एसईईपछि कुन विषय पढ्ने ? यस्तो छ नाम चलेका शिक्षकहरुको सुझाव

  २०७९ साउन २ गते १३:०७     विकासन्युज

काठमाडौं । एसईईको नतिजा आउने बेला भइसकेको छ । एसईईको परीक्षा दिएर बसेका धेरै विद्यार्थीले के पढ्ने भनेर सोंचिरहेका छन् । आगामी दिनमा आफुले पढ्ने विषयको बारेमा कतिपय विद्यार्थीले आफ्नै रुची र क्षमताअनुसारको निर्णय गर्दछन् भने केही विद्यार्थीले अभिभावक र साथिभाईको सहयोग पनि लिन्छन् ।

सायद धेरै विद्यार्थीहरुले यतिबेला आफुले के विषय पढ्ने भनेर सल्लाह गर्ने र स्कुल भिजिट गर्ने काम पनि गरिरहेका होलान् । कतिपय विद्यार्थीहरुले घर सल्लाह पनि गर्दै होलान् ।

विकासन्युजले एसईई दिएर बसेका विद्यार्थीहरुलाई आगामी दिनमा आफुले पढ्ने विषय छनोट गर्न सजिलो होस भनेर सामाग्री तयार पारेको छ ।

कक्षा ११ र १२ मा कुन विद्यार्थीले कस्तो विषय रोजेर पढ्दा विद्यार्थीले सफलता पाउन सक्छ ? के भन्छन्, कलेजका प्रिन्सिपलहरु ?

डा. नगेन्द्र बहादुर अर्याल, प्रिन्सिपल, काठमाडौं मोडेल कलेज, काठमाडौं

पहिलो कुरा विद्यार्थीले आफ्नो रुची के रहेको छ त्यो कुराको थाहा पाउनुपर्यो । दोस्रो कुरा आफुले रोजेको विषयको प्रकृतिले कति मेहनत र समयको माग गर्छ र त्यो अनुसारको मेहनत र समय खर्च गर्न सकिन्छ कि सकिँदैन त्यसमा ध्यान दिनुपर्यो । तेस्रो कुरा विद्यार्थीले आफुले रोजेको विषयको स्कोप कस्तो छ ? त्यसमा आफुले भोलि करिअर बनाउन सकिन्छ कि सकिँदैन भनेर त्यसमा पनि ध्यान दिएर विषय छनोट गर्न जरुरी हुन्छ ।

 

छबिलाल पाण्डे, प्रिन्सिपल, प्रिमियर कलेज, काठमाडौं

विद्यार्थीले भोली आफ्नो करिअर कुन क्षेत्रमा बनाउने रुची छ, सो अनुसार कक्षा ११ र १२ पढ्दा नै विषयको छनोट गर्नुपर्दछ । विज्ञान विषय पढ्ने विद्यार्थीहरुले ३ कुरा रोजेको पाइन्छ, भोलि गएर इन्जिनियरिङ सेक्टर रोज्ने विद्यार्थीले फिजिकल, मेडिकल सेक्टर रोज्ने विद्यार्थीहरुले बायोलोजी र आइटी सेक्टर रोज्ने विद्यार्थीहरुले फिजिकल वा कम्प्युटर साइन्स लिएर पढ्न शुरु गर्दछन् । होटल म्यानेजमेन्ट र हस्पिटालिटी म्यानेजमेन्टमा जान चाहने विद्यार्थीहरुले होटल म्यानेजमेन्ट पढ्छन् । साधारण व्यवस्थापनमा जान चाहने विद्यार्थीहरुले एकाउन्ट, फाइनान्स, बैंकिङ, जस्ता विषयहरु पढ्ने गर्दछन् । त्यस्तै सिए क्षेत्रमा जान चाहने विद्यार्थीहरुले आधारभूत गणित विषय पढेर अगाडि बढेको देखिन्छ । विद्यार्थीहरुले यसरी विषय रोजेर अगाडि बढ्ने कुरा बैज्ञानिक पनि लागेको छ मलाई । त्यसैले विद्यार्थीहरुले के विषय पढ्ने भन्दापनि उनीहरुको आफ्नो के रुची छ र पछि गएर के बन्न मन लागेको छ भन्ने कुरालाई नै केन्द्रमा राखेर विषय रोज्नुपर्दछ ।

तोयानारायण पौडेल, प्रिन्सिपल, हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज, काठमाडौं

सबै विद्यार्थीको एउटै क्षमता हुँदैन । पहिला विद्यार्थीले आफ्नो क्षमतालाई पहिचान गर्नुपर्दछ । जुनसुकै विषय पढेपनि सो विषयमा सफलता हासिल गर्न सकेमा त्यसको हरेक क्षेत्रमा राम्रो स्कोप रहेको हुन्छ । डाक्टर, इन्जिनियर, पाइलट, आइटी, म्यानेज्मेन्ट, मानविकी, लगायत हरेक क्षेत्रमा करिअर बनाउनको लागि अलिकति मेहनत गर्न सक्ने विद्यार्थीहरुलाई कक्षा ११ र १२ मा साइन्स एजुकेसन पढ्न मैले सुझाव दिन्छु । किनकी साइन्स एजुकेसन पढेपछि विद्यार्थीलाई हरेक क्षेत्रमा प्रवेश गर्नको लागि सहज हुन्छ ।

हेरम्बराज कँडेल, प्रिन्सिपल, विश्वनिकेतन माध्यमिक विद्यालय, काठमाडौं

जुनसुकै विषय पढ्दा पनि राम्रो गर्न सकेमा जुनसुकै विषयमा पनि भविष्य छ । विद्यार्थीहरुको अलिक बढी राम्रो नम्बर आएमा साइन्स नै पढ्नपर्छ र ठिक्कको नम्बर आयो भने म्यानेजमेन्ट र अरु विषय पढ्ने भन्ने बुझाई रहेको छ । पहिला आफुले एसइइमा ल्याएको जिपिए हेर्ने । विद्यार्थीले भविष्यमा आफु के बन्ने र त्यसको लागि विषय निश्चित गरिसकेका छन् भने आफुले एसईईको परिक्षामा कति जिपिए ल्याउन सक्यो भन्ने कुरालाई पनि तुलना गर्नुपर्छ । किनकी डाक्टर इन्जिनियर पढ्छु भन्ने तर विज्ञान र गणितमा सी प्लस पनि आएको रहेनछ भने त्यो सम्भावना रहेन । आफ्नो क्षमता के छ त्यो आधारमा पनि उद्देश्य निर्धारण गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.