२६ अस्पतालमा परिचयपत्र देखाएर गर्न सकिन्छ नि:शुल्क उपचार

  २०७९ असार २० गते १२:४१     विकासन्युज

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकले विभिन्न २६ अस्पतालमा परिचयपत्र (कार्ड) देखाएर निशुल्क रुपमा उपचार गर्न पाउने भएका छन् ।

कोषले सातै प्रदेशमा रहेका २६ अस्पतासँग कोषको परिचयपत्र देखाएर निशुल्क रुपमा उपचार गर्न सकिने व्यवस्था गरेको हो ।

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सोमबार मन्त्रालयमा एक कार्यक्रममार्फत उक्त सेवाको शुभारम्भ गरेका हुन । मन्त्रीले उक्त सेवाको सुभारम्भ गरेसँगै कोषमा आवद्ध श्रमिकले अब निशुल्क रुपमा उपचार गराउन पाउने भएका हुन ।

यसअघि श्रमिकले अस्पतालले दिएको बिल कोषमा बुझाएर भुक्तानी लिदै आएका थिए । सुरुवाती चरणमा विभिन्न २६ वटा अस्पतालसँग कोषले सम्झौता गरेसँगै अव बिल बोकेर कोष धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

अनलाइनप्रणाली अन्तर्गत केही प्रदेश र काठमाडौं उपत्यकाका अस्पताल सहभागी रहेको कोषका निर्देशक उत्तमराज नेपालले जानकारी दिए । उनका अनुसार कोषको परिचयपत्र देखाएर अनलाइन प्रणालीमार्फत सेवा दिने अस्पतालमा वागमतीका ९ अस्पताल र प्रदेश १ का ८, प्रदेश २ का ५, लुम्बिनीका ३ र गण्डकीका १ अस्पताल छन् ।

जसमा झापाका मनमोहन मेमोरियल पुर्वाञ्चल क्षेत्रिय सामुदायिक अस्पताल, बीएन्सी हस्पीटल, मेची दृष्टि आइ केयर अस्पताल एण्ड रिसर्च सेन्टर, मोरङका विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, नोवेल मेडिकल कलेज, हाम्रो अस्पताल, सुनसरीको पशुपति मोडेल हस्पिटल, सप्तरीको छिनमस्ता एजुकेसनल एकेडेमी एण्ड मेडिकल कलेज, सर्लाहीको नमुना सामुदायिक अस्पताल, पर्साको नेशनल मेडिकल कलेज, विरगन्ज हेल्थ केयर र बिरजञ्ज दृष्टि आई केयर सेन्टरमा परिचयत्र देखाएर निशुल्क उपचार गर्न सकिनेछ ।

यस्तै, चितवनको कलेज अफ मेडिकल साइन्सेन (पुरानो मेडिकल कलेज), रुपन्देहीको युनिभर्सल कलेन अफ मेडिकल साइन्स, बाँकेको लर्ड बुद्ध एजुकेसनल फाउन्डेसन (नेपालगञ्ज मेडिकल कलेज), काभ्रेपलान्चोकको शिर मेमोरियल अस्पताल, काठमाडौंको हेल्पिङ ह्याण्ड सामुदायिक अस्पताल, त्रिवी शिक्षण अस्पताल, वीर अस्पताल, अर्थाेपेडिक अस्पताल, दृष्टि आई केयर, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र पाटन अस्पताल ललितपुरमा परिचयपत्र देखाएउ निशुल्क रुपमा उपचार गर्न सकिनेछ ।

कोषले सूचना प्रविधि प्रणालीमा आवद्धतासँगै अन्य अस्पतालहरुको सूचि सार्वजनिक गर्दै जाने जनाएको छ ।

कोषका अनुसार औषधिउपचार सेवा लिन नियमित रूपमा ३ महिनासम्म योगदान रकम जम्मा भएको हुनुपर्ने र व्यक्तिगत ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक भएको हुनुपर्नेछ ।

अनलाइन प्रणालीबाट औषधि उपचार सेवा लिन जाँदा योगदानकर्ताले सामाजिक सुरक्षा कोषले उपलब्ध गराएको रंगिन (फोटोसमेत चिनिने खालको) परिचयपत्र अस्पताल प्रशासनलाई देखाउनुपर्छ ।

काेषले हालसम्म १२६ वटा अस्पतालसँग सेवा प्रवाहका लागि सम्झाैता गरिसकेकाे छ । सम्झाैता भएका उक्त अस्पतालमध्ये काेषले पहिलाे चरणमा २६ अस्पताल स्वचालित प्रणालीमा आवद्ध भएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.