ट्रमा सेन्टरले साउनदेखि २४ घण्टा विशेषज्ञ सेवा दिने

  २०७९ असार २० गते १७:२४     विकासन्युज

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले २४सै घण्टा बिरामीलाई विशेषज्ञसहिताको सुविधा उपलब्ध गराउने भएको छ ।

आगामी साउनदेखि बिरामीलाई २४सै घण्टा विशेषज्ञसहितको सुविधा उपलब्ध गराउने सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद यादवले जानकारी दिए । ‘हामीसँग धेरै विशेषज्ञ चिकित्सक छन्’, उनले भने, ‘आफ्नै आन्तरिक स्रोतबाट ती विशेषज्ञ चिकित्सकबाट २४सै घण्टा बिरामीलाई उपचार गर्दछौँ ।’

अस्पतालमा अहिले १०० भन्दाबढी विशेषज्ञ चिकित्सक छन् । ती चिकित्सकलाई पालैपिलो ड्युटीको समय मिलाइनेछ । यस्तै उक्त सेन्टरले अब आफैँ बिरामी र कुरुवालाई खानाको व्यवस्था गर्ने भएको छ । यसअघि वीर अस्पतालबाट बिरामी र कुरुवाका लागि खानाको व्यवस्था गरिँदै आइएकामा अबदेखि सेन्टरबाट नै खानाको व्यवस्था गर्न थालिएको पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद जोशीले बताए ।

उनका अनुसार सेन्टरमा दैनिक १५० बिरामीलाई दुई छाक र तिनका कुरुवालाई एक छाक खाना उपलब्ध गराइनेछ । यस्तै सेन्टर अप्रेशन थिएटर र फार्मेसी पनि सञ्चालनको तयारीमा छ ।

शल्यक्रिया गर्न बिरामीलाई सजिलो होस् भनेर शल्यक्रिया कक्ष नजिक नै सेन्टरले अप्रेशन थिएटर र फार्मेसी सञ्चालन गर्न थालेको पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा जोशीले जानकारी दिए । डा. जोशी हालै ट्रमा सेन्टरबाट धनगढीस्थित गेटा मेडिकल कलेजमा निर्देशकरुपमा सरुवा भएका छन् ।

‘ओरल म्याक्सिलो फेसियल सर्जन’ सेवा

यस्तै सेन्टरले ‘ओरल म्याक्सिलो फेसियल सर्जन’ सेवा पनि सुरुआत गरेको छ । दाँतको माथिल्लो र तल्लो भागको शल्यक्रिया गरेर उपचार गर्नका लागि यस्तो सुरु गरिएको उनले जानकारी दिए ।

दाँतमा धेरैजसो अग्लो ठाउँबाट खसेर यस्तो समस्या आउने गर्दछ । उक्त सेवाका लागि दुई विशेषज्ञ दन्त चिकित्सकको टोली रहेको छ ।

यसैगरी अस्पतालले ‘वन स्टेप क्राइसिस म्यानेजमेन्ट’ सेवा पनि सुरु गरेको छ । बिरामीको उपचारदेखि पुनःस्थापनासम्मका लागि सेन्टरले उक्त सेवा सुरु गरेको हो । विसं २०७१ देखि सञ्चालनमा आएको ट्रमा सेन्टरमा दैनिक ४५० बिरामी उपचारका लागि आउने गर्दछन् ।

घाइतेको उपचार गर्नका लागि स्थापना गरिएको सेन्टरमा २०० शय्या, ११ सघन उपचार कक्ष (आइसियु), ३२ आकस्मिक शय्या रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.