निक्षेपसँगै कर्जा लगानीमा आक्रामक बन्दै लघुवित्तहरु, ८७ प्रतिशतले बढ्यो निष्कृय कर्जा

  २०७९ असार २० गते १६:५८     विकासन्युज

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरु निक्षेप संकलनसँगै कर्जा लगानीमा आक्रामक देखिएका छन् । नेपाल राष्ट्र बैंकका अुनसार आर्थिक वर्ष २०७७/७८ मा सञ्चालित ७० वटा लघुवित्तहरुको कुल निक्षेप तथा सापटीमा ३५.९७ प्रतिशत र कर्जा ३९.१४ प्रतिशतले बढेको छ ।

बैंकका अनुसार २०७८ असारसम्ममा लघुवित्तहरुले ३ खर्ब ३७ अर्ब ६२ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेका छन् । जुन २०७७ असारसम्ममा २ खर्ब ४८ अर्ब ३१ करोड रुपैयाँ थियो ।

त्यस्तै, लघुवित्तहरुले २०७८ असारसम्मा ३ खर्ब ६५ अर्ब ५५ करोड रुपैयाँ बराबरको कर्जा तथा सापटी गरेका छन् । जुन अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब ६२ अर्ब ७२ करोड रुपैयाँ थियो ।

यससँगै समीक्षा अवधिमा लघुवित्तको कर्जा र निक्षेप तथा सापटी अनुपात १०५.८० प्रतिशतबाट बढेर १०८.२७ प्रतिशत पुगेको छ । त्यसैगरी, लघुवित्तको निष्कृय कर्जा अघिल्लो वर्षको तुलनामा ८७.८३ प्रतिशतले बढेको छ । अर्थात २०७८ असार मसान्तमा लघुवित्तको निष्कृय कर्जा मात्रै ९ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा संस्थाको जोखिम भारित सम्पत्तिमा ३८.३१ प्रतिशत र लगानीमा ६१.३६ प्रतिशतले वृद्धि भएको देखिन्छ । बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदन अनुसार सो मात्राको वृद्धि देखिएको हो ।

बैंकको उक्त प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ब्याज खर्चमा १५.६४ प्रतिशतले कमी आएको र ब्याज आम्दानीमा ११.०५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, सञ्चालन आम्दानीमा ७७.४१ प्रतिशतले वृद्धि भई खुद नाफामा पनि १४६.७१ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाउँछ ।

घट्यो लघुवित्तका संख्या
२०७७ असार मसान्तमा ८४ वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा घटेर ७० वटामा सीमित भएका छन् । सो अवधिमा १५ संस्था मर्ज वा प्राप्तिमा गएको र थप एक संस्थाले वित्तीय कारोवार गर्ने स्वीकृति पाएको थियो ।

जसमध्ये राष्ट्रियस्तरका ४७, प्रदेशस्तरका १५, १९ जिल्ला कार्यक्षेत्र भएको १, ४-१० जिल्ला कार्यक्षेत्र भएको ६ र १-३ जिल्ला कार्यक्षेत्र भएका १ संस्था, २ संस्था सर्वसाधारणहरुबाट निक्षेप स्वीकार गर्ने र ६८ संस्था सर्वसाधारणहरुबाट निक्षेप स्वीकार नगर्ने, ४ संस्था थोक कर्जा कारोवार गर्ने र ६६ संस्था खुद्रा कारोबार गर्ने संस्थाहरु रहेका छन् ।

२०७८ असार मसान्तसम्ममा ७० लघुवित्त वित्तीय संस्थाले ४ ह जार ६२१ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएका छन् । लघुवित्त संस्थाहरुको केन्द्र संख्या ३ लाख ६२ हजार ९ सय ८२, समूह संख्या ११ लाख ८३ हजार ३ सय ६४, सदस्य संख्या ५१ लाख ९१ हजार ३ सय ६३ तथा ऋणी संख्या २९ लाख ९२ हजार ६८ रहेका छन् । लघुवित्त वित्तीय संस्थाको उपस्थिति ७७ जिल्लामा रहेको छ ।

त्यसैगरी, २०७८ असार मसान्तमा लघुवित्त संस्थाहरुमा २० हजार ८ सय ७२ जना कर्मचारीहरु कार्यरत रहेको देखिन्छ भने लघुवित्त वित्तीय संस्थाहरुको प्रति शाखाले औसतमा १ हजार १२३ सदस्यहरुलाई सेवा दिइरहेको छ ।

नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७४ को आधारमा यस विभागबाट स्थलगत निरीक्षण, गैरस्थलगत सुपरिवेक्षण, लक्षित स्थलगत निरीक्षण, विशेष निरीक्षण तथा अनुगमन गरिँदै आएको छ । आर्थिक वर्ष २०७७/७८ मा कोभिड-१९ को प्रभावको कारण कार्ययोजना अनुरुप निरीक्षण कार्य सम्पन्न गर्न नसकिए तापनि उक्त अवधिमा १४ लघुवित्त वित्तीय संस्थाहरुको स्थलगत निरीक्षण र एक मात्र लघुवित्त वित्तीय संस्थाको विशेष स्थलगत निरीक्षण गरिएको बैंकले जनाएको छ ।

लघुवित्तहरुले नेपाल राष्ट्र बैङ्कबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरी वित्तीय कारोबार गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.