चक्रवर्ती ल कलेजका विद्यार्थीले शुल्क फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने

  २०७९ साउन १३ गते १६:३५     विकासन्युज

काठमाडौं । चक्रवर्ती ल कलेजका विद्यार्थी संगठनले बढाइएको शुल्क फिर्ता नलिएसम्म आन्दोलनका कार्यक्रमहरु यथावत रहने घोषणा गरेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले विद्यार्थीहरुले उठाएका माग अनुरुप अनुचित रुपमा बढाइएको शुल्क फिर्ता नलिएसम्म आन्दोलनका कार्यक्रमहरु यथावत रहने घोषणा गरेको हो ।

विद्यार्थी संगठनले निजि कलेज संचालक र प्रहरी प्रशासनको सेटिङमा माफिया पोस्न उद्दत रहेका र विद्यार्थीलाई आक्रमण गर्ने प्रहरी अधिकारीलाई कारवाही गर्न समेत गृहप्रशासन समक्ष माग गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेविसंघ चक्रवर्ती कलेजका नेता पवन आचार्यले विद्यार्थीका जायज माग राखेर शान्तिपुर्ण आन्दोलनको क्रममा कलेजका सेक्युरीटिले धकेलेको बताए । सामान्य विवाद हुँदै गर्दा प्रशासनले प्रहरी भित्राएर लाठी चार्ज गर्दा केही साथीहरु घाइते भएको बताए । उनीहरुको अहिले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

त्यस्तै, विद्यार्थी नेता सुवास रेग्मीले विद्यार्थीको हकहितको लागि भएको आन्दोलनलाई लिएर कलेजको पठनपाठन बन्द गर्नु खेदजनक भएको बताए ।

विद्यार्थीहरुको जायज माग राख्ने क्रममा प्रहरीको आक्रमणबाट नेपाल विद्यार्थी संघ चक्रवर्ती ल कलेजका अध्यक्ष अभिनव सिंह राठौर,विद्यार्थी नेता सफल कटुवाल घाइते भएका थिए भने अखिल क्रान्तिकारीका इकाई सचिब दिर्घ रोकायमाथि अङ्गभङ्ग हुने गरि आक्रमण गरिएको उनीहरुले आरोप लगाएका छन् ।

नेविसंघ चक्रवर्ती कलेजका सचिव द्वोय राजेन्द्र रोकाया र सुरज रेग्मीलाई प्रहरीले हिरासतमा लिएको थियो ।

मापदण्ड पालना नगरी कलेजले नयाँ शैक्षिक सत्रमा बिएएलएलबी मा शुल्क ७ लाख ९६ हजार ४०० रुपैयाँबाट १० लाख ७० हजार रुपैयाँ र एलएलमको ३ लाख २३ हजार रुपैयाँबाट ५ लाख ४८ हजार रुपैयाँ निर्धारण गरेको भन्दै विद्यार्थीहरुले विरोध गर्दै आएका थिए ।

कलेज प्रशासनले अनुचित रुपमा शुल्क बढाएपछि संयुक्त विद्यार्थी सङ्गगठनका तर्फबाट चरणबद्ध रुपमा समय–समयमा ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराउनेदेखि लिएर, पहिलोपटक गत साउन ८ गते र सम्बोधन नभएपछि दोस्रो पटक साउन ९ गते ताला लगाएको थियो ।

तर, कलेज प्रशासनले गत साउन १० गते एकतर्फी रुपमा ताला खोलेपछि विद्यार्थीहरु थप आन्दोलित भएका थिए । विद्यार्थी संगठनले आन्दोलनलाई देखाएर दैनिक पठनपाठन नरोकि सहज रुपमा सुचारु गर्न समेत कलेज प्रशासनलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.