११ वर्षमा सीआईटीका लगानीकर्ताको सम्पत्ति साढे चार गुणाले बढ्यो, १०० कित्ता हुनेले कति कमाए ?

  २०७९ साउन १५ गते १६:२५     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजारमा धेरैको चासो छ । राम्रो कम्पनी छनोट गरेर दीर्घकालमा राम्रो नाफा गर्ने ध्येय सबैमा हुन्छ । सेयर बजारको निरन्तरको आरोह–अवरोहलाई वेवास्ता गर्दै धेरैले राम्रो कम्पनी नै छनोट गरेर लगानी गर्छन् । पछिल्लो समय दोस्रो बजारमा लगानीकर्ताले रूचाएको कम्पनीमध्येको एक हो नागरिक लगानी कोष (सीआईटी) ।

वि.स २०४७ साल चैतमा स्थापना भएको नागरिक लगानी कोष सर्वसाधारणको बचत गर्ने बानीलाई प्रोत्साहन गरी आर्थिक विकासमा टेवा पुर्याउने उद्धेश्यका साथ धितोपत्र बजारको एक महत्वपूर्ण कम्पनीका रूपमा परिचित छ । हाल पूँजी बजारमा महँगो मध्येको एक कम्पनीका रूपमा रहेको छ ।

कोषले पूँजी बजार सम्बन्धी मर्चेन्ट बैंकरको रूपमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य, सेयर रजिष्ट्रारको कार्य र धितोपत्र प्रत्याभुतिको कार्य गर्दै आएको छ । पूँजीबजारलाई गतिशिल तथा प्रभावकारी बनाउनका लागि कोषले नागरिक स्टक डिलर कम्पनी लिमिटेडको स्थापना गरी कार्य संचालन गरिरहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएपश्चात् कोषले आर्थिक वर्ष २०६७/०६८ देखि हालसम्म सेयरधनीहरुलाई निरन्तर लाभांश वितरण गर्दै आएको छ । सुरूका आर्थिक वर्षमा राम्रो लाभांश वितरण गरेको भएपनि आर्थिक वर्ष २०७१/०७२ देखि कोषको लाभांश झण्डै दोब्बरले घटेको देखिन्छ ।

तर, यो ११ वर्षको अवधिमा नागरिक लगानी कोषका सेयरधनीको सम्पत्ति साढे चार गुणाले बढेको तथ्यांकले देखाउँछ । कोषको आइतबारको सेयर मूल्यलाई आधार मानेर गणना गर्दा ११ वर्षको अवधिमा सेयरधनीले ४३ लाख ७६ हजार ५५९ रुपैयाँ कमाएका हुन् । यो रकम कोषले वार्षिक रुपमा सेयरधनीलाई दिएको बोनस सेयरको आधारमा गणना गरिएको हो । यसमा नगद लाभांश गणना गर्दा कोषका सेयरधनीको सम्पत्ति झनै बढेको देखिन्छ ।

कोषले आर्थिक वर्ष २०६७÷०६८ देखि हालसम्म गरी ११ वर्ष लाभांश वितरण गरेको छ । कोषले आर्थिक बर्ष २०६७/६८ मा कोषले ३५ प्रतिशत, आर्थिक बर्ष २०६८/६९ मा ३८.८९ प्रतिशत, आर्थिक बर्ष २०६९/७० मा ५० प्रतिशत, आर्थिक बर्ष २०७०/७१ मा ३५ प्रतिशत, आर्थिक बर्ष २०७१/७२ मा कोषले २१.८५ प्रतिशत बोनस सेयर वितरण गरेको छ ।

यस्तै, आर्थिक बर्ष २०७२/७३ मा कोषले २२ प्रतिशत, आर्थिक बर्ष २०७३/७४ मा २२.०६ प्रतिशत, आर्थिक बर्ष २०७४/७५ मा २२ प्रतिशत, आर्थिक बर्ष २०७५/७६ मा २२ प्रतिशत र आर्थिक बर्ष २०७६/७७ मा ९ प्रतिशत बोनस सेयर वितरण गरेको छ । यस्तै, आर्थिक बर्ष २०७७/७८ मा ३० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

कोष नेप्सेमा सूचीकृत हुँदा एक सय कित्ता सेयर पाउने सेयरधनीले ११ वर्षको अवधिमा राम्रो कमाएको देखिएको छ । २०६७/०६८ मा एक सय कित्ता सयर हुने सेयरधनीले ३५ कित्ता सेयर बोनसका रुपमा पाएको देखिन्छ । सो सेयरधनीसँग अब १३५ कित्ता सेयर हुन आउँछ । १३५ कित्ता सेयर हुनेले आर्थिक बर्ष २०६८/६९ मा ३८.८९ प्रतिशत बोनस सेयर पाउँदा कुल १८७ सेयर संख्या हुन्छ । यसरी वर्षेनी बोनस सेयर बढ्दै जाँदा सेयरधनीको पनि सेयर संख्या बढ्दै गएको देखिन्छ ।

११ वर्ष अगाडि १०० कित्ता सेयर हुनको हालसम्म १हजार ४५३ कित्ता सेयर देखिन्छ । सो कित्तालाई आइतबारको सेयर मूल्यसँग गणना गर्दा कुल ४३ लाख बढी सम्पत्ति सो सेयरधनीसँग भएको तथ्यांकले देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.