कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा बढी पुग्यो भने सरप्राइज हुनु हुँदैन : सुनिल पोखरेल

  २०७९ साउन १७ गते १२:२०     विकासन्युज

पछिल्लो समय सिभिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा एक किसिमको तरंग ल्याएको छ । हिमालयन बैंकसँग १००ः८१ को स्वाप रेसियोमा मर्जर सम्झौता गर्नु र पछिल्ला केही त्रैमासमा उच्च रूपमा नाफा गर्नुले सिभिल बैंकको हैसियत वाणिज्य बैंकहरुबीच बढेको छ । विशेष गरेर ३२ वर्षको बैंकिङ अनुभव लिइसकेका बैंकर सुनिल पोखरेल बैंक व्यवस्थापनको नेतृत्व सम्हाल्न सुरू गरेपछि सिभिलका सूचकहरु माथि लाग्न सुरू गरेका हुन् । विदेशी बैंकमा समेत काम गरेका सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखेरलसँग बैंकको बिजनेस, हिमालयन र सिभिल बैंकको मर्जर सम्झाैताको विषय र बैंकिङ क्षेत्रको समसामयिक विषयवस्तुको विषयमा विकासन्युजका रामकृष्ण पौडेल र सन्तोष रोकायाले कुराकानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ, मौद्रिक नीतिमार्फत् भएका व्यवस्थाप्रति बैंकर्सको धारणा के हो ?

बजारमा जुन अवस्थाको चुनौति थियो, त्यो परिस्थिती हेरेर राष्ट्र बैंकबाट केही ‘रिल्याक्सेसन’ पाइँदैन कि भन्ने अनुमान थियो । तर, मौद्रिक नीतिमार्फत केही सहजता दिएको छ । डिबेन्चर, स्थानीय तहको निक्षेप गणना लगायतका विषयमा राष्ट्र बैंकले ‘टाइट’ गर्न सक्छ भन्ने धेरैको अनुमान थियो । यस पटक काउण्टर साइक्लिकल बफर आउलाकी भन्ने डर पनि थियो । तर, त्यसलाई एक वर्षपछि मात्रै लागू गर्ने भनेको छ । यी सबै विषयलाई हेर्दा मौद्रिक नीति सकारात्मक रुपमा लिनु पर्छ । अहिले अनिवार्य नगद मौज्दात (सीआरआर) एक प्रतिशत बढेको छ । सीआरआर बढे पनि लोनेबल फण्ड बढ्छ जस्तो मलाई लाग्दैन । यसले बैंकको नाफामा भने केही असर गर्छ नै ।

अबको दुई त्रैमासमा बैंकलाई केही ‘टफ’ भने अवश्य नै हुन्छ । अहिले प्रणालीमा पैसा नै छैन । डिपोजिट अर्गानिक हुन्छ । तपाईं हामीले चाहेर डिपोजिट ग्रोथ हुँदैन । मूल्यवृद्धि पनि बढिरहेको छ । मूल्यवृद्धि १६ प्रतिशतसम्म पुग्न सक्छ भन्ने विषय पनि उठिरहेको छ । मूल्यवृद्धि बढेपछि निक्षेप घट्छ । किनभने तपाईंले अहिले जति खर्च गर्नु हुन्छ । मूल्यवृद्धि भएपछि त्योभन्दा बढी खर्च गर्नु पर्ने अवस्था आउन सक्छ ।

हामी आयातमा निर्भर छौं । हामीले जति पनि वस्तु उपभोग गर्छौं त्यो सामान आयातित हो । विदेशी मुद्रा पनि घट्दै गइरहेको छ । यी सबै विषयहरु एक अर्कासँग अन्तर सम्बन्धित छन् । ब्याजदर पनि बढ्ने संकेत देखिएको छ । जुन स्वभाविक हो । जबसम्म ब्याजदर बढ्दैन तबसम्म राम्रा प्रोजेक्टमा मात्र कर्जा जाने अवस्था आउँदैन । ब्याजदर १८ प्रतिशतसम्म पुगेपछि कम सम्भावना बोकेका प्रोजेक्ट साइड लाग्छन्, भायबल देखिन छोड्छन् । नयाँ प्रोजेक्ट आउन बन्द भएपछि त्यसले हामीलाई स्ट्रेस कम गर्छ । कर्जाको माग घट्ने भएपछि निक्षेप बढ्ने भयो । टेक्निकल रुपमा नयाँ आउन केही समय लाग्छ । त्यसका लागि ३/४ महिनापछि अवश्य नै लाग्छ ।

