नेपालभर एक घण्टाभित्रै सामान डेलिभरी हुने तयारी गर्दैछौं : सागर पोखरेलसँगको कुराकानी

  २०७९ साउन १५ गते १०:३९     विकासन्युज

अहिले सपिङ मार्केटमा धेरै सुनिने नाम हो ‘साथी मार्ट’ । साथी मार्ट कम्पनी मात्र नभई एउटा परिचित ब्राण्डको रुपमा स्थापित भइसकेको छ । यो ब्राण्डको उत्पादन उपभोग नगरेका नेपालीहरू सायदै कम होलान् । छोटो समयमा आम नागरिकका बीच लोकप्रिय बन्न सफल उक्त मार्ट अहिले ग्राहको रोजाइको केन्द्रमा छ । साथी मार्टले रोजगारी सिर्जना र ग्रामिण क्षेत्रका उत्पादनलाई बजारसम्म पुर्याउने कामको अगुवाई गरिरहेको छ ।

देशभर एक सय ६ वटा शाखामार्फत् सेवा दिइरहेको यस कम्पनीले एक हजार भन्दाबढी शाखा विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । ‘रिटेल इकोसिस्टम’ बनाउने अभियानमा साथी मार्टले ‘सपिङ अवार्नेश’ पनि प्रदान गरिरहेको छ । साथीमार्टले शहरमा मात्रै होइन, गाउँ गाउँमा पनि सशक्त उपस्थिती जनाइरहेको छ । कम्पनीलाई पब्लिक बनाएर सर्वसाधरणको लागि आईपीओ निस्काशन गर्ने तयारीमा पनि साथी मार्ट जुटेको छ । साथी मार्ट अब थप नयाँ व्यवासायिक योजना, कम्पनीको काम, उत्पादन गर्ने सामान लगायतका विषयमा साथी मार्टका सञ्चालक सागर पोखरेलसँग विकासन्युजका लागि राजिव न्यौपान र महेश कुमार पौडेलले कुराकानी गरेका छन् ।

साथी मार्ट खोल्ने योजना तपाईंमा कसरी आयो, ‘साथी मार्ट’ नाम कसरी जुर्यो ?

विगत एक दशकदेखि विभिन्न व्यवसायिक क्षेत्रमा जोडिएर काम गरिरहेको थिएँ । व्यवसायिक यात्राको क्रममा अगाडि बढ्दै गर्दा पहिलादेखि नै आफ्नो लागि मात्र नभएर समग्र युवाहरू र स्थानीय उत्पादनको लागि बजारमा नयाँ तथा ठूलो स्केलमा काम गरौं भन्ने सोच थियो । तर, कसरी अगाडि बढ्ने प्लेटफर्म चाहिँ बनेको थिएन । त्यसमा रिटेल एउटा यस्तो सेक्टर हो, जसमा जुनसुकै वर्गको व्यक्तिहरू तथा व्यवसायलाई जोडेर अगाडि बढ्न सक्ने स्थिति भएको कारण हामीले रिटेल ओटुओ प्लेटफर्म नै हुनसक्छ भन्ने हिसाबले साथी मार्टको परिकल्पना गरेका हौं ।

साथी मार्ट सुरु गर्नुभन्दा अगाडि ट्रायलमा ‘सफल साथी’ भन्ने कम्पनी चलाएका थियौं । सफल साथी एक हिसाबले त्यो बेला ब्राण्ड भइसकेको थियो । त्यसका ४ं/५ वटा शाखा पनि थिए । त्यो दुई नामबाट एउटा कम्पनीको स्थापना गरौं भन्ने योजना बन्यो । त्यसबाट साथी नामले प्राथमिकता पायो । र, २०७७ साल भदौमा साथी मार्ट एन्ड कर्पोरेट प्रालि दर्ता गर्यौं । पहिलेको सफल साथी ‘साथी मार्ट’ मा परिणत भयो । त्यो बेला कोभिडको संक्रमणदर बढ्दो रूपमा थियो । कोभिडको बेला ठूला–ठूला उद्योग बन्द भइरहेको अवस्थामा सो समयबाट नै हामीले व्यपार सुरु गर्याें ।

