फिल्म सकेको दिन मुक्त भए जस्तो लागेर एकदमै चिच्याएको थिएँ : निर्देशक बराल

  २०७९ असार २८ गते १३:१७     विकासन्युज

बिरूद्ध परिस्थितिमा मान्छेको वास्तविक परीक्षा हुन्छ । २०७२ सालको शुरूमा सुटिङ युनिट बोकेर भोजपुरको दुर्गम गाँउमा पुग्दा अनुप बरालले सोचेका थिएनन् की, म एउटा परीक्षामा खरो उत्रिनुपर्नेछ भनेर । वैशाख १२ गते उनको परीक्षा शुरू भयो, जुन सात वर्षसम्म जारी रहनेवाला थियो, साढे सातको दशाजस्तो । २५/३० सिन सुटिङ भइसकेको आफ्नो दोश्रो निर्देशकीय फिल्म ‘दोख’ को सुटिङ गर्दैगर्दा देशमा विनाशकारी भूकम्प गयो । उनीहरू त्यहीँ हल्लिए । त्यो भूकम्पले ल्याएको कम्पनले फिल्ममा काम गरिरहेका प्राविधिकहरू धेरै हल्लिए, किनकी उनीहरूका घरहरू हल्लिएका थिए । त्यस अवस्थामा काम जारी राख्न सहज भएन । सुटिङ स्थगित भयो । समस्या यहीँ सकिएन । फेरि सुटिङमा जाने तयारी गर्दा मधेस आन्दोलन आयो, नाकाबन्दी भयो । यी सब काटेर जसोतसो सुटिङ त सके तर कोरोनाको महामारीले फिल्मको हलसम्मको यात्रालाई फेरि सुदूर बनाइदियो, उनको छातीमा एउटा बोझ बोकाएर । यो अवधिमा धेरै कुरा भएपनि उनीसँग एउटा कुरा हुन सकेन । र पनि, उनी थाकेनन् । उनको भगिरथ प्रयत्न जारी रह्‍यो । परिणाम सिनेमा हलसम्म आइपुगेको छ । यतिबेला सबै बोझ बिसाउन पाएकोमा उनी खुशी छन् । फिल्मको सात वर्ष लामो सकसको बारेमा कुरा गर्दा उनले आफ्ना अनुभव न्युज एजेन्सी नेपालसँग यसरी पोखे ।

भूकम्पले सिनेमा बीचमै रोकियो, फेरि शुरूदेखि सुटिङ गर्नुप¥यो, पहिलोपटक र दोश्रो पटक मेकरका हिसावले तपाईंको मनस्थिति कस्तो रह्यो ?

२०७१ सालको चैत महिनातिर हामी सुटिङका लागि हिँडेका थियौं । त्यो बेलामा एउटा प्रिप्लान प्रिप्रोडक्शनका सबै कार्यहरू गरेर राम्रोसँग सुटिङ सकाउने भनेर गएका थियौं । तर भूकम्प आयो, नराम्रोसँग आयो । हामी पनि हल्लियौं । हाम्रा प्राविधिक साथी भाईहरूको घर हल्लिएको हुनाले । देशै एउटा दुःखद् अवस्थाबाट गुज्रिरहेको थियो । हामीले सुटिङ बन्द गरेर यस्तो स्थितिमा अघि बढाउनु हुन्न भन्ने सोचर फर्कियौं । फर्किएपछि फेरि अर्को कुन समयमा जाने भनेर तयारी ‍गर्दै थियौं । त्यसको बीचमा तयारी गर्दागर्दै साथीभाइहरू पनि मान्नुभयो । एउटा इन्कम्पिल्ट फिल्म थियो, कम्प्लिट गर्नुपर्छ, सबैको दुःख मिसिएको छ भनेर उहाँहरू पनि जोरजाम गर्नुभयो । प्रोड्यूसरको साइडबाट पनि तयारीमा लागियो । जाने बेलामा फेरि मधेस आन्दोलन भयो । ब्लकेड भयो । भोजपुर पुग्न पर्ने, यहाँबाट दुई दिनको बाटो थियो, मधेसकै बाटो भएर जानुपर्ने । जान सकिएन, त्यसपछि फ्लाइटमा जानसकिन्छ की भनेको, भोजपुरमा फेरि हप्तामा एउटा फ्लाइट हुँदो रहेछ । सानो फ्लाइट मात्र जाँदो रहेछ । खर्चिलो पनि एकदमै धेरै हुने सम्भावना बढेकाले, फेरि थाँती राख्यौं । त्यसपछि फेरि लगभग २०७३ साल टेकिसकेको थियो । हामी फेरि गयौं । त्यतिखेर जाँदा धेरै कुरा परिवर्तन भइसकेको थियो । जस्तो, कास्टिङका लागि गाउँका बालबालिकाहरूलाई छानेका थियौँ । उहाँहरू ठूलो भइसक्नुभएको थियो । चेन्जेज आउनेबित्तिकै फेरि त्यसको तयारी गर्नुप¥यो त्यहाँ गइसकेकपछि त । एउटा स्कुल थियो, हामीले सुटिङस्थल बनाउने भनेर छानेका थियौं । त्यो स्कुलमा उहाँले के गरिदिनुभएछ भने सुटिङ गर्ने मानिसहरू आउँछन्, यो नयाँ देखाउनुपर्छ भनेर फेरि रंगाइ दिनुभएछ । फेरि त्यसमा काम गर्नुप¥यो । ठाउँ एकदमै अफ्ठ्यारो थियो, जहाँ सुटिङ गर्नुपर्ने थियो । वेदरको कारणले, भौगोलिक हिसावले पनि । जतिखेर पनि हावाहुरी चलिरहेको हुन्थ्यो । हामी घरमा बस्दाखेरी पनि भूकम्प गइसकेको भएर फेरि भूकम्पले भेट्ने हो की । यो भूकम्प आएको हुनाले बीचबीचमा झस्काइराको हुन्थ्यो । जे होस्, त्यसपटक भने ४२ दिन, ४५ दिनको सेड्यूल थियो । सुटिङ सक्यौं ।

