लगानी गर्न आयोजना नपाएपछि बैंकमा पैसा राखेर ब्याज खाँदै एचआईडीसीएल, ६ प्रतिशत लाभांश दिने

  २०७९ साउन १२ गते १४:४२     विकासन्युज

काठमाडौं । जलविद्युत क्षेत्रमा लगानी गर्ने उद्धेश्यले स्थापना भएको कम्पनी हो हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) । २३ अर्ब ४९ करोड रुपैयाँ पुँजी भएको यस कम्पनीमा ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व छ ।

राष्ट्र बैंकले २०६९ मा राष्ट्र बैंक ऐनको दफा ७६ अनुसार एचआईडीसीएललाई ऋण लगानी गर्न स्वीकृत प्रदान गरेसँगै जलविद्युतमा पूर्ण रूपमा लगानी गर्ने अधिकार यस कम्पनीले पायो । तर, पछिल्लो समय भने यस कम्पनीले प्रयाप्त रूपमा लगानी गर्नका लागि आयोजना नै नपाएको कम्पनीको भनाइ छ ।

कम्पनीले हालै मात्र आफुसँग भएको मौज्दात रकमलाई निक्षेपमा राख्नका लागि बैंकहरूसँग आवेदन मागेको छ । वाणिज्य बैंकहरूले प्रस्ताव गरेको उच्च ब्याजदरलाई पारित गर्दै कम्पनीले आफ्नो रकम निक्षेपका रुपमा बैंकमा राख्नेछ । पछिल्लो समय लगानी गर्नका लागि आयोजना नपाएकै कारण यस कम्पनीले मौज्दात रकमलाई बैंकमा राखिरहेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुन कुमार गौतमले अहिलेसम्म सेयरबाट उठेको रकम लगानी हुन नसकेको धारणा राखे । उनका अनुसार अहिले कम्पनीले जलविद्युतमा लगानी गर्नका लागि प्रयाप्त रूपमा आयोजना पाएको छैन ।

‘सेयरबाट उठेको पैसा पुरै लगानी हुन सकेको छैन, बैंकमा राखेको पैसाबाट केही प्रतिफल दिएको हो, यसबाट दीर्घकालमा प्रतिफल दिनै सकिँदैन्,’ उनले भने ।

हाल भएको रकमलाई लगानी गरेर १० प्रतिशत मात्रै प्रतिफल दिन सकिने उनको भनाइ छ ।

‘२०/२२ अर्बको रकम लगानी गरेर दिने प्रतिफल भनेको १० प्रतिशतभन्दा बढी छैन, त्यसमा १ प्रतिशत रकम प्रशासनिक खर्च, सरकारलाई २.७० रुपैयाँ कर तिर्नुपर्छ, सबै घटाएर ६ प्रतिशत मात्रै हुन्छ ।’ उनले भने, ‘यहि मोडलमा लगानी गर्ने हो भने प्रतिफल ६ प्रतिशतभन्दा माथि हुन सक्दैन, २० अर्ब पूँजी छ भने ८० अर्ब अन्य रकम ल्यायो भने प्रतिफल दिन सकिन्छ, त्यो ८० अर्बले पनि आम्दानी बढाएर ४ प्रतिशत प्रतिफल बढी भएर १०/११ प्रतिशत प्रतिफल दिन सकिन्छ ।’

हाल कम्पनीले एचआईडीसीएलको आगामी योजनामा अपर अरुण, बझाङ्गको चैनपुर सेती र डोटीको जगदुल्ला लगायतको नेतृत्व गर्ने उनले बताए । नेतृत्व गर्ने भनिएपनि कति प्रतिशत लगानी गर्ने भने प्रष्ट भइनसकेको उनको भनाइ छ ।

‘एचआईडीसीएललाई जलविद्युत क्षेत्रको डेडिकेटेड (मुख्य) कम्पनीका रुपमा स्थापित गर्छाै, सरकारको लगानी भएकाले निजी क्षेत्रका कम्पनीले पनि विश्वास गर्छन्, स्रोतको खोजिका लागि सरकारी निकायहरुमा रहेको पैसालाई परिचालन गर्ने योजना छ,’ सीइओ गौतमले भने ।