यो मेरो १४/१५ वर्षको अनुभवको कम्बाईन भेन्चर हो । प्रडक्ट, मार्केटिङ, रिटेल, निर्यात सबै एकै ठाउँमा हुन्छ । गाउँ गाउँमा मार्ट पुर्याएका छौं । लमजुङ होस् कि सुर्खेत, जिरी होस् की रुकुम, हामी देशैभर पुगेका छौं । हाम्रो बिजनेस मोडलमा अफलाइन स्टोर तथा अनलाइन सपिङहरू छन् ।

नेपाली युवाहरूलाई प्लेटफर्म बनाउन साथी स्टार्टअप पनि भनेर लन्च गरेका छौं । विभिन्न उत्पादनलाई राष्ट्रिय बजारमा निर्यात तथा स्वदेशी प्रडक्टलाई प्रोडक्सन गर्नको लागि साथी प्रडक्सनको उद्योग पनि सञ्चालनमा ल्याएका छौं । जसबाट उत्पादनको कामहरू हुन्छ । साथी एक्सप्रेसले लोजिस्टिकको काम गर्छ । यसरी ५/६ वटा बिजनेस मोडल भित्र खुद्रा बिक्री सिस्टम बनाऔं भन्ने उद्देश्यले साथी मार्ट सुरु भयो ।

साथी मार्टको सुरुको कति लगानी हो ?

हामीले ३/४ करोड रुपैयाँको लगानीबाट काम सुरु गर्ने भनेर योजना बनाएका थियौं । हाम्रो बिजनेस मोडलको कारणले गर्दा नेपाल भर मार्टको शाखा छिटो विस्तार हुन गयो, माग पनि धेरै आयो । सोही अनुसार पूर्वाधारको तयारी, सामानको उपलब्ध र यातायात आदिको व्यवस्थापन गर्नुपर्ने भएकाले लगानी बढ्दो क्रम नै रह्यो । अहिले हामी २६ करोड रुपैयाँको चुक्ता पुँजीमा चलिरहेका छौं ।

पछिल्लो समय साथी मार्ट आम नागरिकका बिचमा लोकप्रिय बनिरहेको छ, लोकप्रिय बन्नु पछाडिको कारण के हो ?

अहिले हामीले साथी मार्टका स–साना स्टोर देश भरी नै पुर्याएका छौं । उपत्यका भित्र हरेक कुरामा प्रतिस्पर्धा धेरै छ । नेपालभर कार्यक्षेत्र भएको एकमात्र साथी मार्ट छ । टिम, टेक्नोलोजी र प्रोसेस (टीटीपी) हाम्रो फर्मुला नै छ । जस अन्तर्गत सबैभन्दा राम्रो मध्ये एक रिटेलको टिम छ । त्यसमा प्रयोगकर्तामैत्री टेक्नोलोजीदेखि मोबाइल एपबाट प्रडक्ट अडर गर्ने सिस्टमहरू उपलब्ध छन् ।

ग्राहकहरूलाई हामीसँग जोड्नको लागि रोयल्टी कार्डको पनि व्यवस्था गरेका छौं । जसबाट निकटतम् रेस्टुरेन्ट, कलेज, स्वास्थ्यचौकी आदी ठाउँमा डिस्काउन्ट पनि पाइन्छ । हामीले समुदायमा आधारित व्यापार गरेका छौं । जसमा देशभरका फ्रेन्चाइज, युवा, कृषक तथा उत्पादकलाई यस प्लेटफर्म जोड्यौं । यो समुदायमा आधारित बिजनेस भएको कारणले आम नागरिकका बिचमा लोकप्रिय बन्न पुग्यौं जस्तो हामीलाई लाग्छ । हामीले दिएको सेवाका कारण पनि लोकप्रिय बनेको हुन सक्छ ।

साथी मार्टको व्यापार विस्तार कस्तो छ, शाखा कति पुगे ?