त्यसपछि आयौं । आएपछि त्यो बजेट त एकदमै बढेर गयो । दुई/दुईपटक बढेर जाँदा एकदमै चेन्ज (परिवर्तन) आइसकेको थियो । जुन क्यामेरा लगेर खिच्ने तयारी गरेको थियौं, त्यसको ठाउँमा अलिक महँगो क्यामरा लानुपर्ने स्थिति आयो । किनभने लेन्सहरू जुन हामीले युज (प्रयोग) गर्न चाहेका थियौं, नपाएपछि अर्को अपसनल लेन्सको लागि जाँदा महँगो प¥यो । डबल खर्च भएपछि त एक्स्ट्रिम हाइ भइहाल्यो बजेट, पोस्टप्रोडक्शन गर्ने पैसा नै थिएन । त्यसपछि पैसा खोज्दै, प्रोड्यूसरहरूले अस्ट्रेलियाबाट पठाउनु हुन्थ्यो । त्यसले एउटा–एउटा काम गर्दै पूर्णता दियौं ।

रिलिज गर्न तयार भनेर बसेको कोभिड आयो । कोभिडले साढे दुई वर्ष यसै धकेल्दियो । ठूलो महाभारतको युद्ध लडेर आएजस्तो लागेको छ । भन्छन् नि, कसैले फिल्म बनाउनु भनेको एउटा पहाडलाई एक ठाउँबाट उचालेर एक ठाउँबाट अर्को ठाऊँमा स्थापित गराउनुजस्तो हो । साह्रै गाह्रो रहेछ । पहाड उठाउनु र राख्नु भन्ने कुरा ।

दुई पटक सुटिङमा जाँदा निर्देशकका हिसावले दृष्टिकोणमा केही परिवर्तन आयो की आएन ?

प्रस्पेक्टिभमा खासै त्यस्तो चेन्ज त आएन । तर लोकेसनवाइज कुन सहज हुन्छ भनेर हामीले महशुस ग¥यौं । त्यसले त्यो सक्न छिटो पनि भयो हामीलाई । पहिले गएको बेला भए एकदम एक्सटेण्ड भएर जान्थ्यो । लोकेसनहरू पनि वेदरका कारणले एकैछिनमा बादल लाग्थ्यो, एकैछिनमा पानी पर्थ्याे । अनि कन्ट्यूनिटीको जर्क हुने एकदमै ठूलो सम्भावना पनि उत्तिकै भएको हुनाले पछि हामीले त्यस्तो कुराहरू कसरी कन्ट्रोल गर्ने र बाहिरको भौगिलिक अवस्थालाई कसरी कन्ट्रोल गर्ने भनेर प्लानिङ गरेको भएकाले खासै असर भएन । अझै कति कुराहरू पहिले सोचेकोमा कति सिन त पहिल्यै गरिसकेको थियो । २१ वटा सिन पहिला नै गरिसकेको भएर हामीलाई सजिलो भयो, किनभने फेरि दोहो¥याएर गरिराखेको थियौँ ।

यो सिनेमाले खास देखाउन खोजेको कुरा के हो ?

