बैंक मर्जरको विषय सेलायो, छुट पाउन मंसिरभित्रै एकिकृत कारोबार गर्ने तयारीमा यी ६ बैंक

  २०७९ साउन १३ गते १९:२४     विकासन्युज

काठमाडौं । २०७७ साल असारमा नेपाल राष्ट्र बैंकका तत्कालिन गभर्नर चिरञ्जिवी नेपालले सबै बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र कार्यकारी प्रमुखहरुलाई भेला गरेर एउटा निर्देशन दिए, ‘सात दिनभित्र मर्जरको लागि पार्टनर खोज्नु ।’

उनले त्यसपछि मौद्रिक नीतिमार्फत् पनि पुँजी वृद्धिको नीति ल्याए । उनको चाहना थियो अहिलेका बैंकहरु सकेसम्म थोरै होउन् । डा. नेपालको इच्छा बैंकहरुको संख्या घटाएर १०/१२ वटामा झार्नु थियो ।

बैंकहरुको संख्या धेरै हुँदा विभिन्न किसिमका समस्याहरु देखिएको र वित्तीय क्षेत्रमा स्थायित्व कायम हुन नसकेको भन्दै बैंकहरुबीच मर्जर आवश्यक रहेको धारणा उनी विभिन्न सार्वजनिक कार्यक्रममा राख्थे । सो समयमा २८ वटा वाणिज्य बैंक थिए । सो संख्यालाई घटाएर १०/१२ वटामा मात्रै झार्नु निकै महत्वांक्षी योजना नै थियो ।

सोही समयमा ग्लोबल आईएमई बैंक र जनता बैंकबीच मर्जर भयो । सो मर्जरलाई बैंकिङ क्षेत्रको एक ‘बिग मर्जर’का रुपमा लिइयो । वाणिज्य बैंकहरुमा सबैभन्दा ठूलो बैंक ग्लोबल बन्ने भनेपछि अब बैंकहरुमा मर्जरको लहर आउने अनुमान धेरैको थियो । तर, त्यो अनुमान त्यतिखेर अनुमानमै सीमित बन्यो ।

डा. नेपालको मर्जरको नीतिलाई बैंकहरुले खासै चासोका रुपमा लिएनन् । केही वर्ष मर्जरको विषय सेलायो । डा.नेपालपछि राष्ट्र बैंकको नेतृत्व सम्हाल्न आइपुगे महाप्रसाद अधिकारी ।

अधिकारी आएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जर सम्बन्धि एउटा अध्यनन पनि गर्यो । सो अध्ययनले नेपालमा वाणिज्य बैंकको संख्या न्यूनतम १२ देखि अधिकतम् १५ वटा मात्रै हुनु राम्रो भएको निष्कर्श निकाल्यो ।

सो अध्ययनपछि गभर्नर अधिकारी पनि बैंकहरुका सञ्चालक र सीईओहरुलाई राष्ट्र बैंक बोलाएर मर्जरको दबाब दिन थाले । फोर्स मर्जर नभनेपनि उनले क्रस होल्डिङ भएका बैंकहरुलाई बोलाएर मर्जरको लागि निरन्तर बहस गर्न थाले ।

उनले बैंक तथा वित्तीय संस्था मर्जरमा जाउन् भन्नैका लागि विभिन्न सुविधा तथा छुट पनि ल्याए । सुविधापछि पनि बैंकहरुले खासै चासो देखाएको देखिएन । राष्ट्र बैंकले मर्जरमा दिएको सुविधाको पनि निश्चित समय तोकेपछि भने बैंकहरु मर्जरमा जान हतारिए ।

नेपाल राष्ट्र बैंकले जेठ अन्तिम सातातिर बैंकका सञ्चालक तथा सीईओहरुलाई बोलाएर असारपछि मर्जरमा पाइने छुट तथा सुविधा कटौति गर्ने बताएपछि बैंकहरुलाई मर्जरमा जान हतारो भयो । र, धमाधम मन मिल्ने बैंकहरुसँग मर्जरको छलफल चलाउन व्यस्त भए ।

