काठमाडौं विश्वविद्यालयमा ‘मास्टर्स इन मिडिया स्टडिज’ को अध्ययन सुरु, ४ लाख शुल्क लाग्ने

  २०७९ साउन २० गते ९:३१     विकासन्युज

काठमाडौं  । काठमाडौं विश्वविद्यालयले स्नातकोत्तर तहमा सञ्चार अध्ययन (मास्टर्स इन मिडिया स्टडिज) कार्यक्रम सुरु गरेको छ ।

विगत १६ वर्षदेखि सो विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालयको मानविकी सङ्कायअन्तर्गत भाषा तथा आमसञ्चार विभागले यसै शैक्षिकसत्रदेखि सञ्चार उद्यमशीलता, व्यवस्थापन र विशिष्टताका आयामहरू अध्यापनका लागि स्नातकोत्तरको भर्ना आह्वान गरिएकोे विभागका प्रमुख डा सुधाम्शु दाहालले जानकारी दिए । एक शैक्षिकसत्रमा २० विद्यार्थीसम्म रहने यो तहमा एसियाको मौलिक परम्परा, संस्कृति, चलचित्र र प्रविधिलाई आधारशीला मानेर सञ्चारमाध्यमका विभिन्न आयामको अध्ययन हुनेछ ।

विश्वविद्यालयका सहप्राध्यापक डा निर्मलमणि अधिकारीले उक्त तहमा एक चौथाइ अनुसन्धानसहित प्राविधिक सीप र सैद्धान्तिक ज्ञानको समिश्रण हुने र उत्पादित जनशक्ति अन्तार्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने र रोजगारमूलक हुने बताए । सो तहमा अध्ययनका लागि चार लाखसम्म शुल्क लाग्ने र कुल विद्यार्थीको २० प्रतिशतसम्म छात्रवृत्ति दिइने दाहालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.