कोषले जम्मा गरिदियो श्रमिकको १६ प्रतिशत रकम

  २०७९ साउन ७ गते ११:१०     विकासन्युज

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले कोभिड प्रभावित योगदानकर्ता तथा रोजगारदाताको तर्फबाट जम्मा गर्नुपर्ने बाँकी रकम जम्मा गरिदिएको छ ।

२०७८ को बैशाख तथा जेठ महिनाको योगदान रकममध्ये यसअघि नै कोषले ८४ प्रतिशत रकम जम्मा गरिसकेको थियो । बाँकी रहेको १६ प्रतिशत रकम शुक्रबार जम्मा गरेको हो ।

सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध भएका योगदानकर्ता र रोजगारदातालाई दिनुपर्ने रकम १४ महिनापछि जम्मा गरिदिएको हो ।
तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा नै व्यवस्था गरेर गत आर्थिक वर्षको बजेटमा (२०७८/०७९) लकडाउन अवधिभरको (जेठ र असार) लागि योगदानकर्ता र रोजगारदाताले कोषमा बुझाउनु पर्ने रकम सरकारले भुक्तानी गर्ने घोषणा गरेका थिए ।

उनको घोषणा अनुसार कोषले अर्थ मन्त्रालयसँग १ लाख ७५ हजार योगदानकर्ताका लागि १ अर्ब ४८ करोड रुपैयाँ बजेट माग गरेको थियो । कोषले मागे अनुसारको रकम अर्थ मन्त्रालयले किस्तामा उपलब्ध गराएपछि श्रमिकले १४ महिनापछि राहत रकम पाएका हुन ।

यस्तै, कोषले वृद्धावस्था सुरक्षा योजनामा योगदान गर्ने योगदानकर्ताहरुको आर्थिक वर्ष २०७७/०७८ को योगदान रकममा यसअघि घोषणा गरिएको ६.७५ प्रतिशत व्याजका अतिरिक्त १ प्रतिशत थप गरेर ७.७५ प्रतिशत व्याज थप गरिएको कोषले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.