जब एक्कासी तीन बैंकमा आगो दन्कियो

  २०७९ साउन १६ गते २२:१५     विकासन्युज

काठमाडौं । सोमबार महोत्तरीको बर्दिवासको बजार सुनसान थियो । मानिसहरु आफ्नो गतिमा थिए । बैंकका कर्मचारीहरु बैंकमा काम गर्न व्यस्त थिए । दिउसो २ः१५ बजेको समय एक दुई जना मानिसको चिच्याहट सुनियो । सबैका कान ठाडा भए ।

एक्कासी तीन तले भवनबाट धुवाँको मुस्लो निस्कियो । ठूलो भवनभित्र काम गरिहरेका मानिसहरु एकाएक हतारिँदै बाहिर निस्किए । तीन तले भवनको दोस्रो तल्लामा रहेको सिद्धार्थ बैंकको कोठाबाट ठूलो धुवाँको मुस्लो आएपछि बैंकर्स डराए ।

सो भवनमा सिद्धार्थ बैंकसँगै नेपाल एसबिआई बैंक र कामना विकासकाे शाखाहरु थिए । तीन वटै बैंकका कर्मचारीहरु हतारिँदै बाहिरिए । मानिसहरुको ठूलो जमात जम्मा भयो । लगत्तै प्रहरीको भ्यान नजिकै आपुग्यो । त्यस लगत्तै दमकल आइपुग्यो । तीन तले सो भवनबाट ठूलो धुवाँको मुस्लो बाहिरिएपछि धेरैले तीन वटै बैंकमा ठूलो क्षति हुन सक्ने अनुमान गरेका थिए ।

स्थानीयबाट अचानक आगलागी भएको सूचना पाएपछि प्रहरीसहित नेपाली सेनाको टोली र दमकल पुगेर आगो निभाउने प्रयास भयो । दिउसो २ः१५ बजे लागेको आगो स्थानीय, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी र दमकलको सहयोगमा २ः५० बजे पूर्ण रुपमा नियन्त्रणमा आयो ।

इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रबी रावलका अनुसार सो भवनको तेस्रो तल्लामा अभिषेक झाले सञ्चालन गरेको ३६५ फिटनेस जिम सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको थियो ।

आगलागीले फिटनेस जिम सेन्टरमा प्रयोग भएको ट्रस, जिमको सामग्री जल्दा ९० लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए । तीन वटा बैंकसँगै भएको र सोही भवनमा आगो लाग्दा ठूलो क्षति हुने अनुमान धेरैले गरेपनि बैंक भने सुरक्षित रहेको रावलको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.