को हो काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध गर्ने गिरोह ?

  २०७९ साउन १६ गते १६:००     विकासन्युज

काठमाडौं । गत शनिबार राजधानीमा भएको एक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीबराम श्रेष्ठले फोहोर भित्रको गिरोहको कारणले काठमाडौंको फोहोरमैलाको व्यवस्थापन हुन नसेकको वक्तव्य दिए । उनले फोहोरमा ठूलो गिरोह सक्रिय रहेको भन्दै फोहोर व्यवस्थापनको विषय चुनौतिपूर्ण बन्दै गएको धारणा राखे ।

उनले मात्रै होइन निवर्तमान सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले समेत काठमाडौंको फोहोरमैलाको व्यवस्थापनमा अवरोध गर्नेलाई उच्च राजनैतिक तहबाट नै संरक्षण भएको बताउँदै आएकी थिइन् । सिसडोलका वासिन्दाले आफ्ना केही माग राख्नुपर्यो भने फोहोरको ढुवानीमा अवरोध गर्ने गरेको उनको धारणा थियो ।
यसरी बहालवाला मन्त्रीबाटै उच्च राजनीतिक व्यक्तिकै संरक्षण भएको भनेपछि आम सर्वसाधारणले यस विषयवप्रति चासो देखाएका छन् ।

को हो फोहोर व्यवस्थापनमा अवरोध गर्ने गिरोह ?

सरकारले आफुहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट सरोकार समितिले आउँदो भदौ १ गतेदेखि फोहोर फाल्न नदिने घोषणा गरेको छ । सो समितिले पत्रकार सम्मेलनमार्फत् आफ्ना मागहरु सार्वजनिक गर्दै प्रधानमन्त्री कार्यालदेखि विभिन्न सरोकारवाला मन्त्रालयहरुमा ज्ञापनपत्र बुझाउने काम गरेको छ ।

अहिले पनि विगतदेखि काठमाडौंका विभिन्न ठाउँहरुमा थुप्रिएर रहेका फोहोर उठिसकेको छैन । साथै समयमा नै नियमित रुपमा फोहोर उठ्न नसकेको विषय पनि दोहोरिरहेको छ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा देखिएको समस्यालाई एकले अर्कालाई दोषारोपण गर्ने क्रम रोकिएको छैन ।

दोषारोपणकै क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीबराम श्रेष्ठले फोहोरमैलाको गिरोह भनेर अमुक समूहलाई आरोप लगाएका छन् । ‘फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको छ, सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौं, फोहोरमैला भित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन, फोहोरमैला समाधान गर्नको लागि ठूलो कुरा होइन, ठूलो कुरा बनाइएको छ, त्यहाँ भित्रको गिरोहले,’ मन्त्री श्रेष्ठले भनेका थिए ।

काठमाडौं महानगरपालिका वातावरण तथा कृषि विभागका प्रमुख सरिता राइका अनुसार प्रत्येक वर्षको वर्षायाममा बाटोको कारणले गर्दा फोहोर बिसर्जनमा समस्या हुने गरेको छ । ‘प्रत्येक वर्ष वर्षायाममा बाटो बिग्रने र फोहोरको ढुवानीमा समस्या सिर्जना हुन्छ, साथै यो समयमा फोहोर पनि बढी उत्पादन हुने गर्दछ,’ प्रमुख राइले भनिन् ।

प्रमुख राइका अनुसारसमस्या प्राकृतिक र मानवीय ढंगले उत्पन्न भएको छ । काठमाडौंको झण्डै ४० प्रतिशत ठाउँबाट महानगरले र अन्य ठाउँबाट निजी क्षेत्रबाट सञ्चालित विभिन्न संस्थाहरुले फोहोर उठाएर बिसर्जन गर्ने स्थलसम्म पुर्याउने गर्छन् । फोहोरको क्षेत्रमा काम गर्ने संस्थाहरुले काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध नगरेको प्रमुख राई बताउँछिन् ।

