अध्यक्ष बन्ने इच्छा छ की छैन भनेर सरकारले सोधेको थियो : हमाल

  २०७९ साउन १९ गते २०:५८     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले आफूलाई सरकारले अध्यक्ष बन्ने इच्छा छ की छैन भनेर सोधेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा बोल्दै हमालले बोर्डमा अध्यक्ष पद रिक्त रहेका बेलामा आफूलाई अध्यक्ष बन्ने इच्छा छ की छैन भनेर सरकारले सोधेको बताएका हुन् । 

‘मैले बुझेको कुरा के हो भने, फर्म डे वान, म आएको दिनदेखि र आउनुभन्दा अगाडि जतिखेर मलाई नेपाल सरकारले यो विषय (सेबोन) मा इच्छा छ की छैन्, आउनु पर्याे भन्दाखेरि मैले यो विषयमा गहन अध्ययन गर्न थाले,’ उनले भने । 

यो भनाईले धितोपत्र बोर्डको अध्यक्षमा प्रक्रिया चलाएपनि उनको नियुक्ति पक्कापक्की नै रहेको बुझिन्छ । धितोपत्र बोर्ड नेतृत्व विहीन भएका बेला सरकारले हमाललाई अध्यक्ष बन्न प्रस्ताव गरेको उनको भनाइले स्पष्ट पारेको छ । अध्यक्ष छनोटका लागि सिफारिस समिति बनाएपनि सबै फिक्स्ड रहेको उनको यस भनाइबाट बुझ्न सकिन्छ । 

आफू सेबोनको अध्यक्ष भएर ५ महिना अघि आउँदा ५६ जना कर्मचारीले काम गरिरहेकामा १५ जना कर्मचारी थपेर ७१ जना पुर्याएको बताए । ‘सेबोनले ५७९ संस्थाको नियमन गर्छ, म आउँदा ५ महिनाअघि ५६ जना थियो भने अहिले १५ जना थपेर ७१ जना पुगेका छन्,’ उनले भने ।

लगानीकर्ताको हितलाई सोचेर मात्रै हरेक विधिमा काम गरिरहेकाे उनको दाबी छ । ‘लगानीकर्ताको हकहित संरक्षण र सुरक्षा प्रदान भयो की भएन भयो की भएन ? त्यहाँबाट सुरु गर्यो भने हामी सेभ ठाउँमा पुग्छौ भन्ने मलाई पूर्ण विश्वास छ,’ अध्यक्ष हमालले भने । 

२०७९ साल भित्र कमोडिटी एक्सचेन्ज सञ्चालनमा आउने दाबी अध्यक्ष हमालले गरेका छन् । सरकारले पनि सहयोग गर्नेमा आफू ढुक्क रहेको उनको भनाइ छ । एसएमई प्ल्याटफर्म २ महिनाभित्र प्राविधिक कठिनाइ समाधान गर्ने उनले बताए । बजारमा सन्तुलन कायम गर्न वास्तविक क्षेत्रका कम्पनीलाई भित्र्याउन आफूले काम गरिरहेको उनको भनाइ छ । बुक बिल्डिङ विधिमार्फत रियल सेक्टरका कम्पनी पूँजी बजारमा ल्याउने उनले बताए । 

क्यापिटल मार्केट इन्स्टिच्युट यही वर्ष स्थापना गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए । ‘म आएको दिनदेखि भनिरहेको छु, म मेरै कार्यकालमा क्यापिटल मार्केट इन्स्टिच्युट यहि २०७९ भित्र नै खोल्ने मेरो सपना छ, त्यो रियल सपना हो,’ उनले भने । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.