बुढीगण्डकी नजन्मदै तामाकोशीका सेयरधनीलाई धक्का

  २०७९ असार २२ गते ८:४२     विकासन्युज

काठमाडौं । भनिन्छ टाठाबाठाले सोझा साझालाई बैधानिक रुपमा ठग्ने बजार हो सेयर बजार । यो साता यस्तै भयो ।

एक वर्षअघि प्रतिकित्ता ९६२ रुपैयाँ ५० रुपैयाँसम्मका कारोबार भएको अपर तामाकोशीको सेयर गत साता ३७६ रुपैयाँमा झरेको थियो । सस्तोमा सेयर किनेर हल्ला चलाउने र तत्काल नाफा कमाउने वर्गको लागि राम्रो आधार बनेको थियो ।

यहिबेलामा नयाँ परिदृष्य देखियो । नाफा मुलक कम्पनी खोलेर बुढिगण्डकी जलविद्युत परियोजना बनाउने प्रक्रियामा सरकार अगाडि बढ्यो ।

टाठाबाठाले हल्ला चलाए बुढीगण्डकीमा अपर तामाकोशीले लगानी गर्ने भयो । प्रस्ताव मन्त्रिपरिषदमा गैसकेको छ । त्यसका लागि पुँजी जुटाउन अपर तामाकोशीले हकप्रद सेयर जारी गर्दैछ ।

हल्ला चलेका केही दिनमै झण्डै ३० प्रतिशतले सेयरको मूल्य वृद्धि भयो । आइतबार र सोमबार सर्किट ब्रेक नै लाग्यो । ३७६ रुपैयाँमा झरेको सेयर मूल्य ४८५ रुपैयाँसम्मका कारोबार भयो सोमबार । प्रतिकित्ता १०९ रुपैयाँसम्मले बढ्यो ।

मंगलबार साँझ विकासन्युजले बुढीगण्डकीमा कसले कति सेयर लगानी गर्दैछ भनेर समाचार प्रकाशित गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले दिएको जानकारी अनुसार बुढीगण्डकीमा अपर तामाकोशीले पुँजी हाल्ने कुनै प्रस्ताव छैन ।

दर्ता प्रक्रियामा रहेको बुढीगण्डकी जलविद्युत कम्पनीको पुँजी ६० अर्ब रुपैयाँ राखिने भएको छ । कम्पनीमा ८० प्रतिशत सेयर सरकारको हुने छ भने २० प्रतिशत सर्वसाधारणको रहनेछ ।

सबैभन्दा बढी सेयर उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले राख्ने भएको छ । यस मन्त्रालयले २४ अर्ब रुपैयाँ अर्थात कुल पुँजीको ४० प्रतिशत अंश लिने भएको छ । अर्थमन्त्रालयले १५ अर्ब अर्थात कुल पुँजीको २५ प्रतिशत सेयर राख्ने भएको छ ।

अन्य सरकारी निकायको १५ प्रतिशत सेयर हुनेछ । त्यसमा नेपाल विद्युत प्राधिकरणको ८ अर्ब ४० करोड रुपैयाँ हुने छ । यो कुल पुँजीको १४ प्रतिशत हो । विद्युत उत्पादन कम्पनीले ६० करोड रुपैयाँ लगानी गर्नेछ ।

सर्वसाधारणलाई १२ अर्ब रुपैयाँ बराबरको सेयर वितरण गरिने छ । स्थानीयलाई ६ अर्ब रुपैयाँ बराबरको सेयर निष्काशन गरिने छ भने सर्वसाधारणको लागि पनि ६ अर्ब रुपैयाँ बराबरको सेयर निष्काशन गरिने भएको छ । सरकारले स्थानीय र सर्वसाधारणलाई १०/१० प्रतिशत सेयर निष्काशनको गर्ने गरी कम्पनी खडा गर्न लागेको छ ।

अपर तामाकोशीको सेयर मूल्य वृद्धि हुने गरी वित्तीय अवस्थामा कुनै फेरबदल नभएको कम्पनीको प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले बताए ।

‘हाम्रो कम्पनीको आम्दानी पनि करिव करिब निश्चित छ र खर्च पनि मोटाबाटी स्पष्ट छ,  कम्पनीको आम्दानी वा खर्चमा ठूलो फेरबदल हुने गरी कम्पनी भित्र कुनै काम भएको छैन’ उनले विकासन्युजसँग भने- ‘कम्पनीको सेयर मूल्य घटेर ९००बाट ३०० मा आउनु पर्ने कारण पनि मैले बुझेको छैन । अहिले बढ्नुको कारण पनि मैले भन्न सक्दिन’ प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने ।

One comment on "बुढीगण्डकी नजन्मदै तामाकोशीका सेयरधनीलाई धक्का"

  • Janata says:

    “टाठाबाठाले सोझा साझालाई बैधानिक रुपमा ठग्ने बजार हो सेयर बजार ।”

    बढाउने पनि आफै, घटाउने पनि आफै । दोष जति अरुलाई । जति कमाए पनि नपुग्ने, लोभै लोभ र आशै आशको मानसिक दवावमा भई रहने वर्ग हो सेयरको कारोबारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.