‘फोहोरको क्षेत्रमा काम गरिरहेका निजी क्षेत्रका संस्थाहरुले पनि फोहोर लैजाने भनेको सरकारले नै तोकेको ठाउँमा हो, उनीहरुले आफ्नो ढंगले फोहोर उठाइरहेका छन्, यदी उठाएनन् भने महानगरले हस्तक्षेप गरेर उठाउँछ,’ प्रमुख राइले भनिन् ।

फोहोर व्यवस्थापन गर्ने स्थानसम्म पुग्नको लागि बाटो बनाउन, त्यस क्षेत्रमा पूर्वाधारहरुको निर्माण गर्न, लिचेडको सही व्यवस्थापन गर्न र फोहोरको बैज्ञानिक व्यवस्थापन जिम्मेवारी सरकारको रहेको र सो विषय पूरा हुन नसकेको उनको भनाइ छ ।

‘काठमाडौं महानगरले नै गिरोह पाल्ने काम गरेको छ’

काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध गर्ने निकायलाई काठमाडौं महानगरले वर्षौंदेखि पाल्दै आएको बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट सरोकार समितिका अध्यक्ष श्रीराम ढुंगाना बताउँछन् । मन्त्रीले कुन पक्षलाई किटान गरेर गिरोह भनेको आफुलाई थाहा नभएको तर, आफुहरुलाई भनेको भएपनि कुनै आपत्ति नहुने उनको भनाइ छ ।

‘ठिकै छ हामीलाई भनेनी केही आपत्ति छैन, त्यहाँका जनता कोहीपनि बाँच्न पर्दैन भन्ने कसैलाई लाग्छ भने त्यसले त्यही किसिमको प्रचार गर ेहुन्छ,’ उनले भने, ‘यो समस्या हल नगरेको महानगरपालिकाले गर्दा हो, त्यो शक्ति भनेको बस्ने त्यहीँ हो, उनीहरुले भनेको मान्ने भनेको मेयर र उपमेयरले हो, गिरोह बस्ने ठाउँ महानगरपालिका हो, त्यो उनीहरुले नै पालेको हुन्छ ।’

पर्यटनमन्त्री जीबराम श्रेष्ठले फोहोर व्यवस्थापनका काम गरिरहेका निजी क्षेत्रलाई लक्षित गरेर गिरोह नभनेको हुन सक्ने फोहोरमैला व्यवस्थापन संघ नेपालका अध्यक्ष ध्रुब आचार्यले विकासन्युजलाई बताए ।
उनका अनुसार निजी क्षेत्रले विगत २० वर्षदेखि काठमाडौंको फोहोर व्यवस्थापको क्षेत्रमा काम गर्दै आएकोले मन्त्रीको सो टिप्पणी आफुहरुलक्षित हुन सक्दैन ।

‘कुनै गिरोहले काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध गरेको भन्ने भनाइ सतही बुझाइ भएको उनले बताए । ‘यो सतही बुझाई हो जस्तो लाग्छ, फोहोरको क्षेत्रमा बाहिर सुनिएको जस्तो राजनीति पनि छैन,’ उनले भने ।

सबै राजनीतिक दलको नेतृत्वमा सरकार बनेको बेलामा पनि पछिल्लो १ वर्षदेखि ल्यान्डफिल्ड साइट पटक–पटक बन्द भएको र फोहोरको ढुवानीमा समस्या देखिएको उनको भनाइ छ ।

‘मुख्य कुरा ल्यान्डफिल्ड साइडमा व्यवस्थापकीय कमजोरी हो, स्थानीयहरुको पनि स्वास्थ्य, बाटो, शिक्षा लगायत धेरै कुराको माग रहेको छ,’ उनले भने ‘उठेका मागहरु सम्बोधन गरेको भए अहिले यो समस्या आउने थिएन ।’

अहिले सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो र काठमाडौं त्रिशुली जोड्ने हाइवे बिग्रेको कारणले ढुवानीमा समस्या भएको अध्यक्ष आचार्यको भनाइ छ । अहिले फोहोर व्यवस्थापनमा देखिएको समस्या तिनै तहका सरकारहरु मिलेर समाधान गर्न चाहने हो भने रातारातमै सम्भव हुने आचार्य बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.