हाम्रो बिजनेस मोडल अनुसार ओटुओ प्लेटफर्म मार्फत् नेपालभर एक घण्टाभित्र डेलिभरी दिने भन्ने हाम्रो सपना हो । त्यसको लागि साथी मार्टको स्टोर नेपालभर नै चाहिन्छ । त्यो सपना पुरा गर्नको लागि अहिले हामीले विभिन्न गृहकार्य गरिरहेका छौं । हरेक मुख्य शहर, पालिकाहरूमा पनि हाम्रो अनुभव एक दमै राम्रो छ । साथी मार्टको पहिलो फ्रेन्चाइज बौद्धमा खुल्यो । अहिले काठमाडौंमा मात्रै २२ वटा मार्ट सञ्चालनमा छन् ।

काठमाडौंमा धेरै कम्पनीहरूको टार्गेट छ । हामी काठमाडौंमा मात्र सीमित रहनुहुँदैन भनेर उपत्यका बाहिर पनि शाखाको विस्तार गर्ने सोच बनायौं । त्यसपछि बिस्तारै काठमाडौं बाहिर फैलिन थाल्यो । अहिले काठमाडौंको भन्दा राम्रो व्यापार बाहिर छ । मेजर सिटीमा भन्दा सानो सिटीमा व्यपार राम्रो छ । अहिले झापा, मोरङ, सुनसरी, महोत्तरी, धनुषा, बाँके, पर्वत, कास्की, रुपन्देही, बझाङ, मकवानपुर, अर्घाखाँची, बारा, नवलपुर, दोलखा, दार्चुला, कैलाली, लमजुङ धादिङ, गुल्मी, कपिलवस्तु, उदयपुर, सुर्खेत, बाग्लुङ, सल्यान, दाङ, पर्सा, रौतहट आदि ठाउँमा साथी मार्ट खुलिसकेको छ ।

अहिले नेपाल भर साथी मार्टका १०६ वटा शाखा छन् । साथी मार्टका एक हजार शाखा विस्तार गर्ने लक्ष्य हाम्रो हो । त्यो सपना पुरा गर्नको लागि दिन रात केही नभनी हाम्रो सहकर्मी साथीहरू पनि लागि राख्नु भएको छ । स–साना सिटीमा पनि साथी मार्ट पुगोस् र, सुविधा सम्पन्न किनमेलको अनुभव ग्राहकोले गरुन् भन्ने हाम्रो सोच हो ।

साथी मार्टमा के–कस्ता सामानहरू पाइन्छन् ?

साथी मार्टमा दैनिक उपभोग्य सामान किन्न पाइन्छ । मार्टमा फुड, नन् फुड, डेरी, बेकरी, पिय पदार्थ लगायतका समानहरू पाइन्छ । र, कतिपय साथी मार्टको आउट लेटमा कपडा, इलेक्ट्रोनिक्स सामानहरू पनि पाइन्छ । तर, हामीले यसलाई श्रेणी बनाएर छुट्याइ रहेका छौं । सपिङको लागि एक्सप्रेस मोडेल, सुपर र हाइपर मार्केट गरी ३ वटा मोडलमा जाँदै छौं । साथी मार्टको एक्सप्रेसमा यो प्रडक्ट पाउँछ भन्ने कुरा त्यहाँ हुन्छ । र, हाइपर मार्केटमा घरायसी सम्पूर्ण समानहरू उपलब्ध गराउने प्रयास छ ।

२०७७ सालदेखि व्यवासायिक रूपमा सञ्चालनमा आएको साथी मार्ट थप नयाँ व्यवासायिक योजना कसरी अगाडि बढिरहेको छ ?

