गोदावरी नगपालिकामा रेबिजको भ्याक्सिन निःशुल्क

  २०७९ साउन २० गते १०:०३     विकासन्युज

ललितपुर । गोदावरी नगपालिकाका केही स्वास्थ्य संस्थाले निःशुल्करूपमा नागरिकलाई रेबिजको भ्याक्सिन (सुई) लगाउने भएको छ । कुनै पनि व्यक्तिलाई कुकुरले टोेकेमा सो रोगबाट जोगाउन नगरपालिकाले उक्त खोपको व्यवस्था गरेको हो ।

गोदावरी–५ स्थित लेले प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं ११ को बज्रवाराही चापागाउँ अस्पताल र वडा नं १४ को बाडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्रबाट उक्त खोप दिइने गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर थापाले जानकारी दिए । उनले भने, ‘नगरवासीको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर हामीले खोपको व्यवस्था गरेका हाैँ ।’ सो खोप गोदावरीका मात्र नभइ अन्य पालिकाका नागरिकलाई समेत निःशुल्क लगाइने थापाले बताए ।

स्वास्थ्य सेवा विभागको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय ललितपुरको पहलमा ललितपुरका ६ पालिकामध्ये गोदावरीमा सो खोपको व्यवस्था गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा सतिश विष्टले बताए । उनले भने, ‘गोदावरीमा रेबिजबाट कोही पनि सङ्क्रमित नहुन् भनी भ्याक्सिनको व्यवस्था गरेका हाैँ ।’

यसअघि ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अर्थात् पाटन अस्पतालमा मात्र उक्त खोपको व्यवस्था थियो । कुकुरले टोकेमा रेबिजको भ्याक्सिन सुरुको दिनमा दुई मात्रा, लगाएको तीन दिनमा दुई मात्रा र साताँै दिनमा दुई मात्रा लगाउनुपर्ने हुन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.