नयाँ परियोजना आएन भने अर्थतन्त्रमा केही असर अवश्य नै पर्छ । तर, अहिलेको अवस्था अर्थतन्त्रको ग्रोथभन्दा पनि सस्टेन गर्ने हो । केही समय कुर्नु पर्छ । चुनाव पनि आउँला । पर्यटनको चहलपहल बढ्छ । तेस्रो क्वाटरमा बैंकहरुमा पनि जोखिम कम पर्न सक्छ । अब बैंकहरुले घाँटी हेरेर हाड निल्ने हो ।

मेरो व्यक्तिगत विचारमा ब्याजदर निर्धारणको विषय मार्केटलाई छोड्नु पर्छ । प्राइस मार्केटले निर्धारण गर्ने हो । मार्केटले जुन मूल्य निर्धारण गर्छ त्यही प्राइसमा अगाडि बढ्ने हो ।

मौद्रिक नीतिको नयाँ व्यवस्थाले ब्याजदरमा कस्तो परिवर्तन आउँला ?

अहिलेको नीति अनुसार जाने हो भने बैंकहरूले १० प्रतिशत मात्रै ब्याजदर बढाउन पाउँछन् । अब नयाँ निर्देशनमा के आउँछ, त्यसमा निर्भर हुन्छ । राष्ट्र बैंकको गाइडलाइनमा निरन्तर जाने हो भने त एक प्रतिशत मात्रै बढ्छ । डिपोजिट रेट ११ बाट १२ प्रतिशत पुग्न सक्छ । यदि राष्ट्र बैंकले ब्याजदर खुला छोड्यो भने सबै बैंकहरुको फरक–फरक हुन सक्छ । आधारदर सबै बैंकको बढेर जान्छ । भोलिको दिनमा १८ प्रतिशत ब्याजमा पनि कर्जा लिनु पर्ने दिन आयो भने म त्यसमा सरप्राइज हुँदिन । किनकि निक्षेपकाे व्याज भनेको ‘र मेट्रेलियल’को कष्ट हो । निक्षेपकाे व्याज १२ प्रतिशत पुगेपछि कर्जाकाे व्याज १८ प्रतिशत पुग्छ । त्यस अवस्थामा धेरै प्रोजेक्ट भायबल हुँदैन । उसले तत्काल त्यसबाट बाहिरिनु पर्ने हुन्छ । त्यसमा बैंकले कर्जा लगानी पनि गर्नु भएन । जबसम्म बैंकमा पैसा हुँदैन तबसम्म ब्याजदर घट्छ जस्तो मलाई लाग्दैन । १०/१२ प्रतिशत ब्याजमा ऋण लिन्छु भन्ने कुरा सम्भव हुँदैन ।

अहिले सबैं बैंकहरुको मुद्दति निक्षेपमा एकै किसिमको ब्याजदर छ, यो नीतिलाई निरन्तरता दिनु पर्छ वा ब्याजदर खुला छोड्नु पर्छ ?

मेरो व्यक्तिगत विचारमा ब्याजदर निर्धारणको विषय मार्केटलाई छोड्नु पर्छ । प्राइस मार्केटले निर्धारण गर्ने हो । मार्केटले जुन मूल्य निर्धारण गर्छ त्यही प्राइसमा अगाडि बढ्ने हो । अहिले धेरै बैंकहरुले डलर खातामा १८ प्रतिशत ब्याज पनि दिएका छन् । त्यसका कुनै सीमा नभएकै कारण हो । डलर डिपोजिट १८ प्रतिशत भनेको धेरै उच्च हो । डलर डिपोजिटमा १८ प्रतिशत ब्याजदर कुनै पनि देशमा छैन । बैंकहरुले सीडी रेसियो मेन्टेन गर्नैका लागि १८ प्रतिशतसम्म दिन बाध्य भएका हुन् । त्यो भनेको मार्केटले निर्धारण गरेको रेट हो । भोलि सबैले २० प्रतिशत नै दिन सक्दैनन् नी । भोलि अवश्य नै यसले एउटा साइज लिन्छ । जब मार्केट ओपन हुन्छ त्यसपछि मात्रै यकिन मूल्य कति हो भन्ने कुरा थाहा हुन्छ ।

विगतमा नेपालमा ८/९ प्रतिशतको मुद्रास्फिती हुँदा विकसित देशमा १/२ प्रतिशतको मात्रै हुन्थ्यो । तर, अहिले ती देशहरुमा ८/१० पुगेको छ । यो हिसाबमा नेपालको मूद्रास्फिती धेरै बढ्ने देखियो नि ?