मुलतः यो एउटा द्न्वद्वकालिन समयलाई पृष्ठभूमिमा राखेर त्यसले समाजमा पारेको एउटा प्रभाव, त्यसको बाछिटा नै देखाउन खोजेको हो । युद्धको कुरा नेपाली फिल्ममा धेरै आएका छन्, मेनस्ट्रिममा बनेका छन् । यसमा त्यो युद्धलाई ग्लोरीफाइ गर्न खोजेका छैनौ । तत्कालिन समयमा एउटा समाजभित्र बसेका मानिसहरू एउटा खुशी, इष्र्या र सँगसँगै त्यो युद्धले पारेको प्रतिशोधको भावनलाई नै मानवीय संवेदनाहरूलाई उक्याउने कोशिस गरेको छ । वान लाइनर सोध्नुहुन्छ भने एउटा सामुदायिक वन छ, त्यो दुई दुईवटा गाँउ जहिले नि मेरो वन भनेर झगडा गरेर बस्छन् । अनि एकले अर्काको प्रतिशोध नि साँधिरहेका हुन्छन् । अनि पिटापिट नि गर्छन्, त्यहाँका युवाले एकले अर्कालाई । यसैक्रममा यो कुरा द्न्वद्वकालिन समयमा कमरेडहरू त्यो कुरा जनतामा कसरी बिस्तार गर्ने, आफ्नो पकड बनाउने भनेर त्यो उनीहरूको समस्यालाई कसरी सम्बोधन गर्ने भनेर हिँडिराख्न ुहुन्थ्यो । अनि यसैक्रममा उहाँहरू यो ठाँउमा पुग्नुहुन्छ । अनि समस्या के हो भन्दा समस्या वनको भन्दा पनि फुटबलको रहेछ । फुटबलमा हारेपछि एकले अर्कालाई पिट्दा रहेछन् । अनि समाजमा के रहेछ भन्दा वन कसको हो भनेर छिनोफानो गर्नलाई फुटबल खेल्नुस् जसले जित्छ उसैको वन हुन्छ भनेर उहाँले एउटा निर्णय दिनुहुन्छ । त्यसपछि युवाहरू थोरै छन् गाँऊमा त्योबेला एउटा शिक्षक पढाउन गाँउमा आइपुग्नुहुन्छ । जो फुटबल पनि खेल्न जान्ने हुनुहुन्छ । उसले कसरी टिम जम्मा गर्छ र वन कसको हातमा जान्छ । समस्या बढ्छ या घट्छ भन्ने सिनेमाले भन्छ ।

स्क्रिप्ट तपाईंले सोचेजसरी दृश्यभाषामा रूपान्तरित भएको छ की छैन ?

गाह्रो छ, कति कुराहरु ल्याउने कोशिस गरेकै छौं । प्रयत्नहरू छ, त्यसमा देखिन्छ पनि । मैले यति धेरैचोटि हेरिसकँे, हजारचोटी हेर्दा आफूले गरेको फिल्ममा हेर्दा कहाँ कहाँ लुप्सहरू भएको जस्तो लाग्छ आफूलाई । त्यो डाइरेक्टरलाई हुनुपनि पर्छ जस्तो लाग्छ । त्यो ठ्याक रूपान्तरित हुँदा लेखकलाई पहिले देखाएको थिएँ फिल्म बनिसकेपछि । लेखकले कतिपय कुरा तपाईंले स्क्रिप्टमा नभएको कुराहरू राखेर झनै राम्रो बनाइदिनु भएको रहेछ भन्नुभयो । त्यो मेरो लागि एउटा ठूलो एसेट जस्तो बन्यो के । भनेपछि केहि चिज त आएको रहेछ । कति कुराहरू फिल्मको लेन्थ लामै भएको थियो, हामीले सुटिङ गर्ने बेला त्यसलाई सार्प बनाउनका लागि एडिट गर्दाकति कुराहरू हामीले फाल्नु पनि प¥यो । राम्रोराम्रो सिनहरू एकदमै धेरै फालिए । तर अहिले मैले जुन जिस्ट भनेको थिएँ, त्यो आउँछ ।

तपाईं नाट्य ब्याकग्राउण्डको मान्छे, त्यो ब्याकग्राउण्डको प्रभाव सिनेमामा कत्ति देखिएको छ ?