उनका अनुसार सरकारका संस्थाहरुले ठूलो रकम बैंकमा डिपोजिट राखेर ब्याज मात्रै आर्जन गरिरहेको धारणा राखे । ‘सरकारी कोषहरू (प्रहरी तथा आर्मी कोष) मा भएको राज्यको रकम हो, यति ठूलो रकम पूर्वाधारमा आवश्यक छ, कोषहरूमा भएको रकमले कुनै फाइदा दिएको छैन,’ उनले भने, ‘अवकाश कोष, सरकारी कोषको रकमलाई जलविद्युत क्षेत्रमा लगानी गर्नुपर्छ, त्यो रकम रिस्क लिएर एचआईडीसीएलले लगानी गर्छ, किनभने उनीहरूले सिधै लगानी गर्न पाउँदैनन् ।’

एचआईडीसीएलसँग लगानी गर्ने संरचना तयार रहेकाले त्यस्ता कोषहरुमा रहेको पैसालाई जोखिममा लिएर लगानी गर्न तयार रहेको उनले बताए । एचआईडीसीएल सरकारी कम्पनी भएकाले सबैले विश्वास गर्ने उनको बुझाइ छ ।

जलविद्युत क्षेत्रमा लगानी गर्नका लागि एचआईडीसीएलसँग एउटा छुट्टै संरचना (टिम) नै तयार पारिएको छ । त्यो टिमले जलविद्युत क्षेत्रमा लगानी गर्ने सबै संरचना तयार गर्ने गर्छ । जलविद्युतमा लगानी गर्ने योजना बनाएका संस्थाले पहिलो प्राथमिकतामा एचआईडीसीएललाई राख्नुपर्ने सीईओ गौतम बताउँछन् ।

एचआईडीसीएलमार्फत् गरेमा सबै विषयहरू व्यवस्थापन सहज रूपमा हुने उनको तर्क छ । यदि कुनै आयोजना भएमा एचआईडीसीएलमा आउन उनले आग्रह गरे ।

‘कुनै बैंक जलविद्युतमा लगानी गर्न चाहन्छ, बैंकसँग जलविद्युतमा लगानी गर्नका लागि डेडिकेटेड टिम हुँदैन्, जलविद्युत क्षेत्र बुझेकै हुँदैन्, तर एचआईडीसीएलसँग डेडिकेटेड टिम भएकाले आउट सोर्स गर्छ, वित्तीय स्रोत पनि खोजिदिन्छ,’ सीईओ गौतमले भने, ‘एचआईडीसीएल जलविद्युत क्षेत्रको डेडिकेटेड संस्था हो, आयोजनाको प्राइसिङ, रिभ्यू लगायत गर्ने क्षमता छ, तर, उनीहरूले कुनै निजी कम्पनीलाई दिन्छन्, हामीले गर्दा सस्तो पनि पर्न जान्छ ।’

कम्पनीले लगानी क्षमता बढाउन आन्तरिक रूपमा विभिन्न संस्थाहरूसँग भएको रकम परिचालन गर्ने, पावर बण्ड जारी गर्ने, विदेशबाट सस्तो ब्याजदरमा ऋण ल्याउने तयारी एचआइडीसीएलले गरेको छ ।

आयोजनाको प्रगति सन्तोषजनक

एचआईडीसीएलले हालसम्म १३ वटा आयोजनामा लगानी गरिरहेको छ । लगानी गरेका सबै कम्पनीको प्रगति सन्तोषजनक रहेको उनले बताए । कुनै पनि आयोजनामा चिन्ताजनक अवस्था नभएको उनी बताउँछन् ।

कुनै पनि आयोजना तोकिएको समय र लगातमा सम्पन्न नहुने गरेको उनले बताए । उनले कोरोना महामारी लगायत बाढी पहिरोले पछिल्ला दिनहरुमा परियोजना निर्माणमा धेरै असर पुगेको बताए ।

