भिन्न अर्बिटमा काम गर्छौं र बीमाको केन्द्रमा हामी हुन्छौं : विजय बहादुर शाहसँगको अन्तर्वार्ता

  २०७९ साउन १० गते १६:३२     विकासन्युज

बीमा क्षेत्रमै पहिलो मर्जर भएर बजारमा नयाँ पदचिन्ह छोडेको छ हिमालयन एभरेष्ट इन्स्योरेन्सले । कम्पनीले नयाँ आर्थिक वर्षको पहिलो दिनमै नयाँ उमंग, नयाँ जोश र नयाँ उर्जासहित मर्जपछिको एकीकृत कारोबार पनि शुरु गरिसकेको छ । कम्पनीले अन्य बैंक तथा वित्तीय संस्थाहरुको तुलनात्मक रुपमा छोटो अवधिमै मर्जरको कम सकेर एकीकृत कारोबार गर्न सफल भयो । यो अवधिमा मर्जको भोगाई कस्तो रह्यो ? कस्तो कस्तो अवसर पायो, कस्ता चुनौतिहरु भोग्यो र भावी दिनका योजनाहरु कस्ता छन् र भविष्यमा आइपर्ने चुनौतिलाई कम्पनीले कसरी सामाना गर्दैछ । प्रस्तुत छ यिनै विषयमा केन्द्रित भएर विकासन्युजका लागि रामकृष्ण पौडेलमञ्जरी पौडेलले कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहसँग गरेको विकास वहस ।

बीमा क्षेत्रमै पहिलो मर्जर गर्नुभयो । यसको अनुभव कस्तो रह्यो ?
मर्जको दुईटा पाटो हुन्छ । एउटा वैधानिकता (लिगालिटी), जहाँ दुई संस्था एक आपसमा गाभिएर वैधानिक रुपमा कारोबार शुरु गर्छन् । जुन हामीले टुंगाइसक्यौं र हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट साउन १ गतेदेखि कारोबार शुरु गर्यौं । जुन बीमा क्षेत्रमै पहिलो कोसेढुंगा बन्न सफल भएको छ ।

अर्को हुम्यान क्यापिटल इन्टिग्रेशनको पाटो । जुन एकदमै चुनौतिपूर्ण हुन्छ । आजको दिनमा मेरो सम्पूर्ण इफोर्ट नै यसलाई कसरी सहज गर्ने, सामान्य बनाउने, कसरी सजिलै स्वीकार्य बनाउने भन्ने तिर लागिरहेको छ ।

प्रत्येक संस्थामा जनशक्ति बढी महत्वपूर्ण हुन्छ । एउटै विषयलाई दुई जनाले हेर्ने फरक फरक नजरिया हुन्छन् । त्यो कन्टेक्समा ४/५ सय जनाको ४/५ सय वटा नजरिया हुन सक्छन् । कसैले यसलाई ठूलो अवसरको रुपमा हेरेका हुन सक्छन्, धेरैले यसलाई ठूलो नजरको रुपमा हेरेको होला । हिजो हामी एउटा स्किल्डमा काम गरिरहेका थियौं, अब हाम्रो स्किल्ड अपलिफ्ट भयो । भिन्न होराइजिन, भिन्न अर्बिटमा काम गर्छौं । हाम्रो भिजिबिलिटी राम्रो रहन्छ । पहुँच बढ्छ भनेर धेरै जना बढी एक्साइटेड भएका होलान् । तर केही मान्छे सशंकित पनि हुन सक्छन् । स्वभाविक रुपमा एउटा पार्टमा यो मर्जर सक्सेस् भयो । किनभने यसले रेकर्ड टाइममा सबै काम गर्यो ।

मलाई लाग्छ मर्जर कति सफल भयो, कति असफल भयो या कति औषत रह्यो भन्ने कुराको निर्क्यौल केही समय पछि हुन्छ । जब कम्बाइन्ड संस्थाले कम्बाइन्ड इफोर्टका साथ सिनर्जी क्रिएट गर्छ । र हामीले हाम्रो विज्ञापनमा भनेको जस्तै, एक र एक जोडेर दुई होइन ११ हुन्छ भनेका छौं । त्यो हेर्नलाई बाँकी छ ।

समान्यतः मर्जरपछि सिनर्जीसहित एक र एक जोडेर तीन भन्छन् । तर, तपाईंले ११ भन्नुभयो । यो कसरी सम्भव छ ?