साथी मार्टका भावी योजनाहरू धेरै छन् । हामी आफैले विभिन्न ६ वटा मोडलहरू सञ्चालन गरिरहेका छौं । आगामी दिनमा रिटेललाई अझै बढी विस्तार गर्दै व्यवस्थित बनाउँदै अगाडि बढ्ने सोचमा छौं । हाम्रो सामानहरू अडर गरेको दिनै नेपाल भर डेलिभरी गर्ने योजना बनाएका छौं । सो काम ३५ वटा सिटी भित्र पहिला गर्ने भनेर प्लान भइरहेको छ । ३५ वटा सिटीमा साथी मार्टले डेलिभरी गर्न थालेपछि नेपालको दोस्रो ठूलो ई–कमर्स कम्पनीको रूपमा हामी आउने छौं ।

त्यसपछि ‘साथी एक्सप्रेस’ भनेर आफ्नै लोजिस्टिक सर्भिस कस्टुमरलाई सहज होस् भनेर लन्च गरिरहेका छौं । फुड र नन् फुड सेग्मेन्टमा २ सय भन्दा बढी प्रडक्ट हामी आफैले उत्पादन गरेर निर्यात गर्ने प्रयासमा छौं । अहिले पनि कतिपय प्रडक्टहरूको उत्पादन गरी बिक्री वितरण पनि गरिरहेका छौं । हाम्रो ६ वटा बिजनेस मोडललाई पुनः रूपमा बजारमा लिएर आउन अहिले सबै ठाउँमा सकिरहेका छैनौं । तर, अब सो मोडलहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउँदै छौं ।

हामीले नेपालमा रिटेल इकोसिस्टमको सपना देखेर साथी मार्टको सुरु गर्यौं । अब साथी मार्ट २.० लन्च हुदैछ । यसमा नेपालको रिटेल इतिहासमा केही नयाँ देख्न पाइन्छ । त्यस भित्र सम्पूर्ण सेग्मेन्टलाई समेट्ने योजनामा छौं । त्यसमा ७ देखि ८ वटासम्म सिस्टर कम्पनीहरू बन्छन् । यही महिनादेखि साथी पार्टनरस् लिमिटेड भनेर पब्लिक कम्पनी पनि खोल्यौं । जुन साथी मार्टको होल्डीङ कम्पनी हो ।

एक सय फार्मासिटिकल चेन बनाइरहेका छौं । फार्मेसी सुपर मार्केट नेपालमा पहिलो पटक लन्च गर्ने सोचमा छौं । मःमको ब्रान्ड गर्ने मःमको चेन बनाउदैछौं । यो सबै चिजलाई जोडेर ‘उत्पादनदेखि रिटेलसम्म कृषिदेखि कमर्ससम्म’ भन्ने नारा सहित २.० लन्च गर्न गइरहेका छौं । साथी मार्टले गरेको कमि कमजोरीलाई सच्याउँदै हाम्रो स्टेक होल्डर सल्लाह सुझावहरुलाई पछ्याउँदै साथी मार्ट २.० ले सप्लाई चेन म्यानेज गर्ने छ । अबको ३ महिना भित्रमा साथी मार्ट २.० लन्च गर्छौं ।

साथी मार्ट अब एउटा ब्रान्ड भइसकेको छ, सर्वसाधारणलाई पनि यो हिस्सेदार बनाउने केही योजना छ कि ?

साथी मार्टको एउटै भिजन ‘इनपावर अदर्स’ हो । पहिलेदेखि नै एक जनामा मात्र सीमित रहनु हुँदैन भनेर हामीले हाम्रो फ्रेन्चाइज पार्टनरहरुलाई समेट्ने केशिस गर्यौं । साथी मार्टसँग जोडिएर केही नयाँ काम गरौं भनेर युवाहरूलाई पनि समेटेका छौं । केही प्रमोटर सेयर पनि बजारमा प्रोभाइट गर्याैं । उहाँहरूले हामीलाई सपोर्ट गर्नु भयो । र, आगामी दिनमा साथी मार्टलाई पब्लिक कम्पनी बनाएर आईपीओ निष्कासन गर्ने योजना बनाएका छौं । यसको तयारी हामी जुटेका छौं । त्यसलाई प्रिमियममा जाने भनेर आईपीओ निष्कासनमा ढिलाइ भएको हो ।

