गौतमश्री सहकारीका अध्यक्षले भने : अहिले विदेशमा छु, फर्केर सबै पैसा तिर्छु

  २०७९ साउन १७ गते १४:१६     विकासन्युज

काठमाडौं । गौतमश्री सहकारीका अध्यक्ष रामबहादुर गाैतमले आफु नेपाल बाहिर भएकोले सम्पर्कमा आउन नसकेको बताएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले आफु काम विशेषले नेपाल बाहिर गएकोको अवस्थामा आफ्नो विषयमा भ्रमपूर्ण समाचार सार्वजनिक भएकोले आफ्नाे गम्भीर ध्यानआकर्षण भएकाे बताएका हुन् ।

उनले विज्ञप्तिमार्फत् नेपाल फर्केर सबै बचतकर्ताकाे बचत तिर्ने पनि बताएका छन् । उनले विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण ऋण असुली नहुँदा बचत फिर्ता गर्न नसकेको पनि बताएका छन् ।

यस्तो छ उनको धारणा :

काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं १४ कुलेश्वरमा रहेको र सहकारी विभागमा दर्ता कायम भई नियमित सञ्चालनमा रहेको गौतम श्री बहुउद्धेशीय सहकारी संस्था लिमिटेडका विषयमा विभिन्न सञ्चार माध्यममा आएका समाचारहरु र त्यसबाट पर्न गएको भ्रम तथा उत्पन्न परिस्थितिका बारेमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसका कारण सहकारीका सम्पूर्ण शेयर सदस्य, बचतकर्ता महानुभावहरु र अन्य सरोकारवाला पक्षहरुमा पर्न गएको भ्रम र असुविधाको लागी म क्षमाप्रार्थी छु । यस विषयमा यथार्थ सार्वजनीक गर्न तथा थप स्पष्ट पार्नको लागि यो विज्ञप्ति जारी गरिएको छ ।

१. सर्वप्रथम म सहकारी संस्थाको अध्यक्ष राम बहादुर गौतम अन्य कम्पनीको काम विशेषले नेपाल वाहिर गएको र मेरो मोवाइल सम्पर्क नभएको अवस्थामा त्यसैलाई आधार बनाई म सहकारीको बचतकर्ताको रकम खाएर भागेको भन्ने समाचार सार्वजनीक गरिएकोमा म बचतकर्ताको रकम खाएर नभाग्ने र नभागेको स्पष्ट पार्न चाहन्छु । म नेपाल आएर सहकारीको समस्या समाधानमा लागि सकेको जानकारी गराउँदछु ।

२. सहकारी नियमित सञ्चालनमा रहेको अवस्थामा विश्वव्यापी कोभीड महामारीको कारणले नेपालमा करिब २ वर्ष जारी रहेको लकडाउनले पारेको समस्याका कारण सहकारीबाट प्रवाह गरेको कतिपय कर्जा समयमा असुली हुन नसकेको भएता पनि हामीले बचतकर्ताहरुको रकम नियमित रुपमा फिर्ता गरिरहेको र संस्था नियमित सञ्चालनमै रहेको थियो । तर अप्रत्याशीत रुपमा केही संचामाध्यममा सहकारी समस्यामा रहेको भन्ने भ्रमात्मक समाचार सार्वजनीक भएपछि बचतकर्ताहरुमा त्रास पैदा हुनु स्वभाविक नै हो । संस्थासँग सम्वन्धीत केही कुत्सीत मानसिकता भएका व्यक्तिले फैलाएको सो भ्रमपश्चात सहकारीमा बचतकर्ताहरुको भिड लगाउने र विभागमा तथा प्रहरी प्रशासनमा समेत उजुरी गरी मेरो व्यक्तिगत र पारिवारीक सदस्यहरुलाई भौतिक आक्रमण गर्ने, अपहरण गर्ने, कर्मचारीहरुलाई समेत आक्रमण गर्ने लगायतका धम्की आइरहेको सन्दर्भमा सुरक्षाको प्रत्याभुति हुने वित्तिकैकार्यालय नियमित सञ्चालन गर्ने र बचतकर्ताहरुको रकम नियमित रुपमा फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

३. म सहकारी ऐन, नियमावली र नेपाल सरकारले लागु गरेको सम्पूर्ण मापदण्ड, नीति, विधि र विधानप्रति प्रतिवद्ध रहेको र आम वचतकर्ता महानुभावहरुको समस्याप्रति अत्यन्त गम्भीर छु । सहकारी सञ्चालकको रुपमा बचतकर्ता सदस्यहरुको रकम यथासिघ्र फिर्ता गर्ने वातावरण बनाउने मेरो प्रतिवद्धतामा सहयोग गर्न म सहकारीका आम शेयर सदस्य महानुभावहरु, बचतकर्ता महानुभावहरु, सञ्चारमाध्यम, प्रहरी प्रशासन र अन्य सरोकारवाला पक्षहरुलाई हार्दिक आग्रह पनि गर्दछु । ४. संस्थाबाट प्रवाह गरिएको सम्पूर्ण कर्जा असुली गर्न केही समय लाग्ने भएतापनि म आम बचतकर्ता महानुभावहरुलाई विनम्रताका साथ आग्रह गर्दछु की म तपाईहरुको बचत रकम कुनै पनि हालतमा डुब्न दिने छैन, म तपाईहरुको बचत रकम मेरो जायजेथा र सम्पत्ती बेचेरै भएपनि केही महिनाभित्रमा रकम फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । ५. म सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न प्रतिवद्ध भएको अवस्थामा मेरो र संस्थाको सुरक्षाको प्रत्याभुति गराईदिनको लागि नेपाल सरकार, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय, सहकारी विभाग र प्रहरी प्रशासनसमक्ष विनम्र अनुरोध गर्दछु ।

अन्त्यमा म सम्पूर्ण सञ्चारमाध्यहरुमा म र मेरो नेतृत्वमा रहेको गौतमश्री बहुद्धेशीय सहकारी संस्थाको विषयमा भ्रमात्मक र उत्तेजनात्मक समाचार प्रवाह नगरिदिनुहुन तथा सत्य तथ्य समाचार प्रवाह गरी संस्था नियमित रुपमा सञ्चालन हुने वातावरण निर्माणमा सकारात्मक सहयोग पुर्याइदिनुहुन विनम्रताका साथ अनुरोध गर्दछु । म नेपाल आइसकेको र आवश्यकता अनुसार बचतकर्ताहरुसँगको सम्पर्कमा रहेर समस्या समाधानमा लागिसकेकोले थप उत्तेजित वातावरण नबनाउन तथा सहज वातावरण निर्माणमा सहयोग पुर्याउन सम्वन्धीत सबैमा हार्दिक अपील पनि गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X