वास्तवमा सीईओले ठूलो जोखिम लिएका हुन्छन् । जे भन्छन् त्यो पुरा गर्नुपर्छ । यदि पुरा गर्न सकेनन् भने आफूले एग्री (सहमत) गरेको किई प्रफरमेन्स इन्डिकेटर (प्रमुख सूचकहरु) प्राप्त हुँदैन । त्यसले बाधा अडचन सिर्जना गर्छ । त्यसैले म यसलाई मूर्खता भनौं, या एग्रेशन भनौं या अति विश्वास भनौं । हामीले ट्रेडिसनल रुपमा एक र एक जोडेर दुई हुने मात्र होइन, त्योभन्दा धेरै परको सोचेका छौं । धेरै परको सोच्ने सन्दर्भमा हामी एक र एक ११ बनाउँछौं भनेका हौं ।

तर हिजो एक सय करोडको बिजनेश थियो अब भोलि ११ सय करोडको बनाउँछौ भनेर ११ मल्टिपलमा कुरा गरेका होइनौं । यसले रियल सिनर्जीको कुरा गरेको हो । जहाँ सिनर्जी भनेकै ‘इट इज मच मोर द्यान सिम्पल अर्थमेटिकल समेसन’ अर्थात साधारण अंक गणितको जोडबाट आउने अंकभन्दा सिनर्जीको इफेक्ट धेरै हुन्छ भनेको हौं । त्यसैले हामीले हाम्रा भावी योजनाहरु नर्मल अंक गणितभन्दा धेरै परको सोचेर बनाएका छौं । र, हाम्रो क्याम्पेन पनि त्यसैमा आधारित छ । हुन सक्छ, कसैले यसमा डिबेट गर्नुहोला, तर यो डिबेटको लागि होइन । इट इज आवर भिजन । यसले सीईओसँगै संस्थाको सफलताको मापन गर्छ ।

हामीले फर्ष्ट इनिएसन पार गर्यौं । असाध्यै राम्रोसँग । असाध्यै सहयोगात्मक वातावरणमा सम्पन्न भएको छ । त्यो सहयोगको लागि दुबै कम्पनीका कर्मचारीहरु, लगानीकर्ता लगायत सञ्चालक समिति सबैको पूर्ण साथ रह्यो । मलाई लाग्छ, जब दुईटै संस्थाको यसरी पूर्ण साथ पाइन्छ, त्यो पूर्ण साथ पाइसकेपछि हामी बीमा क्षेत्रकै केन्द्रमा हुन्छौं ।

मर्जरलाई सफल बनाउन के के कुरामा ध्यान दिनुपर्छ ? तपाईंले जानेका कुरा अरुलाई कसरी सेयर गर्न चाहानुहुन्छ ?

प्रत्येक संस्थाका आ-आफ्ना विशेषता हुन्छन् । आ-आफ्ना संस्कृति एवं कल्चर हुन्छन् । त्यो कल्चर जाँनिदो या नजाँनिदो तरिकाले बसिसकेको हुन्छ । सर्वप्रथम त दुईटा संस्थामा भएका फरक संकृतिलाई एक आपसमा मेल गराउनै पर्यो । अर्को, यो सानो उद्योग छ, एक आपसमा अनुभव सेयररिङको अवसर आए वा कसैलाई वास्तवमै मेरो अनुभवको खाँचो पर्यो भने म तयार छु । होइन भने मैले मर्जर गरे म तिमीहरुलाई सल्लाह दिँदै हिड्छु भन्ने पनि भएन ।