नभन्दै वर्षौं वर्षदेखि हुन नसकेको मर्जर आधा दर्जन बैंकहरुबीच एक/दुई महिनाको समयमै सम्भव बन्यो । विगतमा लामो समयसम्म छलफल तथा बहस भए पनि बैंकहरुबीच नटुङ्गिने मर्जर तथा एक्विजिसन छुट सुविधाको सीमा तोकेपछि हतार–हतारमा धेरै बैंकहरुबीच मर्जर सम्झौता भयो भने अधिकांशले मर्जरको छलफल चलाए ।

छोटो अवधिमा नबिल र नेपाल बंगलादेश बैंक (जसको एकिकृत कारोबार सुरु भइसकेको छ), नेपाल इन्भेष्टमेन्ट–मेगा बैंक, ग्लोबल आईएमई–बैंक अफ काठमाण्डू र हिमालयन–सिभिल बैंकबीच मर्जरको सम्झौता भयो ।

यससँगै अन्य आधा दर्जन बढी बैंकहरुबीच पनि मर्जरको सघन छलफल भयो । तर, ती बैंकहरुले भने मर्जरका लागि अन्तिम रुप दिन सकेनन् । यस बीचमा प्रभु, कुमारी, सनराइज, माछापुच्छ«े, सेञ्चुरी कमर्सियल, सिटिजन्स इन्टरनेशनल, एनसीसी, सिद्धार्थ लगायत बैंकहरु मर्जरबीच मर्जरका लागि छलफल भयो ।

तर, नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएसँगै ती बैंकहरुबीच मर्जरको विषय सेलाएको छ । यसले पनि बैंकहरुलाई मर्जरको आवश्यकताभन्दा पनि नाफाकै लागि र राष्ट्र बैंकको सुविधा पाउनकै लागि मात्रै मर्जरमा सामले हुने गरेको बुझाइ धेरैको छ ।

उसो त नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमार्फत् वाणिज्य बैंक र लघुवित्तहरुको मर्जको लागि पुस मसान्तसम्म समय दिएको छ । २०७९ पुस मसान्तपछि मर्ज हुनेहरुलाई राष्ट्र बैंकले दिँदै आएको सुविधा रोक्ने घोषणा गरिसकेको छ ।

‘वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा आफ्नै वर्गभित्र गाभिई वा प्राप्तिमा गई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा मात्र यस बैंकबाट प्रदान हुँदै आएको मर्जर तथा प्राप्तिसम्बन्धी छुट तथा सुविधा उपलब्ध हुने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीतिमा भनिएको छ ।

राष्ट्र बैंकले पुस मसान्तसम्म एकिकृत कारोबार गर्ने बैंकलाई मात्रै छुट सुविधा दिने घोषणापछि मर्जरको सम्झौता गरेका बैंकहरुपनि छिट्टै नै एकिकृत कारेबार गर्ने तयारीका साथ अगाडि बढेका छन् ।

मर्जर सम्झौता गरेको नेपाल इन्भेष्टमेन्छ–मेगा, ग्लोबल आईएमई–बैंक अफ काठमाण्डू र हिमालयन–सिभिल बैंक सकेसम्म मंसिरमा र ढिलै भए पुसभित्रै एकिकृत कारोबार गर्ने तयारीमा छन् ।

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले भदौ/असोजभित्र मर्जरको सबै काम सकेर एकिकृत कारोबार गर्ने योजना बनाएका छन् । ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूले पनि दशैं आसपासमा एकिकृत कारोबार गर्ने तयारी गरिरहेको बुझिएको छ ।

अन्तिममा मर्जर सम्झौता गरेको हिमालयन र सिभिल बैंकबीच पनि सकेसम्म मंसिर र नभए पुसभित्रै एकिकृत कारोबार हुने किसिमले काम भइरहेको बैंक स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.