गौतमश्री सहकारी समस्याग्रस्त घोषणा गर्न सिफारिस, घरजग्गा रोक्का, बचतकर्ताको पैसा के हुन्छ ?

  २०७९ साउन १९ गते १४:१२     विकासन्युज

काठमाडौं । कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणाका लागि सिफारिस भएको छ । सहकारी विभागले गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरेको हो ।

सहकारी ऐनको दफा १०४ (१) काे प्रावधान बमाेजिम विभागले समस्याग्रस्त घोषणा गर्नका लागि सिफारिस गरेका विज्ञप्तिमा उल्लेख छ ।

संस्थाका अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र बिष्टलगायत अन्य सञ्चालक तथा उच्चपदस्थ कर्मचारी पनि फरार छन् । संस्थाको साढे ५ अर्बभन्दा बढी रकम जोखिम छ । निक्षेप फिर्ता नपाएको भन्दै ११ सयभन्दा बढी सदस्यले विभागमा उजुरी दिएका छन् ।

विभागका अनुसार गौतम सहित सन्चालक तथा व्यवस्थापक कर्मचारीहरुलाई सोधपुछ गर्न विभागमा उपस्थित गराइदिन भनी लिखित रुपमा अनुरोध गरी पठाइएकोमा उक्त संस्थाका कुनैपनि संचालक तथा कर्मचारीहरुलाई हालसम्म पनि विभागको सम्पर्कमा नल्याईएको तथा संस्थाको अध्यक्ष, सन्चालक र कर्मचारीहरु कुनैपनि सम्पर्कमा नआएको बताएको छ ।

सहकारी संस्था, संस्थाका अध्यक्ष श्री राम बहादुर गौतम एवं निजको पत्नी निर्मला खत्री गौतमको नाममा नेपालभर रहेको घर/जग्गा यथासिघ्र रोक्का राखी सहयोग गरिदिन हुन भनी भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई साउन १७ गते अनुरोध गरी पठाइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

विभागका अनुसार १७ गतेसम्म १ अर्ब ७५ करोडभन्दा बढिको मागदावी आएको छ । विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले बचतकर्ताको बचत फिर्ताका लागि पहल भइरहेको बताएका छन् ।

गत मंगलबार मात्रै सो सहकारीका अध्यक्ष रामबहादुर गौतमले आफु विदेशमा रहेको र स्वदेश फर्केपछि सबै बचतकर्ताको पैसा तिर्ने विज्ञप्तिमार्फत् जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.