९ वटा आयोजना निर्माणको अन्तिम चरणमा रहेको बताउँदै उनले यस वर्ष भित्र ती आयोजना सम्पन्न हुने उनको दाबी छ । कम्पनीले गत आर्थिक वर्षमा एक अर्ब रुपैयाँको हाराहारीमा नाफा हुन सक्ने अनुमान गरेको छ ।

पूँजी वृद्धिमा समस्या

पछिल्लो समय बैंकहरू धमाधम मर्जरमा जान थालेपछि तिनिहरुको पूँजी एचआईडीसीएलको भन्दा धेरै हुन पुगेको छ । पूँजी वृद्धि भएपछि बैंकहरू आफै ठूला आयोजनामा लगानी गर्न सक्षम हुन थालेका छन् । जसले गर्दा एचआईडीसीएललाई समस्या हुन सक्ने आँकलन पनि गरिएको छ । सीईओ गौतम एचआईडीसीएलको बैंकहरूसँग कुनै प्रतिस्पर्धा नभएको बताउँछन् ।

‘बैंकहरूसँग एचआईडीसीएलको प्रतिस्पर्धा छैन, किनभने बैंकहरूको विविध ब्यापार हो, बैंकले जलविद्युतमा पनि लगानी गर्न पाउँछ,’ उनले भने, ‘जलविद्युतको नेतृत्व एचआईडीसीएलले गरेपनि स्रोत जुटाउन सक्दैन्, त्यो बेला बैंकलाई बोलाउनै पर्छ, हामी यति प्रतिशत लगानी गर्छाै, तपाईं यति प्रतिशत लगानी गरिदिनुहोस् भन्नुपर्ने बाध्यता छ, तर स्रोत प्रयाप्त नभएपनि जलविद्युतमा एचआईडीसीएलको विशेष लगाव छ ।’

हकप्रद नै बिक्री भएन

एचआईडीसीएललाई संस्थापक सेयर बिक्री गर्न सकस परेको छ । कम्पनीले साउन १५ गतेदेखि २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर बिक्रीका लागि राखेको छ ।

यसअघि कम्पनीले असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर बिक्रीमा राखेको थियो । तर, सो समयमा ५१ लाख ९० हजार ५२० कित्ता मात्र बिक्री भएको छ । सबै सेयर बिक्री नभएपछि कम्पनीले पुनः बिक्रीमा राखेको हो । त्यसअघि कम्पनीले २०७८ असोज ७ देखि १४ गतेसम्म बिक्रीमा राखेको थियो । तर, न्यूनतम १ करोड कित्ताका लागि आवेदन दिने व्यवस्थाका कारण सेयर बिक्री भएको थिएन । लगानीकर्तालाई छिटो प्रतिफल चाहिएको हुँदा हकप्रद सेयर बिक्री नभएको उनले बताए । आकर्षक प्रतिफल नदेखेर संस्थापक सेयर बिक्री नभएको उनको भनाइ छ ।

पावर बण्ड जारी गर्ने

लगानी क्षमता बढाउनका लागि कम्पनीले पावर बण्ड जारी गर्ने योजना राखेको छ । तर, अहिले कुनै पनि परियोजना नभएकाले तत्काल बण्ड जारी नहुने उनको धारणा छ ।

‘पावर बण्ड जारी गर्ने योजना छ तर, जारी गरिएको बण्डको रकम बैंकमा राख्न होइन, शुरूमा इन्भेष्टमेन्टको योजना ल्याउनुपर्छ,’ उनले भने । रकम ल्याएर लगानी नभएमा भनेको प्रतिफल दिन नसकिने उनले बताए ।

One comment on "लगानी गर्न आयोजना नपाएपछि बैंकमा पैसा राखेर ब्याज खाँदै एचआईडीसीएल, ६ प्रतिशत लाभांश दिने"

  • कृष्ण प्रसाद पौडेल says:

    सर्वसाधरण सरह देउ न बिकिहाल्छ नि किन ल्याङ्ग ल्याङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.