कम पूँजी भएका बैंकलाई मर्जरको दबाब, बिजनेस विस्तारमा चुनौति

  २०७९ साउन १६ गते १७:१५     सीआर भण्डारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा मर्जरको नीति प्राथमिकताका साथ लागू गरेपछि बैंकहरू मर्जरको दबाबमा छन् । विशेष गरेर वाणिज्य बैंकहरू मर्जरका लागि एकआपसमा घनिभूत रूपमा छलफलमा व्यस्त देखिन्छन् ।

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच मर्जर सम्झौता भएर पनि एकिकृत कारोबार भएपछि अन्य वाणिज्य बैंकहरू मर्जर प्रक्रियामा जानका लागि तातेको प्रष्ट बुझिन्छ । राष्ट्र बैंकले जेठ अन्तिम सातामा वाणिज्य बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई बोलाएर मर्जरमा पाइने छुट सुविधा असारमसान्तपछि रोकिने भनेपछि असार महिनामाा बैंकहरूबीच मर्जरका लागि फरक खालको ‘नेगोसियसन’ देखिएको थियो ।

ठूला वाणिज्य बैैंकहरुले साना बैंकहरुलाई महँगो मूल्यमा मर्जर सम्झौता गर्ने परिपाटी पनि सुरू भयो । आफ्नो प्रतिस्पर्धीहरू धमाधम ठूलो बैंकसँग मर्जरमा जान थालेपछि सानो पूँजी भएका बैंकहरु अहिले दबाबमा देखिएका छन् ।

आइतबार मात्रै प्रभु बैंक र सेञ्चुरी बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भयो । यो सम्झौताले साना बैंकहरुलाई मर्जरमा जान थप दबाब सिर्जना गरेको देखिन्छ । ठूला बैंकहरुले साना बैंकहरूलाई महँगो मूल्यमा मर्जर सम्झौता गर्दा १५ अर्ब रुपैयाँभन्दा कम चुक्ता पूँजी भएका वाणिज्य बैंकहरुलाई ठूलो दबाब परेको छ ।

हालसम्म विभिन्न ८ वटा वाणिज्य बैंकले मर्जरमा जान प्रारम्भिक सम्झौता गरिसकेका छन् । मर्जर सम्झौता गरेका ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बीओके) को चुक्ता पूँजी ३४ अर्ब ४१ करोड ९७ लाख ६७ हजार रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट (एनआईबिएल) र मेगा बैंकको चुक्ता पूँजी ३२ अर्ब ८२ करोड ५९ लाख ५६ हजार रुपैयाँ, प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको चुक्ता पूँजी २२ अर्ब २६ करोड २६ लाख रुपैयाँ र हिमालयन बैंक र सिभिल बैंकको चुक्ता पूँजी २० अर्ब ३० करोड २१ लाख ५९ हजार रुपैयाँ पुग्नेछ ।

यसअघि नै नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरि एकीकृत कारोबार गरेको नबिल बैंकको चुक्ता पूँजी २२ अर्ब ८३ करोड २९ लाख ८ हजार रुपैयाँ पुगेको छ । यसरी धमाधम मर्जर सम्झौता गरेर ठूलो पुँजी बनाउने प्रतिस्पर्धा बैंकहरुबीच चलिरहँदा साना पूँजी भएका वाणिज्य बैंकहरु अहिले पाटर्नर खोज्न भौतारिरहेका छन् ।

पूँजी जति बढी भयो त्यति नै ब्यापार विस्तारमा बैंकहरूलाई सहज हुन्छ । चुक्ता पूँजी बढी भएका बैंकले लगानी क्षमता धेरै राख्ने र उनीहरुको व्यापारमा समेत ग्रोथ हुने भएकाले साना बैंकलाई त्यसले ठूलो असर पर्न सक्ने अनुभवी बैंकर्सको धारणा छ ।

अहिले २० वटा बैंकको पूँजी १५ अर्ब रुपैयाँभन्दा कम छ । कुमारी, नेपाल बैंक, सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन, प्रभु, सिद्धार्थ, एनआईसी एशिया, लक्ष्मी, सानिमा, एनसीसी, बैंक अफ काठमाण्डू, माछापुच्छ्रे, सनराइज, नेपाल बंगलादेश, नेपाल एसबिआई, सेञ्चुरी, एभरेष्ट, स्ट्याण्डर्ड चार्टट र सिभिल बैंकको चुक्ता पूँजी १५ अर्ब भन्दा कम छ ।

