बैंकहरूले सपिङ मललाई नपत्याउँदा व्यापारीको लगानी बढाउने आँट पुगेन: अध्यक्ष घिमिरे

  २०७९ असार २२ गते १२:०१     विकासन्युज

कुनै बेला नेपालमा मलमा सपिङ गर्ने अभ्यास व्याप्त थियो । लगानीकर्तालाई सपिङ मलमै लगानी बढाउनु पर्छ भन्ने हुटहुटी थियो । धेरैले काठमाडौंमा सपिङ मलहरू खोले । मानिसहरु किनमोल गर्न होस् वा सपिङ मलको सौन्दर्यता हेर्नकै लागि भएपनि एक पटक सपिङ मलमा पुगेकै हुन्थे । तर, पछिल्लो समय भने सपिङ मलप्रतिको त्यो ‘क्रेज’ खासै देखिँदैन । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसपछि देशको अर्थतन्त्र सही दिशमा छैन । अहिले खासगरी विदेशी मुद्रा सञ्चितिमा परेको असरले अर्थतन्त्रमा समस्या देखिरहेको छ । त्यसले पनि विभिन्न क्षेत्रलाई प्रत्यक्ष प्रभावित बनाएको छ । मलहरूमा पनि पहिलेको जस्तो व्यापार नहुँदा व्यपारीहरू समस्यामा छन् ।
पछिल्लो समय मल भित्रको व्यापारको अवस्था र व्यापारीहरूको मनोविज्ञान लगायतका विषयमा काठमाडौं मल संघ फोरमका संयोजक तथा सिभिल मल व्यापार संघका अध्यक्ष रत्न बहादुर घिमिरेसँग विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् ।

पछिल्लो समय मलहरूमा व्यापार कस्तो छ ?

२०७२ सालको भूकम्पपछि मलमात्र नभई व्यापारिक अवस्था धरासयी नै थियो । बिस्तारै रिकभर हुँदै आएको अवस्थामा कोभिड–१९ सुरू भयो । कोभिड सुरू भएपछि व्यापार तहसनहस नै भयो । लकडाउनमा मल पनि बन्द गर्नुपर्ने बाध्यता आइलाग्यो । अहिलेको अवस्थामा मल भित्रको व्यापारमा सुधार हुँदै गएको छ । व्यापारिक वातावरण सहज बन्दै गएको छ । मानिसको उपस्थिति पनि बढेको देखिन्छ ।

तपाईंले व्यापारमा सुधार भइरहेको छ भनिरहँदा अधिकांश व्यापारीहरूले व्यापार हुनै छाड्यो, ग्राहक पनि आउँदैन भन्नुहुन्छ, कतिपय व्यापारीहरुले त ब्यापार नै छोडे भन्ने विषय पनि आइरहेको छ नी ?

नेपालको अर्थतन्त्र नै अहिले चलायमान छैन । त्यसैले स्वतः रूपमा मलमा मात्र नभएर अन्य ठाउँमा पनि व्यापारको कमी नै भएको पाइन्छ । सपिङ मलहरूमा एकै छानामुनि सम्पूर्ण आवश्यकताहरूको परिपूर्ति, ब्रान्डको उपस्थिति, पार्किङको सुविधा लगायत लिफ्ट, सफा ट्वाइलेट, सफा वातावरण जस्ता सुविधाले सर्वसाधारणहरू पैसा बढी नै तिरेर भए पनि मानिसहरू मलमा सपिङको लागि आउने हो ।

एकै छानामुनि सपिङ गर्दा हुने समय बचतले पनि सपिङ मल तथा कम्पलेक्सहरुले नयाँ नयाँ ग्राहकहरू आफूतिर तानिरहेका छन् । सपिङ मलमा कारोबार गर्न व्यापारीलाई पनि निकै सहज हुन्छ । अहिले मान्छेको आयस्रोत कमी भएको कारणले गर्दा पनि मलभित्र मान्छेको आवागमनमा कमी भएको देखिन्छ । सबै क्षेत्रमा कमी कमजोरीहरू छन् । मान्छेमा खुलेरै खर्च गरौं भन्ने अवस्था छैन । अर्थतन्त्र नै धरसायी बन्दै गएको सञ्चार माध्यममा सुनिन्छ । यस्तो अवस्थामा व्यापारमा केही हदसम्म कमी आएको स्वाभाविक मान्नु पर्छ । पानी, बत्ती, सरसफाई, सुरक्षा लगायत व्यवस्थित सुविधाले गर्दा मल कल्चर फस्टाउँदै गएको अनुभव मैले गरेको छु ।

सामान आयातको अवस्था कस्तो छ, सहज–असहज कस्तो महसुस गरिहरनु भएको छ ?

