‘प्रिय पात्र’ का रूपमा इन्ट्री गरेका मरासिनी ‘धोकेवाज’ बनेर बाहिरिँदै

  २०७९ साउन १७ गते १६:१५     सन्तोष रोकाया

काठमाडौं । २०७८ साउन १७ गते अर्थसचिवमा मधुकुमार मरासिनी नियुक्त हुँदा धेरैको ‘टार्गेट’ मा परे अर्थमन्त्री  जनार्दन शर्मा । आफु निकट व्यक्तिलाई अर्थसचिव बनाएको भन्दै उनको ठूलो आलोचना भयो । तत्कालीन अर्थसचिव शिशिरकुमार ढुङ्गानाले अर्थ मन्त्रालयमा राम्रै पफर्मेन्स दिइरहेको बेला उनलाई अर्थबाट बिदाइ गरेर सरकारले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरियो ।

अवकाश पाउन केही दिन मात्रै बाँकी रहेका ढुङ्गानालाई सरुवा गर्नुको कारण धेरैले खोजे । तर, विषय त्यतिकैमा सेलायो । त्यसपछि शर्माको ‘प्रिय पात्रको रूपमा चिनिए मधुकुमार मरासिनी । तर, भनिन्छ नि ‘सधैं समय र परिस्थिती आफ्नो बसमा कहाँ चल्छ र ।’

हो यही भनाइ अर्थमन्त्री शर्मा र अर्थसचिव मरासिनीको जीवनामा चरितार्थ भएको छ । अहिले यी दुवै जनाको हारगुहार प्रधानमन्त्री देउवा समक्ष छ । शर्माले आफु अनुकुल व्यक्तिलाई अर्थसचिव बनाउनु पर्ने माग देउवा समक्ष राखिरहेका छन् भने मरासिनी अर्थ मन्त्रालयबाट अन्तै सरुवा मागिरहेका छन् ।

पछिल्ला यि र यस्तै विभिन्न घटनाक्रमहरूले पनि अर्थमन्त्री शर्मा र अर्थसचिव मरासिनीबीचको विवाद छर्लङ्ग भएको छ । शर्मा अर्थमन्त्रीमा नियुक्त भएको तीन दिन हुँदा समेत अर्थसचिव मरासिनी मन्त्रालय उपस्थित नहुँदा उनीहरुबीचको विवाद छर्लङ्ग भएको हो ।

अर्थमन्त्रालय स्रोतका अनुसार आजसम्म पनि मरासिनी अर्थमन्त्रालयमा उपस्थित भएका छैनन् । साउन १५ गतेदेखि उनी मन्त्रालयमा उपस्थित नभएका हुन् । जनार्दन शर्मा पनि साउन १५ गते नै अर्थमन्त्रीमा पुनः नियुक्त भएका थिए ।

सो दिन उनी अनुपस्थित थिए । उनी अर्थमन्त्रीको स्वागत कार्यक्रममा अनुपस्थित भएपछि धेरैले मन्त्री र सचिवबीचको सम्बन्धमा ठूलो दरार आएको टीप्पणी गरेका थिए । मन्त्री नियुक्त भएको तीन दिनसम्म पनि उनी मन्त्रालयमा नआएपछि अब उनी अर्थमन्त्रालयबाट बाहिरि लागेको आशंका पनि धेरैले प्रकट गरेका छन् ।

उसो त अर्थमन्त्रालय स्रोततले पनि अर्थसचिव मधुकुमार मरासिनीले प्रधानमन्त्रीसँग सरुवाका लागि छलफल गरिसकेका छन् । प्रधानमन्त्री उनको सरूवाप्रति सकारात्मक भएमा अब केही दिनमै उनको सरूवा हुन सक्ने स्रोतको भनाइ छ । तर, मरासिनीले सरुवा कुन मन्त्रालयमा मागेका छन् भन्ने विषय भने खुलेको छैन ।

यसअघि पनि उनी शर्मासँगकै टसलले विदामा बसेका थिए । बजेट निर्माणमा मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेशको विषयमा ठूलो विरोध भएपछि शर्मा र मरासिनीको विवाद बढेको थियो । मरासिनीले शर्मा मन्त्रालयमा हुँदासम्म आफु काममा नफर्किने भन्दै विदामा बसेका थिए । जेठपछि मात्रै उनी तीन पटक विदामा बसिसकेका छन् । बजेट सार्वजनिक लगत्तै उनी लामो समय विदामा बसेर अमेरिका घुम्न गएका थिए ।

