काम नगरेरै वेवारिसे बने २४ करोडका चार भ्यान

  २०७९ साउन १८ गते १७:४३     नारायण अर्याल

काठमाडौं । खाद्य गुणस्तर परीक्षण गर्नको लागि खरिद गरिएको ४ वटा मोबाइल भ्यान कुहिने अवस्थामा पुगेका छन् । विभागका तत्कालीन महानिर्देशक सञ्जिवकुमार कर्णको पालामा खरिद गरिएका प्रयोगशाला मोबाइल भ्यान काम नलाग्ने अवस्थामा पुगेका हुन् ।

विभागले आर्थिक वर्ष ०७३/०७४ मा विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको लागि प्रुडेन्ट मेडिटिच इन्टरनेशनल, कमलादीमार्फत् २४ करोड भन्दा धेरै रकम पर्ने ४ वटा प्रयोगशाला मोबाइल भ्यान खरिद गरेको थियो । खरिद गरिएको केही समयपछि ती मोबाइल भ्यानको गुणस्तरमा प्रश्न उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७६ असार ५ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । सो आरोपत्र दायर गरिएसँगै विभागमा रहेका ४ वटा प्रयोगशाला मोबाइल भ्यान ३ वर्षदेखि मर्मत सम्भार र प्रयोगमा आउन सकेका छैनन् ।

३ वर्षदेखि मोबाइल भ्यानहरु विभागको प्राङ्गणमा एकोहोरो रुपमा घामपानी खाएर खिइदै बसेका छन् । यसरी रहँदा मोबाइल भ्यानहरुको बाहिरी रंग फुंग उडेको छ । भ्यानमा लेउ लागेको छ । कुनै पनि सवारी साधनलाई लामो समयसम्म प्रयोग नगरी राख्दा खिया लाग्ने, इन्जिनहरुमा जाम हुने वा कतिपय बिग्रने अटोमेकानिक बताउँछन् ।

लामो रुटमा सञ्चालन नगरेपनि इन्जिनलाई स्वस्थ एवं स्वचालित राख्नको लागि कम्तिमा दैनिक वा एकदिन बिराएर भएपनि स्टार्ट गर्ने एक्टिभ गर्नुपर्ने अटोमेकानिकको भनाइ छ ।

तर, विभागका मोबाइल भ्यान अख्तियारले मुद्दा दायर गरेदेखि अहिलेसम्म कुनैपनि हिसाबले सञ्चालनमा नआएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले विकासन्युजलाई बताए ।

‘हामीले सञ्चालन तथा मर्मत सम्भारको लागि पहल पनि गरेका थियौं, मन्त्रालयसँग पनि कुराकानी भएको थियो तर, मुद्दामा भ्यानको स्पेशिफिकेसन, पाटर्स लगायतका सामग्रीमाथि नै विषय उठाइएकोले यसलाई सञ्चालन गर्न सकिएन’, महर्जनले भने ।

विशेष अदालतले मोबाइल प्रयोगशाला भ्यान खरिदको मुद्दामा गत बैशाख २५ गते फैसला गरेको छ । विशेष अदालतका न्यायाधीशहरू रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले फैसला सुनाएको हो । फैसलाले आरोपित सबैलाई सफाई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.