सिनेमा भनेको फरक कुरा हो । सिनेमा र थिएटरमा फरक कस्तो हुन्छ भने धेरै सिनहरू हुँदैनन्, केही सिनहरू हुन्छन् अनि तीन/चार दिनको घटनाहरू टक्क भन्ने कुराहरू हुन्छ । सिनेमा भनेको त एउटा करिवकरिव कालखण्ड हो । यस महिनौ दिन लाग्ने वा तिनै दिनलाग्ने भएपनि लेन्थ हुन्छ, सिनेम्याटिक टाइमफ्रेम भन्छौं । त्यो हिसावले धेरै कुराहरू फरक छ । मैले थिएटरमा धेरै मेटाफोरहरू खेल्छु । कल्पनाको लागि धेरै गुञ्जायसहरू हुन्छ । तर सिनेमामा केही चिजहरू देखाउनुपर्यो भने भिज्वल्ली त्यो चिजहरू देखिनुपर्छ । खोला देखाउनलाई कपडालाई अलिकति हल्लाएर नदीहरू क्रिएट गर्न सक्नुहुन्न । सिनेमामा त्यो देखाएर मान्छेहरूले पत्याउनुहुन्न । एक्चुअल स्पेसमा गएर, त्यो भूगोलमा गएर भूगोलमा गएर आउनु साउण्ड भयो साउण्डसँग जोडिएका मान्छेका भाषाका एसेन्टहरू भयो सबै चिज गाह्रो हुन्छ देखाउन । थिएटरको कति कुराहरू सिनेमाले पाएको छ । कतिपय सिनेमाहरू थिएटरले सापटी लिएको छ । यस्तो कहिले कहिले मलाई डिजोल्भ गर्ने लाइटको फेड इन फेड आउट गर्ने कुराहरू ठ्याक्कै थिएटरबाट सिनेमामा गको जस्तो लाग्छ । त्यो पछि टेक्नोलोजीले गरेर ल्याएको चिजहरू हो । कति चिजहरू मिल्छ पनि कति चिजहरू छुट्याउन जान्नुपर्छ र धेरै मेटाफोरहरूलाई यसमा नखेलौँ सकेसम्म ढ्याक्क जे भन्न सकिन्छ त्यसमै जाउँ भनेर गरिएको छ ।

पात्र अनुसारका कलाकारहरू पाउनुभयो कि भएन ?

कुनै पात्रहरू स्वभाव अनुसार लार्जर देन लाइफ बनाउने कोशिसहरू पनि भएको छ । कति साँच्चिकै जनजीवनबाट आएका जस्तो । मैले कास्टिङ गर्दा नै सकेसम्म अलि पूर्वकै भाषाहरू बोल्नसक्ने मानिसहरूलाई ल्याउने कोशिस गरें । दिया मात्रै होला सायद काठमाडौंबाट गएर काम गरेको, बाँकी धेरैजसो पूर्वकै कुनै समय गाँउठाउँमै बसेका मानिसहरू जसलाई भाषासँग एक किसिमको लगाव छ, त्यो चिजहरू आउला भन्ने हिसावले पनि , रहनसहनको हिसावले पनि त्यो जीवन देख्नुभएको छ । अनि त्यो कालको केही न केही छाप महशुस गर्न सक्नुभएको छ । कतै न कतैबाट त्यो साहित्यको माध्यमबाट पढेर हुनसक्छ । अडिसन लिनेबेलामा हामीले कोशिस गरेको छौं । त्यो सकेसम्म नजिक गएको छ काम गर्ने हिसावले कुनै कुनै पात्रहरू फेरि कस्तो छन् भने जीवनमा आफैँ लाउड भएर आउँछन् नि त्यस्तो पात्रहरू पनि छन् ।

निर्देशनका हिसावले यो तपाईंको दोश्रो सिनेमा हो, तपाईंको नाम जोडिएपछि केही हुन्छ कि भन्ने मानिसहरूमा छाप छ, पहिलो सिनेमामाथि आएका प्रतिक्रियाहरूलाई सम्झँदै गर्दा यसपटक तपाईंले कस्तो खाले प्रतिक्रियाहरूको अपेक्षा गर्नुभएको छ ?