अहिले अमेरिकाको मुद्रास्फिती ९ प्रतिशतभन्दा बढी छ । विगतमा अमेरिका २ प्रतिशतको हाराहारीमा मुद्रास्फिती हुन्थ्यो । सामान्यतया अमेरिकाको मुद्रास्फिती ३ प्रतिशत हो । उनीहरुले कोभिडको समयमा मुद्रास्फिती बढाउनै लागि पैसा बाँडेका थिए । त्यसकाे असर ३ प्रतिशत थपियाे र  ६ प्रतिशत पुगेकाे हाे ।  अर्को ३ प्रतिशत वस्तुको आयातका कारण बढेको हो । रसिया र युक्रेन युद्धले अमेरिकामा पनि मूल्यवृद्धिमा याेगदान गरेकाे छ ।  नेपालमा कोभिडको बेलामा पैसा बाँडेको छैन । कर्जाकाे व्याजमा सहुलियत दिए पनि त्यसलाई यसमा गणना गर्न मिल्दैन । विदेशमा बढेको  मूल्य वृद्धिकाे प्रभाव नेपालमा पनि अवश्य पर्छ । मुद्रास्फिती अझै बढ्छ ।

सरकारले केही वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको छ, यसको प्रभाव बैंकिङ क्षेत्रमा कस्तो छ ?

यसले बैंकहरुको एलसीको बिजनेसमा धेरै प्रभाव परेको छ । बिजनेस घटेको छ । यसको प्रभाव असार मसान्तकाे रिपाेर्टमा पनि देखिएको छ ।

अहिले बैंकहरुको ठूलो पैसा एकाएक हराएको भन्ने विषय पनि आइरहेको छ, निक्षेपको पैसा कहाँ गयो ?

पैसा त हराउँदैन । पैसा घटेको छ । चौथो क्वाटरको अन्त्यपछि निक्षेप अवश्य नै घट्छ । आर्थिक वर्षको अन्त्यमा मानिसहरुले खर्च पनि बढाउँछन् । धेरैले निक्षेप निकालेर कर्जाको ब्याजदर पनि तिर्छन् । लोन सेटलमेन्टमा गएको हुन सक्छ । उपभोग पनि बढ्छ । गत वर्ष पनि यही ट्रेण्ड देखिन्छ । धेरैले नयाँ आर्थिक वर्ष लागेपछि खाताबाट पैसा निकाल्छन् ।

व्यवसायीहरुले ऋणको ब्याजदर सिंगल डिजिटमा हुनु पर्छ भन्छन्, तपाईंहरुले बढ्नु पर्छ भन्नुहन्छ, यो अवस्थामा कसरी अगाडि बढ्न सकिन्छ ?

कर्जाकाे व्याजदर सिंगल डिजिटमा आउनु भनेर इच्छा देखाउनु राम्रो कुरा हो । सिंगल डिजिटमा मात्रै किन पाँच प्रतिशतमै आउनु पर्ने हो । तर, पाँच प्रतिशतमा निक्षेप ल्याउन सक्छौं ? हामीसँग स्रोत छ ? आजको दिनमा यसको उत्तर छैन । निक्षेप भनेको ‘र मेट्रियल’ हो । शून्य प्रतिशतमा निक्षेप पायो भने ५ प्रतिशत ब्याजमा कर्जा लगानी गर्नु स्वभाविक हो । हामीले बाहिरबाट निक्षेप ल्याउन सकिने अवस्था छैन । त्यसैले हाम्रो मार्केटमा जुन अवस्था छ, सोही हिसाबमा प्राइसिङ गर्ने हो । कुनै दिन हामीले ६ प्रतिशतमा पनि ऋण लगानी गरेका थियौं । बैंकले कम मूल्यमा पायो भने त सस्तोमै दिने हो । आउने दशौं वर्षमा पनि सिंगल डिजिटमा ब्याजदर आउने देखिँदैन ।

अहिले धेरै बैंकहरुले डलर खातामा १८ प्रतिशत ब्याज पनि दिएका छन् । त्यसका कुनै सीमा नभएकै कारण हो । डलर डिपोजिट १८ प्रतिशत भनेको धेरै उच्च हो । डलर डिपोजिटमा १८ प्रतिशत ब्याजदर कुनै पनि देशमा छैन ।

विदेशमा ब्याजदर केही प्रतिशत बढ्ने बित्तीकै ठूलो ‘इस्यू’ बन्छ । तर, नेपालमा ठूलो मात्रामा ब्याजदरमा उतारचढाब हुन्छ, जति बढेपनि खासै प्राथमिकता दिइँदैन, किन ?

