साञ्जेन जलविद्युतको सेयर तत्काल बिक्री नगर्न माग

  २०७९ असार २२ गते १०:१४     विकासन्युज

रसुवा । रसुवामा निर्माणाधीन साञ्जेन जलविद्युत् कम्पनीद्वारा स्थानीयका लागि छुट्याएको सेयर तत्काल बिक्री खुला नगर्न आग्रह गरिएको छ । एक सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर कम्पनीले यही १३ गतेदेखि ६८ लाख ४२ हजार १०० कित्ता सेयर बिक्री खुला गरेको थियो । आर्थिक समस्याका कारण जिल्लावासीले पाउने सञ्जेन कम्पनीको सेयर हाललाई बिक्री खुला नगर्न स्थानीयले माग गरेका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेको अध्यक्षतामा सम्पन्न सर्वपक्षीय बैठकले ५७ दशमलव तीन मेगावाटको साञ्जेन जलविद्युत्को सेयरसमेत स्थगन गर्न माग गरेको छ । दुवै आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । रसुवाका पाँचवटै गाउँपालिका प्रमुख तथा उपप्रमुख, बागमती प्रदेशसभा सदस्य प्रेम तामाङ, राजनीतिक दलका जिल्लास्थित प्रमुख/प्रतिनिधि, नागरिक समाजलगायतले शेयर बिक्री ६ महिनापछि मात्र खुलाउन माग गरेका हुन् ।

जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामाका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण बैंकहरूलाई सहुलियत कर्जा प्रवाह गरिदिन आग्रह गरिएको छ । रसुवामा कार्यरत बैंक तथा वित्तीय संस्थाले स्थानीयको हितका लागि सुलभ कर्जा उपलब्ध गराउनुपर्ने जिल्ला समन्वय समितिले माग गरेको छ । राष्ट्रिय प्रसारण लाइनले छोएका आमाछोदिङ्मो र उत्तरगयाका वडा नं १, २ र ३ नेसिङ, ग्रे, हाकु, गोगने, डाडागाउँ, ठूलोगाउँ क्षेत्रका प्रभावितलाई सेयरको व्यवस्था गर्न समेत माग गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.