नबिलसहित ५ बैंकले बढाए सेयरधितो कर्जा, कुनले बढाए, कुनले घटाए ?

  २०७९ असार २० गते १८:००     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा कडाइ गरेपनि केही वाणिज्य बैंकले भने कर्जा लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको बैशाखसम्म ५ वटा वाणिज्य बैंकहरुले सेयर धितो कर्जा लगानी बढाएका हुन् ।

चालु आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति मार्फत् सेयरधितो कर्जामा ४/१२ करोडको नीति ल्याएको राष्ट्र बैंकले एकाघरको एक जना वा एउटा कम्पनीले एउटा बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ४ करोड र बैंकिङ क्षेत्रबाटै १२ करोड रुपैयाँसम्म सेयरधितो कर्जा लिन पाउने व्यवस्था गरको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सो नीतिपछि अधिकांश वाणिज्य बैंकहरूले मार्जिन प्रकृतिको सेयरधितो कर्जा घटाएका छन् भने ५ वटा वाणिज्य बैंकहरूले झन् बढाएका छन् । सबैभन्दा बढी नबिल बैंकले बढाएको छ ।

नबिल बैंकले ७९ करोड रूपैयाँ सेयर धितो कर्जा बढाएको छ । नबिलसँगै सनराइज, बैंक अफ काठमाण्डू, माछापुच्छ्रे र नेपाल एसबिआई बैंकले गत वर्षको असारको तुलनामा सेयर धितो कर्जा बढाएका छन् । नेपाल एसबिआई बैंकले भने गत वर्षको असारमा सेयर धितो कर्जा प्रवाह गरेको थिएन । यो वर्षको बैशाखसम्म भने नेपाल एसबिआई बैंकले ३ करोड ६० लाख रूपैयाँ सेयरधितो कर्जा प्रवाह गरेको छ ।

वाणिज्य बैंकहरूले गत वर्षको असार मसान्तसम्मको तुलनामा चालु आवको बैशाखसम्म १५ अर्ब ७५ करोड २० लाख ३६ हजार रूपैयाँले सेयर धितो कर्जा घटाएका छन् । गत वर्षको असारसम्म वाणिज्य बैंकहरूले कुल ९० अर्ब ९२ करोड १० लाख रूपैयाँ कर्जा लगानी गरेका थिए ।

यस्तै, वाणिज्य बैंकहरूले चालु आवको बैशाखसम्म कुल ७५ अर्ब १६ करोड ८० लाख ८४ हजार रूपैयाँ सेयर धितो कर्जा लगानी गरेका छन् । जुन गत वर्षको असार मसान्तसम्मको तुलनामा २०.९५ प्रतिशतले कम हो ।

हालसम्म सबैभन्दा बढी सेयर धितो कर्जा लगानी भने ग्लोबल आईएमई बैंकले गरेको छ । यस बैंकले ६ अर्ब ८१ करोड ६० लाख रूपैयाँ सेयर धितो कर्जा लगानी गरेको छ । तर, ग्लोबल आईएमई बैंकले कर्जा घटाउँदै गएको छ । गत असारमा यस बैंकले कुल ७ अर्ब १४ अर्ब ४० करोड रूपैयाँ सेयर धितो कर्जा लगानी गरेको थियो ।

यस्तै, सेयर धितो कर्जा लगानी गर्ने दोस्रो बैंकका रूपमा नबिल देखिएको छ । नबिल बैंकले चालु आबको बैशाखसम्म ६ अर्ब ७९ करोड ९० लाख रूपैयाँ कर्जा लगानी गरेको छ ।

गत असारको तुलनामा राष्ट्रिय वाणिज्य बैंकले पनि सेयर धितो कर्जा घटाएको छ । बैंकले १ अर्ब १९ करोड रूपैयाँले सेयर धितो कर्जा घटाएको छ । बढी सेयर धितो कर्जा लगानी गर्ने बैंकहरूमा नेपाल बैंक, सिद्धार्थ बैंक र सिटिजन्स बैंक पनि रहेका छन् ।

गत वर्ष असारको तुलनामा सनराइज बैंकले १७ करोड १० लाख, बैंक अफ काठमाण्डूले ४४ करोड १० लाख, माछापुच्छ्रे ६७ करोड १० लाख र कृषि विकास बैंकले ८५ करोड ८० लाख रूपैयाँले सेयर धितो कर्जा बढाएका छन् ।

नेपाल राष्ट्र बैंकले सेयर बजारमा बैंकहरूको बढी लगानी नजाओस् भन्ने रणनीतिका साथ ४/१२ करोडको नीति ल्याएको थियो । आफ्नो नीति अनुसार काम भइरहेको पनि राष्ट्र बैंकको धारणा छ । नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता राष्ट्र बैंकको नीति अनुसार वाणिज्य बैंकहरूले १० महिनामा २० प्रतिशत कर्जा घटाउनु राम्रो सन्देश भएको बताउँछन् ।

‘राष्ट्र बैंकले कुनै पनि नीति ल्याउँदा दीर्घकालिन रूपमा हेरेर ल्याउँछ, हामीले यसको नतिजा बल्ल पाइरहेका छौं, अझै पाउन बाँकी छ, राष्ट्र बैंकले नीति ल्याएपछि त्यसलाई छोटो अवधिमै परिवर्तन गर्ने विषयलाई सोच्न पनि सक्दैन, किनकि नीति ल्याउनुभन्दा अगाडि त्यसको वृहत अध्ययन तथा त्यसका भित्रि प्यारामिटरहरू केलाएर नै ल्याउँछ, त्यसैले पनि हामीले ४/१२ को नीति ल्याएका हौं,’ उनले भने ।

धेरैले नेपाल राष्ट्र बैंकले ४/१२ करोडको नीतिकै कारण सेयर बजार घटेको धारणा पनि राखिरहेको बेला राष्ट्र बैंक भने त्यसमा सहमत छैन । त्यसैले, आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् पनि ४/१२ करोडको नीतिलाई निरन्तरता दिने राष्ट्र बैंकको आन्तरिक तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.