सनराइज, लक्ष्मी, सिटिजन्स इन्टरनेशनल, माछापुच्छ्रे, एभरेष्ट, एनसीसी, सिद्धार्थ र कुमारी बैंकलाई मर्जरमा जान बढी दबाव परेको छ । उसो त यी बैंकहरु अहिले मर्जरका लागि एकापसमा छलफल गरिरहेका छन् ।

हाल सनराइजको १० अर्ब ११ करोड ८८ लाख, लक्ष्मीको ११ अर्ब ५५ करोड १३ लाख, सिटिजन्सको १४ अर्ब २० करोड ९ लाख, माछापुच्छ्रेको १० अर्ब २५ करोड ७१ लाख, एभरेष्टको ९ अर्ब ४६ करोड ७३ लाख, एनसीसीको ११ अर्ब १३ करोड ९६ लाख र कुमारी बैंकको १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी छ ।

यिनै बैंकहरु अहिले मर्जका लागि पाटर्नर खोजिरहेका छन् भने कुरा मिलेमा छिट्टै मर्जर प्रक्रियामा सामेल हुने तयारी गरिरहेको बुझिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् पुस मसान्तसम्म मर्जर सम्झौता गरेर एकिकृत कारोबार गर्नेलाई मात्रै कर छुट सुविधा दिने घोषणा गरेसँगै बैंकहरू थप हतारिएर छलफल चलाइरहेका छन् ।

के भन्छन् बैंकर्स ?

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डे बैंकहरु आ-आफ्नो मिसन अनुसार चल्ने भएकोले मर्जरमा नहतारिएको धारणा राख्छन् । स्वभाविक रूपमा कोही ठूला र कोही साना हुने भएकोले सानाले तत्काल मर्जरमै जानु पर्छ भन्ने बाध्यता पनि नरहेको उनको तर्क छ ।

उनले बैंकको पूँजी ठूलोभन्दा पनि क्यापिटल एडुकेसी रेसियोले महत्व राख्ने बताए । ‘पूँजी ठूलो हुँदा धेरै बिजनेश गर्न त सकिन्छ तर, बैंकको रिस्कबाट हेर्ने हो भने क्यापिटल एडुकेसी रेसियो कस्तो छ, साइज कस्तो छ, ठूलो बैंक हुँदैमा सानो बैंकले काम गर्न सक्दैन भन्ने विश्वका कुनै पनि देशमा अभ्यास छैन्,’ उनले भने ।

कति रुपैयाँको व्यवसाय गर्नेलाई कति रुपैयाँ पूँजी आवश्यक हो भनेर राष्ट्र बैंकको नियममा रहेकाले सोही दायराभित्र सबै बैंकले बस्नुपर्ने उनको भनाइ छ ।

यस्तै, एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले साइज र क्यापिटलका हिसावले सबै बैंकहरु ठूला नै रहेको धारणा राखे । उनका अनुसार साना बैंकलाई भन्दा ठूला बैंकलाई अझै ठूलो हुनका लागि हतारो भएको देखिन्छ ।

‘बैंकलाई अर्गानिक ठूलो हुनका लागि ब्यापार बढाएर गाह्रो छ, त्यो भन्दा चाँडो भनेको मर्जर एक्विजिशनबाटै जाने हो, ठूला बैंकले मर्ज गर्दा १ः१ को स्वाप रेसियो दिइरहेका छन्, को सानो को ठूलो यसले पनि प्रष्ट पारेको छ, यति राम्रो प्राइस पाएर जाने हो भने ठूलो बैंकमा पनि गाभिन पाइने भयो,’ उनले भने ।

उनका अनुसार साना बैंकलाई दबाब भने स्वभाविक छ । मर्जर भएर ठूला भएका बैंकलाई पनि चुनौति रहेको उनको बुझाइ छ । ‘सबैभन्दा ठूलो चुनौति सेयरधनीलाई प्रतिफल दिनु हो, राम्रो प्रतिफल दिने हो भने सानालाई गाह्रो हुँदैन,संख्या घट्ने वित्तीकै सानालाई पनि काम गर्न सहज हुन्छ,’ उनले विकासन्युजसँग भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.