व्यवसायीसँग गभर्नरले भने : इलिगल पैसा नकमाउनु, १० लाख मात्रै होइन ५० लाख पनि जम्मा गर्न पाउनुहुन्छ

  २०७९ असार २० गते १८:०१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुमा १० लाख भन्दा बढी रकम जम्मा गर्न हुँदैन भन्ने उद्योगी व्यवसायी र बैंकर्सहरु समेत दुविधामा रहेको बताएका छन् । सोमवार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएकोे हो ।

‘१० लाख भन्दा बढी पनि जम्मा गर्न पाउनुहुन्छ, कारोबार गर्दा क्यासमा कारोबार हुन सक्छ, ५० लाख पनि जम्मा गर्न पाउनुहुन्छ, बैंकमा १० लाख भन्दा बढी जम्मा हुँदै गर्दा टिटिआर रिर्पोट भन्छ, त्यस्तै धेरै पैसा दिनैपच्छिे जम्मा गदै जाँदा टिटिआर रिर्पोटको आधारमा खोज्नसक्छ तर अहिले सम्म बैंकको टिटिआरको रिपोर्टको आधारमा कारबाही गरेको छैन, पैसा जम्मा गर्नु हुँदैन भन्ने विषय पनि होइन, १० लाख भन्दा बढी पैसा जम्मा गर्नुहुन्न भनेर ९ लाख ९९ हजार जम्मा गर्ने अभ्यास नै नगर्न होला, बैंकको टिटिआर रिपोर्टबाट एसटिआरमा जान सक्छ, शंकास्पद हुन्छ, १० लाख भन्दा माथि पैसा जम्मा गर्नुहुन्न भने कुरा बिल्कुल होइनन्, हामीले इलिगल पैसा कमाउने कुरामा शतर्क हुनुपर्छ,’ उनले भने ।

गभर्नर अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने पनि बताएका छन् । उनले पछिल्लो समय अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेको बताए । गभर्नर अधिकारीले अहिले अर्थतन्त्रमा परेको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्तहरु नै यो वर्ष प्रयोग हुने अवस्था आएको बताए । उनले राष्ट्र बैंकले मौद्रिक नीति असार अन्तिममा ल्याउने तयारी गरेपनि सम्भव नहुँदा साउनको पहिलो साता मौद्रिक नीति ल्याउने बताए ।

गभर्नर अधिकारीले अर्थतन्त्रमा सेभिङ कमजोर हुँदै जाने र फजुल खर्चहरु बढ्दै जाने अवस्था भइरहेको बताए । उनले पछिल्लो समय व्यक्तिगत र समाजको खर्च गर्ने प्रवृतिमा सुधार नआएको बताए । गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र आयातमुखी अर्थतन्त्र रहेकाले त्यसको असरले अर्थतन्त्रको वाह्य क्षेत्रमा निकै ठूलो दबाब बढेको जिकिर गरे ।

उनले अर्थतन्त्र आयातमुखी हुँदा यो वर्ष देशबाट करिव ३ खर्ब रुपैयाँ ‘आउट फ्लो’ भएको बताए पैसा बाहिर पठाउँदा बैंकहरुले राष्ट्र बैंकसँग डलर किन्नुपर्ने र त्यसका लागि ठूलो रकम राष्ट्र बैंकमा आउने गरेकाले पनि बैंकिङ प्रणालीमा तरलताको समस्या भएको उनको भनाई छ ।

उनले बैंकको ब्याजदर बढ्दै जाने संकेत भएकाले उद्योगी व्यवसायीहरुले सहनुपर्ने बताए । गभर्नर अधिकारीले सरकार,राष्ट्र बैंक निजी क्षेत्र सबै मिलेर अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

उनले मौद्रिक नीतिहरु सर्पपनि मरोस्, लठ्ठी पनि नभाँचियोस् भन्ने गरी ल्याउनुपर्ने अवस्था रहेको बताए । गभर्नर अधिकारीले मौद्रिक नीति ल्याएपछि त्यसको कार्यान्वयन मुख्य कुरा भएको भन्दै गत वर्ष ल्याएका प्रत्येक नीति अहिले प्रमाणित र कार्यान्वयन भइरहेको दाबी गरे ।

उनले मौद्रिक नीति ल्याउँदा व्यक्ति व्यक्तिको पछि लागेर सम्भव नहुने भन्दै भोलिको मार्केटलाई सहज , समग्र अर्थतन्त्रलाई पनि सही ट्रयाकमा राख्ने र अर्थतन्त्रको समग्र प्रणालीलाई स्थायीत्व दिने राष्ट्र बैंकले तयारी गरिरहेको बताए ।

गभर्नर अधिकारीले अहिलेको बैंकिङ तरलता कम गर्न राष्ट्र बैंकले झन्डै ११२/१३ अर्बको रिफाइनान्स,झन्डै २५० को एससेलएफ सुविधामार्फत साढे ३ खर्ब बैंकहरुलाई दिएको बताए ।

‘बैंक तथा वित्तिय संस्थाहरु अलिकति ‘टाइट’ हुँदै गएपछि मार्केटको सिद्धान्त अर्थात माग र आपूर्तिको सिद्धान्त अनुसार नै अघि बढ्ने हो, बेसरेट पनि अझै प्रि कोभिडको लेभलमा पुगेको छैन्, कर्जाको एभरेज रेट पनि प्रि कोभिडको अवस्थामा पुगेको छैन, कर्जाको एभरेज रेट प्रि कोभिडमा पुगेको छैन तर, संकेतहरु भने बेस रेट र कर्जाको रेट अझै यो भन्दा पनि माथि जाने खालको देखाइरहको छ,’ उनले भने ।

गभर्नर अधिकारीले उद्योगी व्यवसायीहरु अवैधानिक माध्यमबाट पैसा कमाउने कुरामा शतर्क रहनुपर्ने भन्दै उद्योग खोलेर,अरुलाई रोजगारी र राज्यलाई कर तिरेको जति पनि पैसा बैंकमा जम्मा हुने बताए । उनले अवैधानिक रुपमा कमाएको पैसालाई बैंकिङ प्रणालीमार्फत बाहिर ल्याउँछु भन्ने सोच्न नहुने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.