इलामका चार स्थानीय तहमा सुरु भयो विद्युतीय भुक्तानी

  २०७९ असार २२ गते १६:०४     विकासन्युज

इलाम । जिल्लाका चुलाचुली र माईजोगमाई गाउँपालिकामा विद्युतीय भुक्तानी ‘इएफटी’ सेवा सुरु गरेको छ । दुई स्थानीय तहले भर्खरबाट यो सेवा सुरु गरेका हुन् । यो सेवाले सेवाग्राहीलाई लाइनमा बसेर भुक्तानी गर्नुपर्ने समस्या समाधान भएको छ ।

सेवा सुरु भएपछि गाउँपालिकाले भुक्तानी गर्नुपर्ने रकम सिधै भुक्तानी लिने सेवाग्राहीको बैंक खातामा हुने गाउँपालिकाले जनाएको छ । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत भुक्तानी प्रणालीको सुरुआत गरिएको जनाइएको छ ।

यो सेवाका लागि सेवाग्राहीको चेकको फोटोकपी अनिवार्य चाहिने भएको छ । महालेखा नियन्त्रक कार्यालयले आगामी साउन १ गतेदेखि सबै स्थानीय तहलाई विद्युतीय भुक्तानी प्रणालीमा जान निर्देश गरिसकेको छ । यस गाउँपालिकामा परीक्षणका रुपमा विद्युतीय भुक्तानी सेवा सुरु भएको हो । परीक्षणका रुपमा केही सेवाग्राहीको खातामा अनलाइन भुक्तानी गरिरहेको भए पनि साउनदेखि अनिवार्य गरिने भएको छ । विद्युतीय भुक्तानी सेवालाई अनिवार्य गरेपछि उपभोक्ताले अब भुक्तानीका लागि चेक लिनुपर्ने बाध्यताको पनि अन्त्य हुने छ ।

माईजोगमाई गाउँपालिकाले पनि यो सेवा सुरु गरेको छ । विद्युतीय भुक्तानी प्रणालीले सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्नमा सघाउ पुग्ने प्रमुख प्रशासकीय अधिकृत भागवतप्रसाद रेग्मीको भनाइ छ ।

विद्युतीय भुक्तानी प्रणाली सुरु भएपछि चेकमा त्रुटि हुने, हस्ताक्षर नमिल्ने तथा चेक लिनकै लागि गाउँपालिका धाउनुपर्ने समस्याको समेत अन्त्य हुनेछ । जिल्लाको देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकाले यसअघि नै विद्युतीय भुक्तानी ‘इएफटी’ सेवा सुरु गरिसकेके थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.