कम्पनीलाई अझै स्टेबल बनाएर तथा राम्रो पफर्मेन्स देखाएर मात्रै आईपीओमा जान्छौं । २ वर्ष भित्रमा हाम्रो कम्पनीलाई पब्लिक बनाउने लक्ष्य हो । त्यसपछि सर्वसाधारणको लागि आईपीओ निकाल्ने सोच छ । हाम्रो एउटा लक्ष्य भनेको त्यहाँसम्म पुग्दा साथी मार्टको कम्तीमा ५ सयभन्दा बढी शाखा र नेपालको नम्बर वान पर्चिङ, सेल्स गर्ने क्षमता भएको र देशैभर छरिएको ओटुओ एउटा राम्रो रिटेल चेन बनाउने छौं । त्यो भएपछि हामी आईपीओ निष्कासन गर्छाैं ।

साथी मार्टमाबाट कति जनाले रोजगारी पाएका छन् ?

यस मार्टका १०६ वटा शाखा छन् । जसमा २ टिम गरेर सेन्ट्रल अफिसमा चलाइरहेका छौं । सो अफिसमा प्रत्यक्ष रूपमा करिब १ सय ४० जनाको टिम सहयोगीहरू छन् । यो टिमले साथी मार्टको फरक–फरक १३/१४ वटा डिपार्टमेन्टलाई नेतृत्व गरिराखेको छ । प्रत्यक्ष रूपमा हाम्रो कम्पनीबाट ९ सय भन्दा बढीले रोजगारी पाइरहेका छन् । हामीलाई विभिन्न स्वदेशी उत्पादनहरू सप्लाई गर्नेहरूदेखि लिएर अप्रत्यक्ष रूपमा हामीसँग १० हजार मानिसहरू जोडिएका छन् ।

मार्टले स्वदेशमा उत्पादन भएका वस्तुलाई ब्राण्ड गर्दै आएको छ, सोही अनुरूप सामान पनि बिक्री पनि गरिरहेको छ, अब विदेशमा पनि यो मार्ट खोल्ने योजनामा छकि छैन ?

विदेशमा यस मार्टका शाखा विस्तार गर्न पाउनु राम्रो कुरा हो । तर, सरकारको नीतिले केही समस्या हुन्छ । सरकारको नीतिकै कारण विदेशमा गएर लगानी गर्न मिल्दैन । म पनि यसलाई एउटा दुर्भाग्यको रूपमा लिन्छु । धेरै व्यवसायीहरूले व्यवसाय भनेरै जीवनभर लाग्नु भयो । भारत र चीनमा विश्वको आधा जनसंख्या बस्छ । त्यहाँ आधा मार्केट छ । तर, भारत र चीनमा गएर अफिस खोल्छु र त्यहाँबाट नेपाल पैसा लिएर आउँछु भन्दा पनि नेपालको कानुन अनुसार पाइँदैन । व्यक्तिले धानको बिउ लिएर जान्छ भन्ने चिन्ता सरकारलाई छ । त्यहाँबाट त्यो धानको बिउले हजारौं धानको बिउ फलाएर फेरि नेपालमा नै रिटन हुन्छ भन्ने कुरा छैन । त्यस कारणले ब्रान्च प्रत्यक्ष रूपमा लानको लागि कठिनाइ छ । तर, हामी ग्लोबल जानुपर्छ भनेर लागिरहेका छौं । सरकारले नीतिगत व्यवस्था गरेमा हामी विदेशमा पनि शाखा खोल्न तयार छौं ।

व्यवसायिक यात्राको क्रममा आएका चुनौति तथा अवसरहरू के–कस्ता छन् ?