नेपालमा अहिलेको ब्याजदरको उतारचढाब कम हो । धेरै हुनु पथ्र्यो । नेपाल राष्ट्र बैंकको नीतिगत कारणले नै कम भएको हो । नभए अझै ठूलो उतारचढाब हुने देखिन्छ । आज १२ प्रतिशतमा ब्याजदर छ । निक्षेप घट्यो भने मैले १४ प्रतिशत कायम गर्न सक्छु । पर्सी निक्षेप धेरै बढ्यो भने १० प्रतिशतमा झार्न सक्छु । मार्केटले त्यसरी निर्धारण गर्छ । नेपालमा एक महिनामा मात्रै घटबढ हुन्छ । बिचमा जे जस्तो अवस्था आएपनि घटबढ गर्न पाइँदैन । तर, गत वर्षको तुलनामा धेरै बढेको छ । त्यो स्वभाविक हो । कोभिडको बेलामा निक्षेप बढ्यो, कर्जा लगानी भएन । ब्याजदर घट्यो । अहिले निक्षेप घट्यो र ब्याजदर बढ्यो । यो हामीमा मात्रै होइन विश्वव्यापी रुपमा कर्जाको माग बढेको छ । कर्जाको माग बढेपछि रेट अवश्य नै बढ्छ । रेट बढे पनि निक्षेप बढेन । त्यो पनि फ्याक्ट हो । बुक भने मिलाउन सकिन्छ । ब्याजदर बढाउने बित्तिकै निक्षेप बढ्छ भन्ने कुरामा भने विश्वस्त हुन सकिँदैन । रेट भनेको डिमाण्ड र सप्लाईले नै निर्धारण गर्ने हो ।

अहिले कर्जाको माग कस्तो छ ?

पहिलेको तुलनामा कर्जाको माग घटेको छ । अब आउने परियोजनामा ब्याजदर बढ्छ भन्ने सबैको अनुमान छ । हिजो उचित हुने परियोजना आज उचित नहुन सक्छ । अहिले सबै वस्तुको मूल्य विश्वभर नै बढिरहेको छ । अहिले हाम फालेर जानुभन्दा पनि केही समयमा लागि रोक्ने वा अर्कै रोज्ने कुरा पनि हुन्छ ।

सिभिलले हिमालयनसँग १००ः८१ को स्वाप रेसियोमा मर्जरमा जानु र एकाएक बिजनेस विस्तारमा आक्रामक हुनुले बैंकिङ क्षेत्रमा एक किसिमको तरंग ल्याएको छ, यो सम्भव कसरी भयो ?

हामीले पर्फेन्स राम्रो गरेको स्वभाविक हो । कोरोनाको बेला धेरैले रिक्स देखे । यस्तो समयमा कर्जा दिनु हुँदैन भने । हामीले अवसरका रुपमा लियौं । हामीले यो अवसरलाई गुमाउनु हुँदैन, हाम्रो पोर्टफोलियो बढाउनु पर्छ भन्ने अवधारणाका साथ अगाडि बढ्यौं । त्यसपछिको यो नतिजा हो । सबै जनाले त्यो कमिटमेन्ट गरेपछि अहिले यो किसिमको रिजल्ट देखिएको हो । टीमले राम्रो ड्रीम देखेपछि सिभिलको सपना पुरा भएको हो । अझै हामी माथि पुग्नु पर्छ भन्ने रणनीतिका साथ काम गरिरहेका छौं ।

आक्रामक बिजनेस विस्तारमा हुनुहुन्छ, क्यापिटल एड्युकेसी रेसियो मेन्टेन नुहुने जोखिम कत्तिको छ ?

त्यस्तो जोखिम छैन । हाम्रो पुँजी प्रयाप्त छ । टायर वान पनि प्रयाप्त छ । अहिलेको अवस्थामा ३० अर्बको बिजनेस विस्तार गर्न पनि हामीलाई कुनै समस्या छैन । आक्रामकसँगै क्यापिटल पनि जोगाउने रणनीतिमा हामी छौं । हामीले डिवेन्चर जारी गरेपछि सहज अवस्थामा छौं ।

चौथो त्रैमासमा बैंकहरुको नन् बैंकिङ एसेट बढेको हो ?