तर बीमा क्षेत्रमै आवद्ध केही साथीहरु मसँग सम्पर्कमा हुनुहुन्छ, उहाँहरुलाई मैले गरेको तरिका भन्ने हो । मैले यसरी गरेँ र यो लक्ष्यमा पुगेँ भन्ने हो । अब त्यो अर्को संस्थामा हुबहु लागू हुन्छ या त्यसलाई कस्टुमाइज्ड गर्नुपर्छ, त्यो उहाँहरुले हेर्ने हो । त्यसैले मैले मर्जर प्रकृया सम्पन्न गर्दासम्म जे जस्ता इस्यूहरुलाई विचार हेर्नुपर्छ, जे जस्ता माइलस्टोन तय गर्नुपर्छ, सम्भावित व्यवधान आउन सक्ने क्षेत्रहरु हुन सक्छ त्यसको बारेमा आफ्नो अनुभव सेयर गर्ने हो ।

कर्मचारी लगायत भिन्ना भिन्नै स्टेकहोल्डरलाई कसरी एउटै भावनामा, लयमा वा लक्ष्यमा समाहित गर्दै लैजाँदै हुनुहुन्छ ?

मर्जर गर्दा सबैभन्दा महत्वपूर्ण के हो भने एउटा पक्षले अर्को पक्षबाट ठगिएको छु भन्ने महशुस गर्नुहुँदैन । यदि कुनै पनि स्टेक होल्डार चाहे कर्मचारी होस्, चाहे सेयरधनी हुन्, चाहे बीमा समिति होस् या चाहे पुनर्बीमा कम्पनी नै किन नहोस् उसको लागि मर्जर फेयर(निष्पक्ष) भएन भन्ने लाग्यो भने यसले संस्थालाई लामो समयसम्म प्रभाव पारिराख्छ । त्यसैले हाम्रो इफोर्ट नै यी सबै विषयहरुलाई सौहार्द रुपमा सम्पन्न गर्ने । र, आफ्ना कृयाकलापहरु जस्तै, डीडीए गर्दा, कर्मचारी इन्टिग्रेशन लगायत कुनैपनि कामहरु पारदर्शी राख्ने । यसमा कुनै हिडन एजेण्डा छैन भने यो दीगो हुन्छ । हामीले यहि गरेका छौं र कोही ठगिएको छैन भन्ने लागेको छ ।

मेरो काम नै यहि हो । कतिपय विषय हामीले मर्जर अघि नै टुंगाइसकेका छौं । जुन दुबै पक्षबाट स्वीकार भएको छ । त्यसबाहेक के छ भने प्रमोटरहरु जो संस्था जन्माउँछन् र उनीहरुको संस्थाप्रति एक किसिमको एट्याच्मेन्ट हुन्छ । त्यो पछि २६/२७ वर्ष भइसकेको कम्पनीहरुमा त गहिरो सम्बन्ध रहन्छ । त्यसमा केही प्रभाव नपरोस् भनेर हामीले दुबै संस्थाको आईडेन्टिटी नमासिने गरी कम्पनीको नाम राख्यौं, हिमालयन एभरेष्ट । जहाँ दुबै कम्पनीमा कार्यरत कर्मचारी र लगानीकर्ताले पनि मेरो कम्पनी भन्न पाउँछन् । त्यस्तै, हामीले डिजाइन गरेको नयाँ लोगोमा पनि दुबै कम्पनीलाई प्रतिकात्मक रुपमा रिफ्लेक्ट गरेका छौं । जहाँ एभरेष्ट पनि छ र हिमालयन पनि छ । यसमा अपनतत्वको भावना नटुटोस् भन्ने हो ।

लगानीकर्तालाई स्वाप रेसियोको मार्फतबाट, कर्मचारीहरु जसलाई संस्थाप्रति इमोसन गाँसिएको छ, उनीहरुलाई दुई कम्पनी मेटिएर एउटा आयो भन्ने होइन की दुई मिलेर एउटा संस्था बनायौं जहाँ हाम्रो भावनाहरु समेटिएको छ भन्ने देखियोस् भन्ने हिसावले गरिएको छ । यसले गर्दा धेरै अनुन्तरित प्रश्नहरुको जवाफ आउँछ ।

