दुई ठूला मर्जबाट नयाँ ट्रेण्ड सेट, बराबरी हैसियत खोज्दै नयाँ बैंक

  २०७९ असार १७ गते ९:२८     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकमा बैंक अफ काठमाण्डू (बीओके) बराबरीको हैसिएतमा गाभिने सहमति भयो  । दुई बैंकबीच मर्जमा सेयर स्वाप रेसियो १००ः१०० नै हुनेगरी सम्झौता भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालबीच मर्ज हुँदैछ । यसमा सेयर स्वाप रेसियो १००ः९० हुने सम्झौता भएको छ । इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य १०० मान्दा मेगा बैंकको ९० रुपैयाँ मानेर मर्ज हुँदैछ ।

मर्जको सम्झौता हुनुअघि ग्लोबलको भन्दा बैंक अफ काडमाण्डूको सेयर मूल्य बजारमा १०.५७ प्रतिशत कम थियो । बजारमा ग्लोवल आईएमई बैंकको सेयर मूल्य २५१ रुपैयाँमा कारोबार हुँदै गर्दा बैंक अफ काठमाण्डूको सेयर २२७ रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै, मर्ज सम्झौता हुनुपूर्व इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य २६५ हुँदा मेगा बैंकको सेयर मूल्य २२६ रुपैयाँ थियो । बजार मूल्य १७ प्रतिशत कम भएको मेघाले १० प्रतिशत कम मूल्यमा इन्भेष्टमेन्टसँग मर्ज सम्झौता गर्यो ।

मर्जको क्रममा पछिल्लो समय बैंक अफ काठमाण्डू र मेगा बैंकले उच्चतम मूल्य पाएको विश्लेषण गरिदैछ । र, यी दुई ठूला मर्जले बैकिङ क्षेत्रको मर्जमा नयाँ ट्रेन सेट गरिदिएको छ ।

३६ वर्ष पुरानो इन्भेष्टभेन्ट बैंक र १२ वर्ष पुरानो मेगा बैंक झण्डै हाराहारीमा मर्ज हुँदा र निजी क्षेत्रको सबैभन्दा ठूलो ग्लोवल आइएमई बैंक र पछिल्लो समय छायामा रहेको बैंक अफ काठमाण्डूबीच बराबरी हैसियतमा मर्ज हुने भएपछि बजारमा मर्जको लागि तयार भएर बसेको नयाँ बैंकहरुको बार्गेनिङ पावर बढेको छ ।

स्रोतका अनुसार सबैभन्दा कान्छो सिभिल बैंकले हिमालयन बैंकसँग मर्जको लागि छलफल गरिरहेको छ । उसले स्वाप रेसियो हिमालयनको १०० हुँदा सिभिलको ९० हुनुपर्ने दावी गर्दै आएको छ । हिमालयन र इन्भेष्टमेन्ट मर्जको प्रक्रियामा जाँदा १ः१ स्वाप रेसियो सम्झौता भएको, अहिले इन्भेष्टमेन्ट बैंकले मेगालाई ९० रुपैयाँ दिन तयार भएको उदाहरण दिँदै आफूहरुको दावी ९० रुपैयाँ भएको सिभिल बैंकका एक सञ्चालकले बताए । त्यसमा नाम, सञ्चालक समिति, सीईओ सबै छोड्न सकिने सिभिलले संकेत दिएको छ ।

हिमालयनसँग कुरा नमिल्दाको विकल्पमा लक्ष्मी बैंकसँग मर्जबारे कुरा चलाएको सिभिलको दावी छ । जहाँ नाम, सञ्चालक समिति, उच्च व्यवस्थापनमा बराबरी हिस्सा माग गर्दै स्वाप रेसियो पनि बराबरीको माग गरेको छ ।

सिभिलले जस्तै सेन्चुरीले पनि बराबरीको हैसियत माग गरेकाे छ । नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) बैंकको त झनै मूल्यवृद्धि भएको छ । एक वर्षअघि नविल बैंकले एनसीसीलाई ३५ रुपैयाँ भन्दा बढी दिन तयार भएन । एनसीसीका प्रवद्र्धकले ४० रुपैयाँ मागेका थिए । ३८ रुपैयाँसम्म मिल्नु पर्ने मध्यमार्गी प्रस्ताव पनि आएको थियो । तर, त्यतिबेला भाँडियो ।

एनबी बैंक प्राप्ति प्रक्रियासँगै नबिल बैंकले फेरी एनसीसी बैंकसँग छलफल अगाडि बढाएको छ । नबिलले ४० दिन तयार हुँदा एनसीसी बैंकका प्रवद्र्धक त्यसमा मन्जुर भएका छैनन् । त्यसको आधार पनि मेगा र इन्भेष्टमेन्ट, ग्लोबल र बिओकीबीचको स्वाप रेसियो हो ।

साथै, एकै वर्गको लाइसेन्स, समान व्याजदरमा प्रतिस्पर्धा गर्नु पर्ने र सर्बसाधारणले पनि सबै बैंकलाई समान रुपमा हेर्न थालेकाले पूराना र ठूला बैंकहरुको वार्गेनिङ पावर गुम्दै गएको विश्लेषण गरिएको छ । अब हुने मर्जमा स्वाप रेसियो नबिल र एनबी बैंकमा जस्तो ठूलो अन्तर हुनै नसक्ने जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.