त्यति धेरै बढेको छैन । तर, ब्याज असुल गर्न भने चुनौति नै छ । खराब कर्जा खासै बढेको छैन । असार महिनामा सबैले राम्रो नै ल्याउँछन् । बैंकहरुले राम्रोसँग नै बुक मिलाउँछन् । सिभिल बैंकको वित्तीय विवरण पनि राम्रै आउँछ । नाफा पनि राम्रै हुन्छ ।

यो बिचमा सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ पक्राउ पनि परे तर, त्यो विषयले बैंकलाई कुनै असर परेन है ?

यसमा बैंकिङ भनेको रेगुलटरी बिजनेस हो । मान्छेहरुले त्यो कुरा बुझिसकेका छन् । राष्ट्र बैंकको नियमनको कारण पनि हो । म्यानेजमेन्टसँगको विश्वास हो । यी दुइटा कुराले यसमा कुनै समस्या देखिएन ।

मंसिर मसान्तभित्रै हिमालयन र सिभिल बैंकबीच एकिकृत कारोबार गर्ने तपाईंहरुको योजना छ, यो बिचमा केही उतारचढाव आउने जोखिम कत्तिको छ ?

अहिलेसम्मको अवस्था हेर्दा त्यस्तो जोखिम आउने अवस्था छैन । मंसिरको मसान्तसम्म एकिकृत कारोबार गर्ने भन्ने लक्ष्य छ । मंसिरमा हुन नसकेपनि पुसभित्रै गरिसक्नु पर्ने दबाब छ । धेरै कुराहरुमा हाम्रो सम्झौता भइसकेको छ । केही अस्पष्टता छैन । धेरै विषयमा सम्झौता भइसकेपछि मात्रै एमओयूमा सम्झौता हस्ताक्षर भएको हो ।

डीडीए भइसकेपछि स्वाप रेसियोमा घटबढ भयो भने मर्जर भाँडिने जोखिम बढ्छ कि भन्ने कतिपयको बुझाइ छ नी ?

मैले त्यस्तो जोखिम देखेको छैन । डीडीए पनि एउटा सिद्धान्तमा आधारित भएर गरिन्छ । त्यसमा पनि सम्झौता भएर नै हामीले एमओयू गरेका हौं । ५० पैसा तलमाथि स्वभाविक हो । तर, त्यो भन्दा धेरै तलमाथि हुँदैन भन्ने हामी विश्वस्त छौं । किनकी सिभिल बैंकको चौथो त्रैमासको वित्तीय विवरण पनि राम्रै आउँछ । त्यसलाई आधारमान्दा पनि हाम्रो भ्यालुएसन अझै बढ्छ जस्तो लाग्छ । कुनै पनि कम्पनीको भ्यालू उसको पफर्मेन्सले हुन्छ । हाम्रो फफर्मेन्स राम्रो छ ।

धेरै बैंकले वितरणयोग्य नाफालाई पनि जगेडा कोषमा राखेर कोषलाई बलियो बनाएका हुन्छन् । तर, मर्जरमा जाँदा त्यो रकमलाई पनि नाफाका रुपमा वितरण गर्ने गरेको देखिन्छ, यो सबै मिलाएर सिभिल बैंकले सेयरधनीलाई कतिसम्म लाभांश दिन सक्छ ?

हामी मर्जरमा गएपनि नगएपनि यस पटक डबल डिजिटमा लाभांश दिने तयारीमा छौं । यो हाम्रो पहिलेदेखिको नै योजना हो । हामी दुई बैंकबीच सबै रकम सेयरधनीलाई नबाड्ने भन्ने विषयमा सम्झौता भइसकेको छ । हामी ‘म्यासिभ्लि! बाँड्दैनौं । सेयरधनीलाई रिजेनेवल लाभांश दिन्छौं । हुनत ओभर क्यापिटालाइज्ड पनि राम्रो होइन तर अर्को सिनर्जी आउने वर्षमा पुँजी पनि चाहिन्छ । त्यसमा हामी सजग छौं ।

सिभिल बैंक हिमालयन बैंकसँग मर्जर सम्झौता गर्दा बैंकका सेयरधनी र कर्मचारीहरु खुसी नै देखिन्छन् । तर अलि त्यागचाहिँ तपाईंसहित टप म्यानेजमेन्टले बढी गर्नु पर्यो है ?

