बैंक अफ काठमाण्डू र हिमालयन बैंकले जिते मेलम्चीको मुद्दा, १८२ करोड फिर्ता पाउने

  २०७९ साउन १७ गते १९:१६     विकासन्युज

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बैंक ग्यारेन्टी विवाद सम्बन्धि मुद्दाको अन्तिम फैसला नेपाली बैंकको पक्षमा आएको छ । यसबाट दुई वाणिज्य बैंकले कम्तिमा १ अर्ब ८२ करोड रुपैयाँ फिर्ता पाउने भएका छन् ।

चीनको सर्वोच्च अदालतले अन्तिम फैसला नेपाली बैंकको पक्षमा फैसला गरेको हो । यो मुद्दा विगत एक दशकदेखि विभिन्न अदालतमा चल्दै आएको थियो ।

मुद्दा जितेसँगै बैंक अफ काठमाडौंले करिब एक अर्ब २ करोड रुपैयाँ र हिमालयन बैंकले करिब ८० करोड रुपैयाँ  फिर्ता पाउने भएका छन् ।

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो वापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेको बैंक अफ काठमाण्डू र हिमालयनले उक्त जमानत सम्बन्धी परेको भुक्तानी सम्बन्धी मुद्दा जितेका हुन् ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू र हिमालयन बैंकलाई काउन्टर ग्यारेन्टी दिएको थियो । तर नेपाली कम्पनीले चिनियाँ ठेकदारलाई भुक्तानी दिएपनि चाइना कन्स्ट्रक्सन बैंकले बैंक ग्यारेन्टी वापत नेपाली बैंकलाई भुक्तानी दिन मानेकाे थिएन ।

यो विवादकाे अन्तिम  फैसलासंगै दुइ बैंकले काउन्टर ग्यारेन्टी वापतकाे मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको अमेरिकन डलर ६,६२५,०१० र युरो १,४११,४५३ वापतको रकम बैंक अफ काठमाण्डू लिमिटेडले फिर्ता पाउने भएकाे उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिए । उक्त रकम अहिलेको विनिमयदरमा १ अर्ब २ करोड रुपैयाँ बराबर हुन्छ ।

त्यस्तै, यस मुद्दाबाट हिमालयन बैंकले ६३ लाख डलर अर्थात करिव ८० करोड रुपैयाँ फिर्ता पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए । मुद्दा जितेपछि अदालतमा मुद्दा लड्दा भएकाे खर्च र १० वर्षसम्मकाे क्षतिपूर्ति पनि माग गर्ने भएकाेले थप रकम अाउने राणाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.