नेपाल अवसर नै अवसरको देश हो । यहाँ धेरै नयाँ काम भएकै छैन । यसलाई भर्जिन ल्यान्ड भनौं । जहाँ जे गरे पनि नयाँ हुन्छ । जुनसुकै क्षेत्रमा पनि फरक किसिमले अगाडि बढ्छु भन्दा नम्बर वानको स्थानमा पुग्न खासै गाह्रो हुँदैन । यहाँ चुनौतिहरू त धेरै छन् । चुनौतीहरू हेर्न थाल्यो भने सायद युवाहरू बिदेसिँदैन थिए होला । नेपालको नीति नियम, कानुनदेखि लिएर काम गर्ने वातावरण हेर्दा त्यति राम्रो छैन । हामीले गुनासो गर्ने होइन, त्यसको समाधान गर्ने उपाय खोज्ने हो । गुनासो भित्रै अवसरहरू भेट्ने हो । म चाहिँ ब्याक टु ब्याक स्टार्टअप गर्दै जान्छु भन्ने सोचमा छु । डिजिटल हेल्थ केयरको कार्यक्रम पनि गर्दैछौं । ७÷८ वटा प्रोजेक्ट अझै पनि हाम्रो पाइपलाइनमा छ । मलाइ लाग्छ डेढ वर्ष भित्रमा ८ देखि ९ वटासम्म ठूलो स्टार्टअपहरू आफ्नो लगानी तथा रिक्समा कसैको सपोर्ट बिना सञ्चालन गर्ने सोच बनाएका छौं । हामी मार्केटमा देखिएका समस्यालाई समाधान गर्नको लागि रहने छौं ।

साथी मार्टबाट सामान खरिद गर्दा ग्राहकले के–कस्ता छुट पाउँछन् ?

साथी मार्टले अहिले विभिन्न क्याम्पियन गरिरहेको छ । अहिले पनि क्याम्पियनमा छुट पाउनको लागि दशैं तिहार वा कुनै चाड पर्व नै पर्खिराख्नु पर्ने अवस्था छैन । हामीले हरेक शुक्रवार सस्तो शुक्रवार भनेर क्याम्पिङ चलाइरहेका छौं । जसमा १० प्रतिशतसम्म छुट लिमिटेड आउटलेटबाट प्रोभाइड गर्छाैं । साथी मार्टको अहिले लोयल्टी कार्ड छ । त्यो कार्ड लिएपछि साथी मार्ट भित्र सामान किन्दा ५ प्रतिशतसम्म छुट पाइन्छ ।

साथी मार्टमा अहिले दैनिक कति ग्राहकहरु आउँछन् ?

अहिले साथी मार्ट भिजिट गर्न आउने ग्रहको संख्या दैनिक बढ्दो छ । पछिल्लो समय दैनिक मार्ट भिजिट गर्न आउने संख्या २३ हजार भन्दा बढी पाएका छौं । २३ हजार ग्राहकको हाम्रो प्लेटफर्मबाट सपिङ गरी राख्नु भएको छ । यो अफलाइनमा मात्र हो । अनलाइनका भिजिटर पनि धेरै छन् । भिजिट गरेर सामान नकिन्नेको संख्या पनि होला । नेपाल भर अफलाइन र अनलाइन गरी ३० हजारले प्रति दिन हाम्रो मार्टको भिजिट गर्छन् ।

साथी मार्टहरू आफ्नै भवन छ की छैन ? आफ्नै भवनहरुमा मार्टहरु सञ्चालनमा ल्याउने योजना के छ ?