पोष्ट मर्जर म्यानेजमेन्टको काम कति बाँकी छन् ?
धेरै नै बाँकी छन् । २०७९ असार मसान्तसम्मको कारोबारलाई आ आफ्नो किताबमा लेखाङ्कन गर्ने र त्यसैलाई क्लोज गर्नुपर्ने छ । त्यसलाई क्लोज गर्न अर्को तीन महिनाको समय लाग्न सक्छ । प्रकृयामा रहेको यसलाई दूर्तगतिमा टुङ्गयाउनु पर्छ भनेर लागिरहेका छौं । तबसम्म पुरानो व्यवसाय क्लोज हुँदैन, तबसम्म सही आउटपुट आउँदैन ।

अर्को हामीहरुले शाखाहरुलाई समायोजन गर्न बाँकी छ । हामीहरुले कुनै पनि कर्मचारीलाई मर्जरको कारणले रोजगारीबाट हात धुन नपरोस् भनेर सबै कर्मचारीलाई समाहित गर्ने योजना बनाएका छौं । यो सन्दर्भमा हामीलाई आवश्यकता नभएका शाखाहरु अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्छ । भर्खरै मर्जर सकेको केही दिन मात्र भएकाले यी काम गर्न बाँकी छन् ।

यति गरेर मात्रै पुग्दैन । किनकी हामीलाई सिनर्जी क्रिएट गर्नु छ । त्यसको लागि कम्पनीले तयार गरेका योजनाहरुलाई कसरी अर्को उचाईमा पुर्याउनेमा सोच्नु पर्ने हुन्छ । हामीले बीमा पहुँचलाई व्यापक अभिवृद्धि गर्नु छ, शाखा सञ्जाल बढाउनु छ, हामीले हिमालयन एभरेष्टलाई एक कम्पनीका अब्बल दक्ष जनशक्तिको आकर्षणको केन्द्र बनाउनु छ । बीमा क्षेत्रनै सबैको रोजाईको क्षेत्र बनाउनु छ । बीमा क्षेत्रलाई सम्मानित, पारदर्शी, करियर ग्रोथ भएको र व्यवसायिक तरिकाले चलाएको क्षेत्र बनाउने हाम्रो योजना छ । यो एक दिनको योजना होइन, यसलाई कार्यान्वयन गराउन लामो समय लाग्छ । मर्जर पछि गर्ने कार्यक्रम यी नै हुन् ।

यो बाहेक बीमाको पहुँचलाई व्यापक अभिवृद्धि गर्नको लागि प्रविधिको भरपर्दो प्रयोग गर्नुपर्छ । कम्पनीको प्रमुख कार्यालय र शाखामा मात्रै प्रविधि भएर हुँदैन, यसलाई इण्ड युजर अर्थात ग्राहकहरुसम्म पुर्याउनु पर्छ । कम्पनीभित्र आवद्ध कर्मचारीहरुलाई शिक्षित बनाउने, ग्राहकहरुलाई शिक्षित बनाउने र उनीहरुलाई इम्पावर गर्नको लागि प्रविधिको प्रयोग गर्नु पर्ने भएको छ ।

डिजिटाइजेशनमा गइसकेपछि कस्ता कस्ता परिवर्तन हुन्छ ? यसमा व्यवहारिक रुपान्तरणको चित्र कस्तो हुनेछ ?