दोस्रो पटकको विदामा उनी विदा बस्ने दिननै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि लगत्तै प्रधानमन्त्री देउवाले नियमित काममा फर्कन आग्रह गरेपछि उनी पछिल्लो दिनदेखि नै काममा फर्किएका थिए । अहिले शर्मा पुनः मन्त्री भएपछि उनी विदामा बसेका हुन् ।

उनले अब अर्थमन्त्रालयबाट नै बाहिरिन चाहेको स्रोतको दाबी छ । तर, सरकारले अर्थसचिव कसलाई बनाउने भन्ने यकिन नगर्दा उनले मागेको सरुवा स्वीकृत भइसकेको छैन । स्रोतका अनुसार अहिले अर्थसचिवका लागि राजस्व सचिव कृष्णहरि पुष्कर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्याल, योजना आयोगका सचिव केवल भण्डारीको नाम चर्चामा छ ।

अर्थमन्त्री शर्माले राजश्व सचिव पुस्करलाई नै अर्थसचिव बनाउन खोजेको पनि बुझिएको छ । शर्मा अर्थमन्त्रीमा नियुक्त हुँदा पनि पुस्करले नै स्वागत गरेका थिए ।

‘कन्भिन्स गर्न नसकेमा दुर्घटनामा परिन्छ’

पूर्व अर्थ सचिव शिशिर कुमार ढुङ्गाना मन्त्रीलाई कन्भिन्स गराउन सक्ने क्षमता सचिवमा हुनु पर्ने बताउँछन् । उनले मन्त्रीलाई सफल बनाउने वा असफल बनाउने भन्ने महत्वपूर्ण भूमिका सचिवको हुने भएकोले सचिवले तथ्य र तथ्यांकको आधारमा रहेर मन्त्रीलाई सल्लाह दिनु पर्ने धारणा राखे ।

‘मन्त्रीलाई सफल पार्नुका लागि सचिवको भूमिका महत्वपूर्ण हुन्छ, प्रशासन र मन्त्री भनेको एक रथका दुई पाँग्रा हुन, प्रशासनले आफ्नो योग्यता, क्षमता, दक्षता र अनुभवका आधारमा काम गर्छ, राजनीतिज्ञ भनेको शक्तिको स्रोत हो, राज्य सञ्चालन गर्ने अधिकार पाउने शक्तिलाई सफल बनाउनका लागि व्यवसायिक सल्लाहकार चाहिन्छ, त्यो भनेको प्रशासनको नेतृत्व गर्ने सचिव हो, उसले तठस्त व्यवहार गर्नु पर्छ, कुनै आग्रह पूर्वाग्रह विना कुनै व्यक्ति वा संस्थाको लागिभन्दा पनि राज्यको हितका लागि काम गर्नु पर्छ,’ उनले भने ।

उनी अनुसार मन्त्रीलाई काम गर्न प्रेसर हुने भएपनि सचिवले भने सबै प्रक्रिया पुर्याएर अगाडि बढ्नु पर्ने सुझाव दिन्छन् । ‘राजनीतिज्ञहरुको जनताप्रति बढी अट्याचमेन्ट हुन्छ, उनीहरु प्रोसेसभन्दा प्रेसरमा काम गर्न चाहन्छन्, काम छिटो होस् भन्ने उनीहरुको इच्छा हुन्छ, उनीहरुलाई प्रक्रियाको मतलब हुँदैन, कानुन, विधि र त्यसको प्रभाव र असर विषयमा सचिवले मन्त्रीलाई महत्वपूर्ण सल्लाह दिन सक्नु पर्छ,’ उनले भने ।

उनका अनुसार सचिवले मन्त्रीले गरेको निर्णयले समग्र मुलुकलाई के असर पुग्छ भन्ने विषयमा बुझेर अगाडि बढ्नु पर्ने धारणा राखे । उनले जब प्रशासनले त्यो काम गर्न छोड्छ अनि जहाज दुर्घटनामा पर्ने धारणा राखे ।

‘प्रशासनको भूमिका राजनीतिज्ञले पनि सुन्छन्, तथ्य र तथ्यांकले उनीहरुलाई कन्भिन्स गराउने हो, राजनीतिज्ञ आदर्शमा चल्छन्, त्यसमा तथ्य राखेर हामीले कन्भिन्स गर्न सक्नु पर्छ,’ उनले विकासन्युजसँग भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.