निजामती कर्मचारीका ७ सय २ जना छोराछोरीले छात्रवृत्ति पाउने

  २०७९ असार १९ गते १६:४५     विकासन्युज

काठमाडौं । निजामती कर्मचारीका ७ सय २ जना छोराछोरीले नेपाल सरकारको तर्फबाट छात्रवृत्ति पाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १७ गते सूचना प्रकाशन गदैं निजामती कर्मचारीका ७ सय २ जना छोराछोरी अध्ययनको लागि छात्रवृत्तिमा छनौट भएको जनाएको छ ।

इन्जिनियर, चिकित्सा शिक्षा, व्यवस्थापन, विज्ञान, सूचना प्रविधि, वन विज्ञान, कानून आदि लगायतको संकायमा स्नातक स्तरमा अध्ययन गर्ने निजामती कर्मचारीका छोराछोरी छात्रवृत्तिका लागि छनौट भएको मन्त्रालयले जनाएको छ । निजामती कर्मचारीका सन्तानलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने सम्बन्धी निर्देशिका, २०७८ अनुसार सो छात्रवृत्ति नेपालको शैक्षणिक संस्थामा स्नातक वा सो सरहको अध्ययन गरेको निजामति कर्मचारीको छोराछोरीले प्राप्त गर्नेछ ।

निर्देशिकाअनुसार १ लाख भन्दा कम शुल्क लाग्ने शैक्षिक कार्यक्रम अध्ययन गरेको विद्यार्थीले पुरै शुल्क र बढीमा ५ लाख सम्म छात्रवृत्ति पाउने व्यवस्था रहेको छ । त्यसरी छात्रवृत्ति प्राप्त गर्नको लागि नेपाली विश्वविद्यालय वा त्यसको आंगिक वा सम्बन्धन क्याम्पसमा भर्ना भई अध्ययन गरेको हुनुपर्ने व्यवस्था रहेको छ । त्यस्तै निर्देशिका बमोजिम २५ वर्ष उमेर पुरा नभएको र सार्वजनिक सेवामा जागिर नखाएको निजामती कर्मचारीको छोराछोरीले मात्रै त्यस्तो सुविधा प्राप्त गर्न सक्छन् ।

छनौट भएका विद्यार्थीलाई छात्रवृत्तिको लागि सहजिकरण गर्न मन्त्रालयले असार १९ गते सम्बन्धित कलेजहरुलाई परिपत्र जारी गर्दै अनुरोध गरिएको मन्त्रालयका शाखा अधिकृत आनन्दरामा श्रेष्ठले बताएका छन् । मन्त्रालयकाअनुसार यसरी निजामती कर्मचारीको छोराछोरीको लागि छात्रवृत्तिवापत झण्डै १० करोड रकम विनियोजन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.