यसको लागि समय आउँदै छ । कम्पनीको कर्पोरेट हाउस होस् भन्ने चाहना सबैको हुन्छ । अहिले हामी एसेप्ट लाइट मोडलमा गइरहेका छौं । चालु आर्थिक वर्ष भित्रमा कम्पनीले जग्गाको खरिद गर्ने सोच बनाएका छौं । जस्तो विभिन्न प्रदेशमा जग्गा लिएर वायर हाउसहरू निर्माण गर्ने जसले गर्दा सप्लाई चेनहरू स्ट्रङ हुन्छ । अर्काे आर्थिक वर्ष भित्र आफ्नै भवनबाट चाहिँ बनाउछौं । यो वर्ष हामी जग्गाको खरिद गर्छौं ।

साथी मार्टको आगामी दिनको व्यवसायिक यात्रा कस्तो हुन्छ ?

साथी मार्ट अब एग्रेसिभ एक्सपान्सनमा जानछ । पहिले हामीले विभिन्न ठाउँमा शाखाहरू खोल्यौं । कति ठाउँ ठिक थिए कति थिएनन् होला । अब चाहिँ व्यवस्थित तरिकाले राम्रो ठाउँ र अध्ययन गरेर भिजन बनाए मात्र शाखा विस्तार गर्नेछौं । तर, हाम्रो स्पिड अझै बढ्न सक्छ । नेपालको अहिलेको आर्थिक स्थिति त्यति राम्रो छैन, बैंकमा तरलताको अभाव छ, सेयर मार्केट घटेको छ, जग्गाको कारोबार छैन । हाम्रो क्षेत्रमा लगानी धेरै हुन्छ । एउटै आउट प्लेटमा अराउन्ड ३० लाखदेखि ३ करोड रुपैयाँसम्मको लगानी आउँछ । त्यसमा अलिकति चुनौति छ । हामीले चुनौति हुँदाहुँदै पनि निरन्तर रूपमा आफ्नो स्रोतको प्रयोग गरेर भविष्य हेरेर अगाडि बढ्ने छौं ।

साथी मार्टको मासिक कारोबार र आम्दानी कस्तो छ ?

हाम्रो प्लेटफर्मको वार्षिक कारोबार ५० करोड रुपैयाँभन्दा बढी छ । अहिले हामीले बढी मात्रामा शाखा विस्तार गरिरहेको कारण अझै डेढ वर्ष त्यस्तो धेरै नाफाको आशा गरेका छैनौं । अहिले हामी लगानी कै क्रममा छौं । जति व्यापारबाट नाफा भयो त्यो बिजनेसमा नै लगानी गर्छौं । नयाँ लगानी गर्दा पनि आफ्नै स्रोतबाट लगानी थप्दै अगाडि बढिरहेका छौं । नाफामा हामी आगामी आर्थिक वर्षबाट अलिक बढी फोकस हुन्छौं ।

अन्त्यमा ग्राहकले साथी मार्टलाई किन रोज्ने ?

सार्थ मार्ट जहाँ पनि छ । मेरो पहाडको घरको छेउमा पनि साथी मार्ट छ । काठमाडौं आए भने पनि साथी मार्ट छ । त्यसका लोएल्टी कार्डहरू छन् । जसले गर्दा जीवन भर सपिङमा छुट पाइन्छ भने सपिङ गर्दा पोइन्ट्हरु बढाउन सकिन्छ । त्यसबाट मैले गिफ्ट ह्यापरहरु पाउन सक्छु । नेपाली युवा गरेको स्टार्टअप भएकाले सपोर्ट गर्नु पर्याे । नेपालमा धेरै किराना पसलहरू छन् । जसले सरकारलाई ठूला् घाटा भएको छ । त्यहाँ करको छली हुन्छ, भ्याट बिल बाइँदैन, साथी मार्टले बिल बनाएर सामान दिन्छ । ग्राहकले यस मार्टमा पुगेर ठगिएँ भनेर सोच्नु पर्दैन । अब बिस्तारै किरानाहरूलाई रिप्लेस गरेर मोर्डन ट्रेण्डलाई सपोर्ट गर्नुपर्छ भन्ने लाग्छ । यसले राज्यलाई योगदान दिन्छ, युवालाई यहीँ केही गर्न प्रेरणा मिल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.