यसलाई त्यागका रुपमा हेर्नु हुँदैन । म यसलाई सहर्ष स्वीकार गर्छु । मैले आफुलाई बिचमा राखेर सेयरधनी र कर्मचारीलाई हेर्नु पर्ने हुन्छ । उनीहरुको सन्तोष नै मेरो सन्तुष्टि हो । मर्जरको महत्वपूर्ण यी दुई विषय नै हुन् । म चारै वर्ष यता बस्छु भन्ने पनि छैन । अन्य विकल्पहरु पनि होलान् ।

मर्जरको विषयमा धेरै बैंकमा टप लेभलको म्यानेजमेन्ट बाहिरिने गरेका छन्, तपाईंले त्यो बाटो रोज्ने सम्भावना कति छ ?

अहिलेसम्म निर्णय गरेको छै । तर, विकल्प सधैं खुला छ । तर, म दुई बैंकबीचको मर्जर हेर्न मन छ । सिनर्जी आउनु पर्छ भन्ने मेरो पनि धारणा हो ।

बैंकिङ करिअरको ३२ वर्षे अनुभवलाई तपाईंले कसरी व्याख्या गर्नुहुन्छ अर्थात् यसका आरोह–अवरोह र ‘प्रोफेसन रिल्याक्सेसन’ कति गरिरहनु भएको छ ?

प्रेसर अवश्य नै हुन्छ । बैंकको कर्मचारीहरु धेरै प्रेसरमा हुन्छन् । त्यो हुनु पनि पर्छ । अझ हाम्रो स्तरका बैंकलाई झन् प्रेसर नै हुन्छ । अन्य ठूला बैंकहरुसँग हामीले भाग खोज्नु पर्ने हुन्छ । त्यसकारणले पनि हामीले उनीहरुभन्दा अलि बढी नै परिश्रम गर्नु पर्ने हुन्छ । उनीहरुसँग प्रतिस्पर्धा नगरेर अगाडि पनि बढ्न सकिँदैन । पछिल्ला वर्षहरुमा हामीले धेरै ग्रोथ गरेका छौं । धेरै कर्मचारी घटाएर पनि राम्रो ग्रोथ गरेका छौं । प्रविधिमा धेरै फड्को मारेका छौं । हामी स्टार्टअप कम्पनीको जसरी काम गरिरहेका छौं । काम गरे अनुसार परिवर्तन पनि भएको छ । बजारमा रिकगनाइज्ड भएका छौं भन्ने महसुस पनि कर्मचारीहरुले गरेका छन् । जुन हाम्रो ठूलो सम्पत्ति हो । अन्य बैंकहरुको नजरमा सिभिल बैंकका परिरहेका छन् । हामीले दुःख पनि गरेका छौं ।

ओभरअल बैंकिङ क्षेत्रको विषयमा कुरा गरौं, विगतमा यो क्षेत्रमा धेरै ठूलो आकर्षण थियो । तर, पछिल्लो समय बैंकिङ क्षेत्रप्रति युवाहरुको आकर्षण घट्दै गइरहेको छ भन्ने पनि सुनिन्छ नी ?

यसमा दुइटा कुरा छ । एउटा विदेश जान खोज्ने र अर्को नेपालमै बसेर काम गर्न चाहने । म कलेजमा पनि पढाउँछु । उनीहरुलाई म तपाईंहरु कुन क्षेत्रमा काम गर्न चाहनु हुन्छ भनेर सोध्यो भने अधिकांश बैंकमा काम गर्ने भन्नुहुन्थ्यो । कतिपयले आफ्नै बिजनेस गर्ने पनि भन्नुहुन्छ । मैले पढाएको ६ वर्षको अवधिमा उद्यमी बन्ने र राष्ट्र बैंकमा काम गर्ने भनेर उत्तर दिनेहरु बढेका छन् । तर, पहिलेको तुलनामा केही ट्रेन्ड घटेको छ । अहिले बैंकिङसँगै अन्य क्षेत्रहरु पनि बढ्दै गए र त्यो क्षेत्रमा पनि आकर्षण बढ्दै गएको देखिन्छ । पहिले वाणिज्य बैंकमात्रै थियो । तर, अहिले अन्य विकल्प पनि हुँदा विकल्पहरु बढेका छन् । तर, बैंकिङ नराम्रो जब भने होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.