स्वास्थ्य बीमा फेल भएको होइन, सफलतातर्फ उन्मुख छ

  २०७९ साउन १३ गते १०:५७     डा. दामोदर बसौला

आर्थिक वर्ष (आव) ०७२/०७३ को चैत २५ गते कैलाली जिल्लाबाट नेपालमा स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात भएको हो । अहिले ०७८/७९ सम्म आउँदा स्वास्थ्य बीमाले ठुलो फड्को मारेको छ । स्वास्थ्य बीमाको विकास तथा सफलताको विषयलाई यसको कार्यक्रम, क्षेत्र, संख्या र प्रभावकारिताबाट सजिलैसँग मापन गर्न सकिन्छ ।

स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ वटा जिल्लाको ७ सय ४६ स्थानीय तहमा लागु भएको छ । जसमा ४ सय ५० वटा प्राथमिक स्वास्थ्य केन्द, आधारभूत अस्पताल, प्रादेशिक अस्पताल, संघीय अस्पताल, स्वास्थ्य बिज्ञान प्रतिष्ठान, मेडिकल कलेज र निजी अस्पतालहरुमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका छन् । अहिलेसम्म १७ लाख ४३ हजार ४७ घरपरिवार र ५६ लाख भन्दा धेरै नेपाली नागरिक सो कार्यक्रममा आवद्ध भएका छन् ।

बोर्डले दाबी भूक्तानी नगरेको सत्य होइन

दैनिक स्वास्थ्य उपचार गर्नेहरुमध्ये औसत रुपमा २५ देखि ३० हजार जनाले स्वास्थ्य बीमाको दाबी भुक्तानी गर्ने गर्छन् । आव ०७७/०७८ मा बोर्डले स्वास्थ्य बीमाको दाबी वापत ४ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी गरेको थियो । पछिल्लो आव ०७८/७९ मा बोर्डले आघिल्लो आवको तुलनामा १ सय ९७ प्रतिशत बढी अर्थात् ९ अर्ब ९३ करोड ९३ लाख ४८ हजार ३ सय ३७ रुपैयाँ स्वास्थ्य बीमा वापत दाबी भुक्तानी गरेको छ । संख्यात्मक रुपमा भन्दा गत आवमा बोर्डले ६४ लाख वटा दाबी भुक्तानी गर्यो । यो संख्या गत आवको मात्रै नभएर अघिल्ला आवहरुको समेत हो ।

स्वास्थ्य बीमा कोषको सञ्चालन भएको १ वर्ष भयो । यो कोष सञ्चालन हुनभन्दा अगाडि अर्थमन्त्रालयको एलएमबीआइएसबाट रकम प्राप्त हुने व्यवस्था रहेको थियो । एक वर्ष भरीमा सेवाप्रदायकलाई भुक्तानी गर्ने भनेर रकम विनियोजन गरिने गर्दथ्यो । असार मसान्तसम्म विनियोजित रकम खर्च भएन भने त्यो फ्रिज भएर अर्थमन्त्रालयमा नै फिर्ता हुने गरेको अवस्था थियो । ०७७/७८ भन्दा अगाडिको अवस्थामा अस्पतालहरुलाई भूक्तान गर्न भनेर आएको रकम सबै खर्च हुन नसकेर फिर्ता हुने गर्दथ्यो । किनकी त्यतिबेला बीमाको कार्यक्षेत्र र स्वीकृत गरिएका अस्पतालको संख्या समेत थोरै थिए ।

पछिल्लो केही समययता स्वास्थ्य बीमा बोर्डले रकम भुक्तानी नगरेको गुनासो गर्दै कतिपय सरकारी र निजी मेडिकल कलेजहरुले स्वास्थ्य बीमाको कार्यक्रमलाई हटाएको कुरा सार्वजनिक गर्ने गरेका छन् । जसमध्ये सरकारी अस्पताल तथा शिक्षण अस्पतालहरुले भने सो कुरालाई पूनः लागु गरेका छन् । वास्तवमा बोर्डले बीमा वापतको पैसा भुक्तानी नगरेको भन्ने विषय सत्य होइन ।

बिगतका आर्थिक वर्षहरुदेखि भुक्तानी बाँकी रहेको रकम पनि बोर्डले यसपटक भूक्तानी गरेको छ । चैतदेखि यता भएका कारोबारको मात्रै भुक्तानी गर्न बाँकी रहेको अवस्था छ । बीमीतलाई स्वास्थ्य बीमा बापत दाबी भएको रकम भुक्तानी गर्नको लागि निश्चित पक्रिया अबलम्बन गर्नुपर्ने हुन्छ । अहिलेसम्म हामीले दाबी गरिएका बिलहरुलाई स्वयं कर्मचारीहरुमार्फत् नै रुजु गरेर भुक्तानी गर्ने गरेका छौं । यसको लागि निश्चित समय लाग्ने हुन्छ । त्यसैले दाबी माग गरिएको अवस्थामा नै तुरुन्त भुक्तानी गर्न मात्रै नसकिएको अवस्था हो, तर, भुक्तानी नभएको भने होइन । अब अस्पतालहरुको दाबी मागको अवस्थालाई हेर्दा बोर्डले झण्डै ५ अर्ब रुपैयाँ मात्रै भुक्तानी गर्न बाँकी रहेको अवस्था छ ।

