दृष्टि देखाउने तिलगंगा आँखा शिविरको भित्तेचित्र कथा

  २०७९ साउन १७ गते १९:३२     विकासन्युज

काठमाडौं । तिलगंगा आँखा अस्पतालको नाम सबैले सुन्नु नै भएको होला । आँखा सम्बन्धी कुनै समस्या आयो भने तिलगंगा जानु भन्ने साथीभाइ वा नातेदारहरूले सल्लाह दिन्छन् । गाउँमा आँखा शिविर संचालन भइरहेको छ भने सुरुमा तिलगंगा आँखा अस्पताल नै दिमागमा आउँछ ।

तिलगङ्गाले नेपाली जनता मात्रै होइन, विश्वका कयौं मानिसलाई आँखा देख्ने बनाएर नयाँ जीवन दिएको छ । धेरैले तिलगंगा आँखा प्रतिष्ठानलाई आँखा दिने भगवान मान्छन्, जब लामो समयदेखि दृष्टिविहीन भएकाले संसार देख्छन् । 

मिथिला चित्रकारद्वय राजकुमारी सिंह र अन्जिना यादवको समस्या आँखाको थियो । दुवैजनालाई आँखा नदेख्ने समस्याका कारण जिन्दगी अधुरो लागेको थियो । जब तिलगंगा आँखा प्रतिष्ठानले गाउँमा आँखा शिविर संचालन गर्याे, तब उनीहरूले स्पष्ट रुपमा बन्द संसारमा रहेका आँखालाई खुला संसार देखे । 

तिलगंगा आँखा अस्पताल परिसरको एउटा भित्तामा मिथिला भित्तेचित्र कोरिएको छ । मिथिला चित्रकारद्वय सिंह र यादवले आफ्नो आँखाको समस्याको कथालाई मिथिला भित्तेचित्रमा प्रस्तुत गरिन् । एउटा दुर्गम गाउँमा आँखाका समस्या भएका धेरै मान्छे हुन्छन् । तिलगंगा आँखा अस्पतालले त्यो दुर्गम गाउँमा आँखा शिविर संचालन गर्छ । 

आँखा शिविरमा मिथिला चित्रकारद्वय राजकुमारी सिंह र अन्जिना यादव पनि सहभागी हुन्छन् । उनीहरू आँखा नदेख्ने भएपछि ठूलो समस्यामा परेका थिए । सिंहलाई मोतिबिन्दु भएर चित्रकला नै कोर्न समस्या हुन्छ । चित्रकार यादवलाई पनि सिंहको जस्तै समस्या हुन्छ । शिविरमा सिंह र यादवलाई काठमाडौं बोलाइन्छ । भित्तेचित्रमा एउटा पाटोमा तिलगङ्गाको परिचय छ । तल प्रतिष्ठानको आँखा अस्पताल छ । अर्काे लेन्स फ्याक्ट्रि छ । चित्रको दाया भागको तल्तिरको कुनामा आँखा बैंक छ । त्यसको ठ्याक्कै अर्काे कुनामा शैक्षिक तथा तालिम केन्द्र छ । चित्रको बीचमा अन्धोपनको रोकथाम र नियन्त्रण गरौं, सर्जी सेन्टर अनुसन्धान विभाग लगायत देखाउन खोजिएको छ । 

भित्तेचित्रको तिलगंगा आँखा प्रतिष्ठानको भवन बाहिर बाह्य कार्यक्रम भनेर देखाइएको छ । त्यो भनेको तिलगङ्गाले ग्रामीण भेगमा आयोजना गर्दै आएको आँखा शिविर हो । झट्ट हेर्दा मिथिला चित्रलाई कसैले पनि बुझ्न सक्दैन । तर, त्यो भित्तेचित्रमा कुनै गाउँमा कसैलाई आँखा नदेख्दा उपचार हुन नसक्दा भएको समस्यालाई स्पष्ट पारिएको छ । तिलगंगा आँखा अस्पतालको शिविरमा सहभागी भएर काठमाडौं पुगेर आँखा देख्न पाउँदाको खुशीको सीमा नरहेको सरल रुपमा भित्तेचित्रमा देखाइएको छ । 

त्यो भित्तेचित्र तिलगंगा आँखा प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूको सम्मानका लागि अष्ट्रेलियाली दुतावासको सहयोगमा कोरिएको हो । ‘दृष्टिको चमत्कारले परिवर्तित जीवनहरू’ शीर्षकको भित्तेचित्र रिलेटीभ नेपाल र सारगी सोसल ईण्टरप्राईजेजले कोरेका हुन् ।

प्रतिष्ठानको एउटा भित्तामा कोरिएको भित्तेचित्र मंगलबार नेपालका लागि अष्ट्रेलियाका राजदुत फेलिसिटी भोल्क र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गले संयुक्त रुपमा अनावरण गरेकी हुन् । 

प्रतिष्ठानले विगत ३० बर्षदेखि नेपाल र विश्वमा अन्धोपन निवारण र नियन्त्रणमा ठूलो योगदान पुर्याएको भन्दै भित्तेचित्र मार्फत सम्मान गरेको हो । उपचार गरेमा धेरै प्रकारका अन्धोपन निवारण गर्न सकिने भाव भित्तेचित्रले देखाएको छ । भित्तेचित्रमार्फत नेपालको आँखा स्वास्थ्य क्षेत्रमा भएका उपलब्धीको विश्वमा प्रचारप्रसारमा समेत वृद्धि हुनेछ । 

विश्वव्यापी पहुँचले नेपाली कला संस्कृतिका साथै मिथिला कलाकारलाई सशत्त बनाउने उद्देश्यले यस्ता भित्तेचित्र कोरिन थालिएको हो । भित्तेचित्र मिथिला कलाकृतिबाट बनेको हुँदा यस्ता संस्कृतिलाई जोगाउन अन्य ठाउँमा पनि कोरिने छन् । 

प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गले जनकपुरका मिथिला भित्तेचित्रलाई तिलगंगा आँखा प्रतिष्ठानले नेपालभर दृष्टिमा समस्या भएकाहरुको जीवनमा पारेको प्रभावको प्रतिनिधित्व गरेको बताइन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.