मलाई भाष्य हो, न्यारेटिभ कसरी निर्माण भएको छ भन्ने कुराले चिन्ता लाग्ने हो । अब मलाई यो प्रिजेन्टसनको सबालमा भन्दा पनि यसले बनाएको, कथाले, यो डाइरेक्टरले के भन्न खोजेको छ भन्ने बुझाउन सकेँ की सकिन भन्ने एउटा प्राइम कन्सर्न हुन्छ होला । एउटा बौद्धिक अडियन्सहरूले मलाई हेर्दा त्यसरी हेर्छन् । एउटा आम दर्शकले हेर्दा यसले कति इन्ट्रेस्टिङ तरिकाले कथा भनिरहेको छ भन्ने होला । जुन अहिलेको नयाँ पुस्ता छन् उनीहरूले गाँउको परिवेश देख्छन्, त्यसमा पनि नयाँ भूगोलसँग परिचित हुने मौका हुने र चरित्रहरू पनि एक हिसावले रमाइला छन् । ह्यूमर पनि छ, यसमा ठाउँहरूमा । अनि इन्गेज गर्नका लागि हुन्छ नि त्यो अलअलि ड्रामाटिक ट्विस्टिङहरू पनि छ । सो बाँध्छ जस्तो लाग्छ । एक हिसावले द्न्वद्वकालको कुरा हो । द्न्वद्वकाललाई सिधा एउटा पक्षविपक्ष नभनिकन बीचमा बसेर, तटस्थ बसेर भन्न सकियो भने सायद बढी हामीले भन्न खोजेको कुराहरू आउँछ होला लागेर तटस्थता अपनाउने कोशिस गरेका छौं, त्यो कति आएको छ हेरेर भन्न सकिन्छ । त्यो दर्शकले भन्ने कुरा हो ।

आफूले बनाएको सिनेमाको स्वमूल्यांकन कसरी गर्नुभएको छ ?

साह्रै गाह्रो हुन्छ आफूलाई भन्नलाई । म आफ्नो फिल्मको बारेमा आफैँ भन्न हिच्किचाउँछु । त्यो कस्तो हुन्छ भन्दा कुनै कृतिलाई लेख्नुभयो अनि मार्केटिङ गर्ने हिसावले भन्नुहुन्छ नि अनि पछि गएर त्यो पाउनुभएन भने त्यो ठूलो डिस्एपोइन्मेण्ट हुन्छ । अनि त्यो हिसावले मलाई त्यो ठ्याक्कै यस्तो भनेर भन्न सक्दिन । मैले एउटा इमानदार प्रयत्न गरेको हो काम गर्ने हिसावले, एउटा समयको कालखण्डको, एउटा मनोदशा मान्छेहरूको । अब कसरी पुग्छ, कसरी छुन्छ । हामी त कोशिस गर्ने न हो । सकेसम्म मानिसहरूलाई छोइदियोस् । हामीले भन्न खोजेको कुरा धेरै जनमानसमा पुगोस् भन्ने हुन्छ । तर एक्ज्याक्ट्ली कसरी छुन्छ ? डाइरेक्टरलाई मरिदिनुुपर्छ रे क्या फिल्ममा, मोह पालेर बस्न हुन्न रे । सायद त्यो जिम्मेवारीबाट अलि मुक्त भएको छु जस्तो लाग्छ ।

‘फिटकिरी’ र ‘दोख’ मा कुन सिनेमा छान्नुहुन्छ ?

साह्रै अफ्ठ्यारो प्रश्न प¥यो । केही चिजहरू फिटकिरीमा पनि राम्रा थिए अहिले फर्केर हेर्दा, त्यसका लुपहोल आफ्नै ठाऊँमा थिए । त्यसलाई २० मिनेट छोट्याउन सकेको भए अझै फाइन भएर आउनसक्थ्यो कि लाग्छ । कति कुरा आफूलाई थाहा हुन्न आफूले हेर्दा । बनाइसकेपछि केही मान्छेहरूलाई हाम्रो संस्कार पनि हुनपर्ने रहेछ । बनाइसकेपछि केही सर्टेन मान्छेहरूलाई देखाएर त्यसको लुपहोल के छ ?, भनेर देखउने संस्कार भइदियो भने सायद त्यसले चेक एण्ड ब्यालेन्स गर्नलाई र अझै अर्को प्रस्पेक्टिभबाट हेर्न सिकाउँदो रहेछ । हामी आफ्नो काम गरेको छ अनि आफ्नो काममा एउटा लुपहोल बन्दोरहेछ भयंकर नै ग¥यौं कि के हो जस्तो । अनि पछाडी गएर अरूले हेरिदिँदा उनीहरूले हेर्दा थाहा हुने आफूले हेर्दा थाहा नहुने रहेछ । यसमा अब ठ्याक्कै के भन्नु । एउटा सिर्जना कर्तालाई त त्यो पनि राम्रो यो पनि राम्रो तर पर्सनल ग्रोथको हिसावले स्टोरी त्यो मोर क्राइम थ्रिलरजस्तो थियो, यो अब सोसल ड्रामा हो । अलिकति कहीँ कतै राजनीति पनि मिसिएर आएको छ । एकदमै खतरा डिफ्रेन्स मैले यो मनप¥यो भन्न गाह्रो छ ।

अब तेस्रो सिनेमा कहिले त ?

