धेरैलाई मन पर्ने कर्कलोको सुप कसरी बनाउने ?

  २०७९ साउन १८ गते ११:३३     विकासन्युज

काठमाडौं । यतिबेला बारीमा कर्कलो (पिँडालु)को साग कलकल हुने मौसम हो । नेपालको धेरैजसो क्षेत्रमा कर्कलोको साग पाइन्छ । कर्कलोको पात, डाँठ र जरा बाट धेरै प्रकारका परिकार बनाउन सकिन्छ । जस्तैः कर्कलोबाट विभिन्न तरकारी र अचारका विभिन्न परिकार बनाएर खाने खाने गरेको पाइन्छ ।

कर्कलोमा प्रशस्त मात्रामा भिटामिन र खनिज तत्वहरु पाइन्छ । विशेषगरी कर्कलोमा भिटामिन ए र आइरन लगायत बी समूहका भिटामिनहरु पाइन्छ । त्यस्तै खनिज तत्वहरुमा फोलेट, क्याल्सियम, फोस्फरस र पोटासियम पनि प्रशस्त मात्रामा पाइन्छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कर्कलोको सुपलाई एउटा परिकारको रुपमा विकास गरेको छ । कर्कलोको पातबाट सजिलो, पोषिलो र कम मूल्यमा आइरन र भिटामिन ए युक्त हरियो सुप जस्तो खाद्य परिकार बनाई खान सकिने विभागले जनाएको छ ।

कसरी बनाउने कर्कलाेकाे सुप ?

कर्कलोको पातलाई केलाएर सफा पानीले राम्ररी पखाल्ने र पखालेको पातलाई मसिनो गरी टुक्रा पार्ने ।

टुक्रा पारीसकेपछि थोरै पानीमा राखर उसिन्ने र चिसो बनाउने ।

चिसो भएको कर्कलोलाई मिक्सरमा राखेर पेस्ट बनाउने ।

कर्न फ्लोर वा मकैको मसिनो पिठोलाई मनतातो पानीमा हालेर फिट्ने ।

त्यसपछि कर्कलाको पेष्टमा मिसाएर घोल्ने ।

कर्कलाको पेष्ट र मकैको पिठो मिसायको घोलमा आवश्यकताअनुसार अदुवा, लसुनको पेष्ट, टिमुरको धुलो, नुन र तेल राखेर पकाउने ।

विस्तारै चलायर राम्ररी पकाउने । पाकीसकेपछि कचौरामा राखेर खाना अगाडि कागतिको रस राखेर चलाएर खाने ।

यसरी तयार भएको कर्कलोको सुप सबै उमेरका मानिसहरुको लागि उपभोग्य हुने विभागले जनाएको छ ।

आवश्यक कच्चा पदार्थ
कर्कलोको पातको लेदो – ९५ ग्राम
कर्न फ्लोर वा मकैको पिठो – ५ ग्राम
अदुवाको पेष्ट – २ ग्राम
लसुनको पेष्ट – ३ ग्राम
टिमुरको धुलो – ०.३० ग्राम
जिराको धुलो – १ ग्राम
नुन – २ ग्राम
भुटेको तोरीको तेल – १० ग्राम
पानी – २०० मि.लि.
कागतिको रस – १ चिया चम्चा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.