सीमित साधन र असिमित जिम्मेवारी

आर्थिक वर्ष ०७२/०७३ बाट शुरु भएको स्वास्थ्य बीमाले ७७ वटा जिल्ला र झण्डै ५७ लाख नागरिकमा आफ्नो कार्यक्षेत्र विस्तार गर्दा सो को अनुपातमा भने आवश्यक जनशक्ति र संस्थागत विकास गर्न सकेको छैन् । बोर्डमा अहिले जम्मा २ सय ५६ जना कर्मचारीले काम गरिरहेका छन् । सरकारसमक्ष ०७७ फागुनमा नै बोर्डको लागि विभिन्न तहका ९ सय ८२ जना कर्मचारीको दरबन्दी स्वीकृतिको लागि माग पेश गरेकोमा अहिलेसम्म सो काम अगाडि बढेको छैन् ।

अहिलेसम्म बोर्डले ८ वटा कार्यविधि निर्माण गरेर काम गरिरहेको छ । गत चैतदेखि अनलाइनबाट नै बीमितले आफ्नो स्वास्थ्य बीमाको कार्यक्रम नवीकरण गर्न सक्ने व्यवस्थाको शुरुवात गरेको छ । यसले गर्दा अव बीमितहरुले बीमा भूक्तानीको लागि आफ्नो मोबाइलबाट नै गर्नसक्छन् ।

बीमा बोर्डले आफ्नो मोबाइल एप पनि बनाएको छ । सो एपबाट बीमित आँफुले स्वास्थ्य बीमा वापतको कति रकम कुन अस्पतालमा गएर खर्च गर्यो र अब कति बाँकी छ भन्ने हेर्न सक्ने व्यवस्था रहेको छ ।

आगामी दिनमा बोर्डले गर्ने काम

बोर्डले आगामी दिनमा के–कस्ता कार्यक्रम अगाडि बढाउने भन्ने कुरा चालु आवको नीति तथा कार्यक्रममा शमावेश गरेर भर्खरै सार्वजनिक गरेको छ । बीमा बोर्डको पहिलो समस्या भनेको जनशक्तिको अभाव हो । यो समस्यालाई सम्बोधन गर्नको लागि बोर्डले पहिलो काम आवश्यकता अनुसारको दरबन्दी स्वीकृत गराउने कुरामा पहल गर्नेछ । त्यस्तै स्वास्थ्य सेवा प्रदायकलाई सरल सुविधाको लागि सफ्टवेयरको आवश्यकता रहेको छ । यसको लागि बोर्डले इएमआर सफ्टवेयर निर्माण गरेर प्रदान गर्ने पहल गर्नेछ ।

वैदेशिक रोजगारमा जाने परिवार र संगठित क्षेत्रलाई बीमामा आवद्ध गर्नको लागि पहल गरिनेछ । त्यसको लागि बीमा बोर्डमा आवद्ध कर्मचारीहरुमार्फत यसको शुरुवात गरिनेछ । बीमाको सुविधा थैलीमा प्रत्येक दुई वर्षमा परिमार्जन गर्ने विषय अगाडि बढाउन आवश्यक छ । स्वास्थ्य बीमामा डिजिटल माध्यमबाट नै आवद्ध हुने प्राणालीको समेत आवश्यकता रहेको छ । त्यसको लागि पनि बोर्डले आवश्यक कार्य गर्ने विषयलाई छलफलमा अगाडि बढाएको छ । समयानुकुल ऐन संशोधन र कार्यविधिको निर्माणका धेरै कामहरु पनि बोर्डको अगाडि रहेका छन् । सन् २०३० सम्ममा स्वास्थ्यमा सर्वव्यापी पहुँचको लागि बोर्डको तर्फबाट नयाँ रणनीतिक योजना निर्माण गर्न पनि जरुरी रहेको छ ।

स्वास्थ्य बीमा सफलताउन्मुख छ

नेपालमा स्वास्थ्य बीमाले छोटो समयमा ठुलो सफलता हासिल गरेको हो । यसको थप सफलताको लागि बीमा बोर्ड एक्लैले होइन राज्यले नै यसलाई प्राथमिक कार्यक्रम बनाएर अगाडि बढाउनुपर्दछ । अहिले सरकारले निश्चित समुदाय र वर्गको लागि स्वास्थ्य बीमा वापतको रकम भूक्तानी गरिरहेको छ । स्वास्थ्य बीमा अन्य बीमा जस्तको कार्यक्रम नभएको कारणले गर्दा अवश्यपनि यसमा सरकारले नियमित रुपमा लगानी गर्नुपर्दछ ।

हामीले दक्षिण कोरियामा सञ्चालन भएको स्वास्थ्य बीमा कार्यक्रमलाई हेर्दा त्यहाँ कार्यक्रम लागू भएको ४३ वर्षमा मात्रै सो कार्यक्रम नाफामा गएको छ । अहिलेसम्म त्यहाँ ९६ प्रतिशत नागरिकहरु स्वास्थ्य बीमामा आवद्ध भएका छन् । तर, नेपालले स्वास्थ्य बीमा शुरुवात गरेको ६ वर्षमा नै २१ दशमलब ३५ प्रतिशत नागरिकलाई कार्यक्रममा समेटेको छ ।

मुख्य कुरा ऐन बमोजिम स्वास्थ्य बीमा कार्यक्रमलाई सञ्चालन गर्नेबारेमा सरकारको ध्यान जान जरुरी छ । सरकारले संगठित क्षेत्रलाई अनिवार्य रुपमा स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने अवस्था सिर्जना गरेमा स्वभाविक हिसाबले बीमा कोषमा पुँजीको वृद्धि हुने अवस्थाको सिर्जना हुन्छ । यसरी पुँजी वृद्धि भएपछि स्वास्थ्य बीमा कार्यक्रम आत्मनिर्भर मात्रै होइन् नाफामूलक पनि बन्न सक्छ ।

(विकासन्युजका संवाददाताले गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.