हेर्नुपर्छ किनभने मलाई एकदम थाहा छैन अहिले । एक त सात वर्ष यसले मलाई लियो गर्दागर्दा अब आफूले चाहेर पनि होइन । समय परिस्थितले त्यस्तो बनाइदियो । एकदम थाकेको छु, अलि ठूलो भारी बिसाएको छु, समय लाग्छ । सायद अर्को वर्षतिर बन्ला । आइडिया जर्मिनेट भइररहेको छ । लेख्नलाई पनि लेखकहरू तयार गरिरहेको छु । अब उहाँहरूले ड्राफ्ट बनाएर दिनुभएको छ । अब त्यसमा काम गरेर नेक्स्ट इयरतिर जाने भन्नेछ । यो वर्ष विश्राम लिन्छु ।

विभिन्न कारणले यो सिनेमा रोकिँदा के भारी बोकेछु भन्ने महशुस हुन्छ कि हुँदैन ?

हुन्छ नि । कतिपटक त बेकार मैले अर्को काम गर्नुपर्ने मान्छे के गरिरहेको होला । मैले त थिएटर कम गरें । मैले त्या बीचमा । सात वर्ष त यसरी खायो नि घरमा नि समस्या हुने किनभने दियाजी र हामी सँगै बस्दा तपाईको जीवनमा ‘दोख’ मात्रै छ कि हामी पनि छौं भन्नुहुन्थ्यो तर मलाई कस्तो हुन्थ्यो भने आफूले गरेको एउटा मोरल इथिक्सको कुरा पनि भो । मानिसले के सोच्छन् भन्दापनि मैले आफू भित्रबाट एउटा काम कम्प्लिट नगरी अर्कोमा जानु हुँदैन किनभने स्वभाव पनि त्यही छ । एकोहोरो भएर जान्छु के, त्यो कम्प्लिट नभएसम्म अर्कोमा हात हाल्दिन । त्यो भएर बोझपनि बनिरह्यो र बीच बीचमा त्यो बोझलाई कसरी ओभरकम गर्ने भएर आफूलाई अलिकति साइड कुराहरू अलि मनोरञ्जन कसरी आफूलाई गर्न सकिन्छ भनेर एउटा दुईवटा फिल्म पनि खेलेँ बीचमा, ताकि अलिकति भाग्नु थियो तर त्यहाँ जाँदा पनि त्यो दिमागमा अलिकति बसिराख्यो । आएपछि छटपटी शुरू भाइहाल्थ्यो कम्प्लिट गर्नुपर्छ भनेर । अनि केलेकेले त निन्द्रा पनि लाग्दैन थियो । कसरी हुन्छ होला, फिल्म पनि बन्छ कि बन्दैन । सबै साथीभाइले सोध्ने जहाँ गएपनि कहिले आउँछ ‘दोख’ भनेर ? आफूलाई समस्या लाग्दो रहेछ । मान्छेले पोक गरिरहेको हुन्छ नि त, कहिले हेर्न पाउँला ? सात वर्ष भएन ?, पाँच वर्ष भएन ? आउँदैन कि क्या हो ? भन्छन् । त्यतिखेर दुःखै लाग्थ्यो एककिसिमले । फाइनल्ली इट्स लाइक बन्यो, आयो । अब मुक्त भएको छु । अर्को फिल्ममा अझै त्यसलाई राम्रो बनाएर ल्याउँछु ।

फिल्मको सम्पूर्ण काम सकिएको दिन के लागेको थियो आफूलाई ?

ठूलो बोझबाट मालाई लागेको त्यही हो । मुक्त भएँ अब सायद म धेरै चिजहरू गर्नसक्छु भन्ने उर्जा आयो । म त एकछिन, सकिने दिन त चिच्याएको थिएँ, कराएको थिएँ, एकदम मजाले चिच्याएको छु । फाइनल्ली डन भनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X