमा समेत सुधार आउने उनले बताए । ‘बैंकको आफ्नो रणनीति हुने भएकाले ठूलो बन्न खोजेका हुन्, बैंकहरुमा प्रतिपस्र्धा बढेको छ, केही विशेष गर्नका लागि चुनौति दिन्छन्,’ एनएमबी बैंकका सीईओ समेत रहेका केसीले भने ।

यस्तै, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन गोल्यानले बैंकहरुबीच प्रतिस्पर्धा बढेकाले आफूलाई ठूलो बन्ने ‘हुटहुटी’ सबैको हुने बताए । सेवा सुविधा राम्रो दिन सक्यो भने ठूलो हुनु राम्रो पक्ष भएको अध्यक्ष गोल्यान बताउँछन् ।

‘बैंकहरु प्रतिस्पर्धात्मक हुन खोजेका हुन्, सबैभन्दा ठूलो म हुनुपर्याे भन्ने भावनाले यस्तो भएको हो, ठूलो भयो भने राम्रो हो,’ उनले भने, ‘सर्भिस राम्रो दिन सकियो भने त राम्रो हो ।’ साना, मझौला र ठूला सबै मिश्रित मर्जर भइरहेको उनको धारणा छ ।

अहिले मर्जर सुरू भएकोले ठूला बैंक मर्जरपश्चात् सानालाई आफै दबाब पर्ने उनको भनाइ छ । सरकारी बैंक बाहेक २० वटा बैंक नेपालमा आवश्यक रहेको उनको बुझाइ छ । बैंकको संख्या धेरै घट्यो भनेपनि सेवाग्राहीले पाउने सेवामा समस्या हुन सक्ने उनले बताए ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरञ्जीवी नेपाल आफू राष्ट्र बैंकमा हुँदा ठूला बैंकलाई मर्जर गर्न जोड दिएको बताउँछन् । राष्ट्र बैंकको चाहना ठूला बैंक मर्ज भए हुन्थ्यो भन्ने हुने गरेको उनले सुनाए । तर, अहिले ठूला बैंकलाई मर्ज हुनुपर्ने रहरभन्दा पनि बाध्य भएर मर्ज हुन लागेको उनको भनाइ छ ।

‘ठूला बैंकलाई मर्ज हुनुपर्ने इच्छाभन्दा पनि मर्जका लागि बाध्य भएका हुन्, रहर भएको भए मेरो पालामा एउटा मात्रै मर्ज भयो, अरु किन भएनन् ?, क्यापिटल कस्ट, म्यानेजमेन्ट कस्ट धेरै भयो, पैसा छैन्,’ उनले भने । साना बैंकलाई मर्जर नगराउने नीति ल्याए पनि हुने उनको तर्क छ ।

कुन बैंक बन्ला ठूलो ?

हालसम्म विभिन्न ८ वटा वाणिज्य बैंकले मर्जरमा जान प्रारम्भिक सम्झौता गरिसकेका छन् । ग्लोबल आइएमई–बैंक अफ काठमाण्डू, नेपाल इन्भेस्टमेन्ट–मेगा, हिमालयन–सिभिल र प्रभु–सेञ्चुरी बैंकबीच मर्जरको सम्झौता भएको छ ।

मर्जर सम्झौता गरेका ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बीओके) को चुक्ता पूँजी ३४ अर्ब ४१ करोड ९७ लाख ६७ हजार रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट (एनआईबिएल) र मेगा बैंकको चुक्ता पूँजी ३२ अर्ब ८२ करोड ५९ लाख ५६ हजार रुपैयाँ, प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको चुक्ता पूँजी २२ अर्ब २६ करोड २६ लाख रुपैयाँ र हिमालयन बैंक र सिभिल बैंकको चुक्ता पूँजी २० अर्ब ३० करोड २१ लाख ५९ हजार रुपैयाँ पुग्नेछ ।

यसअघि नै नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरि एकीकृत कारोबार गरेको नबिल बैंकको चुक्ता पूँजी २२ अर्ब ८३ करोड २९ लाख ८ हजार रुपैयाँ पुगेको छ । यसरी धमाधम मर्जर सम्झौता गरेर ठूलो पुँजी बनाउने प्रतिस्पर्धा बैंकहरुबीच चलिरहँदा साना पूँजी भएका वाणिज्य बैंकहरु अहिले पाटर्नर खोज्न भौतारिरहेका छन् ।

पूँजी जति बढी भयो त्यति नै ब्यापार विस्तारमा बैंकहरूलाई सहज हुन्छ । चुक्ता पूँजी बढी भएका बैंकले लगानी क्षमता धेरै राख्ने र उनीहरुको व्यापारमा समेत ग्रोथ हुने भएकाले साना बैंकलाई त्यसले ठूलो असर पर्न सक्ने अनुभवी बैंकर्सको धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.