२०७९ साउन ५ गते १६:४९ विकासन्युज
काठमाडौं । हेरल्ड कलेज काठमाडौंको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच कलेजकाे दीक्षान्त समारोह सम्पन्न भएको हो ।
समारोहबाट ४८१ विद्यार्थी दीक्षित भएकाे छन् । जसमा सन् २०१९/ २० मा स्नातक तह उत्तीर्ण बिएस्सी हन्स कम्प्युटर साइन्सका १६०, बिएस्सी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका २६ र सन् २०२०/२१ मा स्नातक तह उत्तीर्ण बिएस्सी हन्स कम्प्युटर साइन्सका २४९ र बिएस्सी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका ४६ गरी कुल ४८१ जना विद्यार्थीहरू दीक्षित भएका छन् ।
आइएनजी ग्रुपअन्तर्गत पर्ने हेरल्ड कलेज बेलायतको प्रतिष्ठित विश्वविद्यालय युनिभर्सिटी अफ वुल्भरह्याम्पटन, युकेबाट सम्बन्धन प्राप्त कलेज हो । दीक्षान्त समारोहमा युनिभर्सिटी अफ वुल्भरह्याम्पटन विश्वविद्यालयका प्रोभाइस चान्सलर टिम स्टिलले दीक्षित विद्यार्थीलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै प्रोभाइस चान्सलर टिमले दिक्षित विद्यार्थीहरूलाई बधाई दिँदै नेपालको कलेजसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।
कोभिड महामारीका कारण सरकारले तय गरेका विभिन्न स्वास्थ्य प्रोटोकलहरू पालना गर्नुपर्ने भएकाले उक्त समारोह दुई वर्षपछि भएको हो ।
नेपालमा सन् २०१७ देखि सञ्चालन हुँदै आएको उक्त कलेजमा अहिले स्नातक तहमा ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी, ब्याचलर इन इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र स्नातकोत्तर तहमा इन्टरनेसनल मास्टर्स अफ बिजनेस म्यानेजमेन्ट विषय पढाइ हुँदै आएको छ ।
कलेजले विद्यार्थीको एटिच्युड, एकेडेमिक्स र एटेन्डेन्स अर्थात् ट्रिपल ए का आधारमा कलेजमा भर्ना भएका १० प्रतिशत विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
हाल आइएनजी ग्रुपअन्तर्गत काठमाडौंमा इस्लिङ्टन कलेज, हेरल्ड कलेज काठमाडौं, पोखरामा इन्फरम्याटिक्स कलेज पोखरा, विराटनगरमा विराटनगर इन्टरनेसनल कलेज र इटहरीमा इटहरी इन्टरनेसनल कलेज सञ्चालनमा रहेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.