आजको दिनमा प्रविधिले धेरै नै परिवर्तन ल्याएको छ । मानिसहरु ठगिनबाट जोगिएका छन् । जस्तै बीमाकै उदाहरण हेरौं, जस्तो की तपाईंलाई घरको बीमा गर्नुपर्यो भने तपाईंले आफ्नो घरको फोटो खिच्नुहुन्छ, घरसम्बन्धी विभिन्न डकुमेन्टहरुको फोटो खिच्नुहुन्छ । र, बीमा कम्पनीको एप्स्मा लगइन गर्नु हुन्छ र बीमा कम्पनीलाई पठाउनुहुन्छ । कम्पनीले प्रिमियम यति भन्छ । त्यसपछि तपाईंले गोजीको पैसा तथा चेक नझिकी कुनै भुक्तानी सेवा प्रदायक संस्था मार्फत बीमा कम्पनीमा ट्रान्सफर गरिदिनुहुन्छ । बीमा कम्पनीले त्यसको बीमालेख बनाउँछ र तपाईंको मेलमा पठाइदिन्छ । यो बीमालेख पाएका बेला ।

भोलिका दिनमा भवितव्य पर्यो भने त्यो अवस्थाको फोटो खिच्नुहुन्छ । त्यसको रिपेयर बिल सम्बन्धित कन्ट्रयाकसँग लिनुहुन्छ । बीमा कम्पनीलाई पठाउनुहुन्छ । र, तपाईंको बैंक अकाउन्टमा डिजिटल्ली पैसा हाल्दिन्छ । कहीँ जानै पर्दैन । यसले गर्दा ६/७ पटक कम्पनी भिजिट गर्ने समय बच्यो । फ्रि एण्ड फेयर सेटलमेन्ट भयो । पारदर्शी भयो । यसैले ग्राहकलाई सबल र सशक्त बनाउँछ । ग्राहकले आफ्नो पावर फिल गर्छ ।

कुनै पनि गाडी तथा घरको बीमा गर्नुपर्यो भने बीमा गर्नुअघि नै त्यसको प्रिमियम कति आउँछ तथा नोक्सानी हुँदा के कति क्षतिपूर्ति तिर्नुपर्छ भनेर तत्काललै क्यालकुलेट गर्न मिल्ने प्रविधि कहिले आउँला ? अथवा यो कल्पना मात्रै को हो ?

यो धेरै जसोमा भइसकेको छ । यसको लागि कसै न कसैले सपना देख्नै पर्छ । जुन दिउँसै देख्नुपर्छ । हामी सपना देखिरहेका छौं । जस्तै, गाई भैसीको बीमा गर्दा गाई भैसीको फोटो खिचेर पठायौं भने भोलिका दिनमा त्यो गाई भैसी मर्यो भने त्यसको फोटो खिचाऔंछौं । र, त्यो बीमा गरेकै हो या होइन भनेर त्यसलाई डिजिटल्ली म्यापिङ गर्छौं । त्यसको आधारमा भुक्तानी तुरुन्तै जान सक्छ ।

तर कुनै हाइड्रोबाट क्षति आयो भने फोटो मात्रै प्रयाप्त नहुन सक्छ । त्यहाँ मान्छे नै गएर त्यसको क्षति हेर्नुपर्ने हुन्छ । त्यसैले लामो समय लाग्ने क्षतिहरुमा भने समय लाग्न सक्छ ।

बीमा पहुँच वृद्धिमा प्रविधिको प्रयोग धेरै प्रभावकारी हुन्छ । हामीले छोटो अवधिमा प्रविधि मार्फत लाखौंको संख्याका ग्राहक वृद्धि गरेका छौं । बीमाप्रति आम मानिसमा खराब भन्दा राम्रो इप्रेसन परेको छ ।

यो त अहिले शुरुवात मात्रै भयो । २० वर्ष अघि मोबाइल, ल्यापटपले जीवन नै रुपान्तरण गर्छ, यी बिना मान्छे बाच्न नै सक्दैन भन्नेमा कसले विश्वास गरेको थियो ? त्यसैले, सबैले मान्नै पर्छ टेक्नोलोजी हाम्रो जीवनमा एक हिस्सा हो । सम्भवतः यसको बारेमा ज्ञान भएन भने मानिस अपुरो हुन्छ ।

हालसम्म हिमालयन जनरलले लगानीकर्तालाई जति लाभांश दिँदै आएको थियो अब मर्जरपछि त्यसमा कति वृद्धि होला ?