व्यापारीहरुले सामान विशेष गरी चीनबाट ल्याउनु हुन्छ । माग गरेको सामान चीनको केरुङ नाकामा थन्किएर बसको छ । मेरै सामान ६ महिनादेखि नाकामै थन्किएको छ । सामान भन्सारमा थन्किएर बस्दा व्यापारी मर्कामा छन् । नेपाल भित्रिनु पर्ने कन्टेनर भित्रिएका छैनन् । मुस्किलले दिनमा सो नाकाबाट १० वटा गाडीमात्र नेपाल भित्रिन्छन् । दिनमा नै ५० वटा गाडी नेपाल भित्रिँदा पनि सामान नपुग्ने अवस्था छ । सामानको आयातमा एकदमै समस्या भइरहेको छ ।

उत्तरी नाकाबाट भित्रिने सामान नाकामा थन्किएको कारण हामी व्यपारीहरु मर्कामा छौं । दशैंका लागि व्यापारीहरुले सामान चाइनाबाट हाली सकेका छन्, बाटामै सामान छ । दसैँमा पनि सामान आउँछ कि आउँदैन त्यो निश्चित छैन । यी विषयमा हामी नेपालका लागि चिनियाँ राजदुत विष्णुपुकार श्रेष्ठलाई ७ बुँदे माग बुझाउँदै व्यवसायीहरूले भूकम्पपछि नेपाली वस्तु चीन निर्यातमा समस्या भएको बताउँदै त्यसमा सहजीकरण गर्न माग गरेका पनि गरेका छौं । उहाँले पनि यो समस्याको समाधान गरी सहज वातावरणको सिर्जना गरी व्यपार व्यवसायलाई चलायमान बनाउने बताउनु भएको छ ।

सामानको मूल्यमा कतिको घटबढ छ ?

दिनप्रतिदिन महङ्गी बढ्दो छ । यस्तो अवस्थामा सामानको मूल्य घट्ने कुरै भएन । हामीले बाहिरबाट सामान आयात गर्दा पनि सामानको मूल्य सधैँ उच्च भएर आउँछ । मूल्य घट्नु भन्दा पनि बढ्दो अवस्थामा नै देखिन्छ ।

आयातमा समस्या भएकै कारण मल भित्रका सामानको मूल्य पनि बढेको हो ?

आयातमा समस्या हुँदा मलमा सामानको भाउ बढ्ने अन्त नबढ्ने भन्ने हुँदैन । व्यापारीले बैंकबाट ऋण ल्याएर व्यापार सञ्चालन गरेका हुन्छन् । आयात गरेका समान आउन ढिलो हुन्छ । यता बैंकको व्याज बढी रहेको हुन्छ । मलमामात्र सामानको भाउ महँगिने अन्त चाहिँ नमङ्गिने भने हुँदैन । आयातमा समस्या भएपछि सामानको बजारमा सामान कम पाउँछ । सामान कम पाए पछि मूल्य पनि स्वतः बढ्छ । सबै तिर समान भाउ बढेपछि मल भित्र पनि सामानको भाउ बढ्नु सामान्य कुरा हो ।

तपाईं आफै पनि सीभील मल व्यवसायी संघको अध्यक्ष हुनुहुन्छ, यो मल भित्र कस्तो कारोबार भइरहेको छ ?

कोभिडको समयमा त समस्या नै थियो । कतिपय व्यपारीहरु विस्थापित भएर गए । व्यपार सञ्चालन गर्ने सक्ने व्यपारीहरुले ऋण लिएर भए पनि सामान ल्याउन छाडेनन् । उनीहरूले गरेको व्यापार देखेर चलायमान हुँदै गएको होला भन्ने छ । मल भित्रको व्यापार चौपट नै भयो भन्ने अवस्था छैन । बैंक ऋण, भाडा बुझाउन समस्या भए पनि धानी रहेको अवस्था छ । यसमा हामीले पनि केही सहजीकरण गरिदिएका छौं । पछिल्लो समय यस मल भित्रको अवस्था राम्रो छ भने ग्राहकको संख्या दिनहुँ बढ्दै आएको कारण व्यापार चलिहेको छ ।

मलभित्र सामान महँगो र गुणस्तर पनि पाउन छाडेपछि मलमा ग्राहकहरू आउने छोडे भन्ने बुझाइ पनि धेरैको छ नि ?

मलभित्र पाउने सामानमा कुनै पनि शंका नगर्दा हुन्छ । मल भित्र वषौंदेखि व्यापार गर्दै आएका व्यपारीहरु छन् । उनीहरूलाई कस्ता खाले मान्छे मलमा आउँछन्, कस्ता सामान चाहिन्छ भन्ने विषयमा हाम्रा व्यापारीहरु पोख्त हुनुहुन्छ । त्यो भएकाले गुणस्तर सामान स्वतः छ । सामानको कमी पनि मलमा छैन । व्यापार सोचे अनुसार नहुनुको कारण अर्थतन्त्रमा आएको समस्या हो । बैंकबाट प्रशस्त ऋण लिन नपाउने खुलेर कुनै व्यापार व्यवसायमा लगानी गरिहालौं भन्ने अवस्था छैन । सपिङ गर्दा पनि अड्कलेर गर्नुपर्ने अवस्था छ । त्यति अफ्ठ्यारो अवस्था चाहिँ आएको छैन ।

मल जस्तै अरू मार्केटहरू बजारमा प्रशस्त मात्रमा खुलेका छन्, मलकै सामान मार्केटमा सस्तो र गुणस्तर पाउन थालेपछि मलमा किन आउने ?

समय परिवर्तनशील छ । मानिसहरू आधुनिकीकरणतर्फ लागि रहेका छन् । १३ वर्ष अघि सिभील महल सञ्चालन गर्दा नेपालमा धेरै मलहरू थिएनन् । अहिले पनि काठमाडौं भित्र करिब १२/१५ वटा मलहरू छन् । राम्रो क्वालिटीको प्रडक्ट पसलमा बेच्न पनि त्यही अनुसारको डेकुरेसनको आवश्यकता पर्छ । अन्य क्षेत्रमा पनि मल लेभलका पसलहरू खुलेका छन् । त्यसले केही न केही असर त पुर्याइ हाल्छ । त्यही पनि मल भित्रका सामान मन पराउने संख्या बढ्दो नै छ । त्यसैले मलमा मान्छेको चाप घटेको छैन । बढ्दो नै छ ।

अब मलको विकल्प खोज्ने समय आएको हो ?

समय सापेक्ष मललाई परिमार्जन गर्दै लानुपर्छ त्यो आफ्नो ठाउँमा छ । तर, मल सकियो भन्ने अवस्था छैन । मलको भविष्य उज्वल छ । त्यही भएर त देशका विभिन्न ठाउँमा पनि धमाधम मल बनिरहेको छन् । मल मानिसको रोजाइको केन्द्रमा पर्छ । अब मलको संख्या पनि बढ्दै जान्छ । सामान्य गल्लीका पसलका व्यापरीहरु अब मलमा अपडेट भएर जाने ट्रेन्ड चाहिँ बढिरहेको छ । मलमा निर्धक्क भएर लगानी गर्दा फरक पर्दैन ।

मल व्यवसायीको अहिलेको समस्या चाहिँ के हो ?

नेपालको आफ्नो प्रडक्ट यहाँ प्रोडक्सन छैन । र, हामीले भारत, चीन, बङ्गलादेश, थाइल्यान्ड, कोरिया लगायतदेशबाट आयात गरेर समान ल्याउनु पर्ने हुन्छ । नेपालमा उत्पादन नभएपछि आउने सामान सरकारले सहजीकरण गरिदिनु पर्याे । चाइनाका केरुङ नाकामा सरकारी स्तरबाट नै सहजीकरण गरिदिनु पर्छ । त्यो भयो भने हामीलाई पनि सहजीकरण हुन्छ । सो ठाउँमा नै ३÷४ महिना सामान थन्किदा स्वतः सामानको मूल्य बढ्न जान्छ । जसले गर्दा त्यो असर उपभोक्तामा पर्छ । राज्य स्तरबाट त्यो हेर्नु पर्याे । व्यापारी स्तरबाट समय सापेक्षिक सामानहरू राम्रो, गुणस्तर फेसेनेबल ल्याउने र मूल्य पनि सही तरिकाले बेच्न सक्ने हुन पर्याे । यसो गर्नाले मलको भविष्य राम्रो हुन्छ ।

मल भित्र भाडा महँगो भयो भन्ने गुनासो त व्यापारीको पहिलेदेखिको नै होनी है ?

टोलमा हुने पसलभन्दा मलको भाडा बढी नै छ । मलको भाडा बढी हुनुमा यहाँका सेवा सुविधाको कुराहरू पनि छन् । सरसफाइ, डेकुरेसन लगायतका सुविधा मलमा पाइन्छन् । यसले पनि भाडा बढी नै हुन्छ । वार्षिक ५ प्रतिशत मलको भाडा बढ्ने सिस्टम छ । तर, कोभिडपछि भाडा बढेको छैन । मल भित्रका व्यपारीहरुलाई पनि सक्ने सहजीकरण गर्दै आएका छौं ।

हामीले जुन मलमा बसेर काम गरिरहेका छौं । त्यो तपाईहरुको सेवाको लागि नै गरेको हो । तपाईहरुको नै सेवा सुविधाको लागि मल भित्र व्यपार व्यवसाय गरिरहेका छौं । छनोट अनुसारको सामान प्रशस्त मात्रमा मलमा सामानहरू उपलब्ध गराएका छौं । त्यो अनुसार नै मूल्यको पनि व्यवस्थापन गरेको हुन्छ । मल भित्र अति महँगो समान हुन्छ भनेर भ्रममा नपर्दा हुन्छ । किनकि सामानको गुणस्तर अनुसारको मूल्य पर्न जान्छ । त्यसैले मल सबैको रोजाइको केन्द्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.