मर्जर गर्नुको एउटै कारण हो, दुई कम्पनी कम्बाइन हुँदा राम्रो हुन्छ । अरु केही पनि छैन । भन्न त नियामक निकायले चुक्ता पुँजी पुर्याउन बाध्य बनाएकोले मर्जरमा जान बाध्य भएका हुन् भन्लान् । तर त्यो दोश्रो पाटो हो । मर्जरपछि कहीँ न कहीँ सिनर्जी क्रिएट गर्ने नै हो । यो सन्दर्भमा बिजनेशले पनि फड्को मार्नुपर्छ । र लगानीकर्ताले पनि आजको दिनमा जति प्रतिफल पाइरहेका छन् त्यो औषतमा पक्कै पनि बढ्छ । बढेन भने मर्जर हुनुको औचित्य नै हुँदैन ।

तर कुनै प्रावधानले गर्दा प्रतिफलमा इम्प्याक्ट पर्नु मर्जरभन्दा बाहिरको कुरा भयो । यसमा बैंक तथा वित्तीय संस्थाको केही लाग्दैन । यता हिमालयन एभरेष्टको हकमा हिजोको दिनमा एभरेष्टले ६ प्रतिशत दिएको थियो हिमालयनले ७ प्रतिशत दिएको थियो भने अब १५ प्रतिशत हुने होइन । अब कम्तिमा ६ प्रतिशत हुनु पनि दुबैको लागि राम्रो हो । त्यसैले इमोसनल थिङ्किङ भन्दा एकाउन्टेन्ट थिङ्किङ इज मोर इम्पोरटेन्ट ।

मर्जरपछि कम्पनीले दिने प्रतिफलको दर बढ्छ । किन बढ्छ भने मर्जर गर्नु भनेको डुप्लिकेशन हटाउनु हो । डुप्लिकेशन हटेपछि खर्च कम हुन्छ । खर्च घटेपछि नाफा स्वतः बढ्छ । जसको फाइदा लगानीकर्तालाई नै हो ।

मर्जपछि नयाँ सहायक कम्पनीहरु सिर्जना गरेर फराकिलो दायरा बनाएर लैजाने योजना छन् कि छैनन् ?

कम्पनीको व्यवसायिक योजनामा सबै छ । वास्तवमा हामीले अर्गानिक र इन अर्गानिक दुबै ग्रोथ हेर्छौं । हाम्रो लिमिटेशन नै छैन । यसको लागि सबैभन्दा पहिला आवश्यक हुने भनेको स्रोतसाधन हो । जुन दुई कम्पनी एक भएपछि स्रोतसाधन डबल भयो । हामीसँग इन्भेष्टिबल सर्प्लस रहन्छ । लगानी गर्ने पैसा रहन्छ । जुन पैसा हामीले पूर्वाधारमा पनि लगानी गर्न सक्छौं । अब बल्ल कम्पनीले बक्सभन्दा बाहिर गएर सोच्ने मौका पाएको छ । जसमा ग्रिनफिल्ड प्रोजेक्ट लगायत विभिन्न उद्योगहरु होलान् । वा यहि क्षेत्रलाई थप विश्वासिलो बनाउनको लागि हामीले हाम्रै पूर्वाधारमा गर्नुपर्ने लगानी पनि धेरै नै महत्वपूर्ण छ । त्यसैले यी सबैलाई समानान्तर रुपमा अगाडि लैजानुपर्छ । कम्पनीको क्याप्टेनको नाताले मैले ब्यालेन्स मिलाएर लैजानुपर्छ । त्यहि नै सिजन म्यानेजरको टेष्ट हो । जतिपनि मल्टी स्टेकहोल्डरलाई एउटा व्यवहारिक र दीगोपूर्णप्रतिफल दिने र उनीहरुलाई संलग्न गराउने नै ‘फाइन आर्ट अफ ब्यालेन्सिङ’ हो । अब मैले कत्तिको ब्यालेन्स मिलाएर लैजान सक्छु, त्यो नै मेरो सफलता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.