अष्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअपको नाममा ठगी गर्ने गिरोह सक्रिय

  २०७९ असार १३ गते १६:४६     विकासन्युज

काठमाडौं । विभिन्न डिजीटल माध्यमको दुरुपयोग गर्दै अस्ट्रेलिया जानका लागि मेडिकल चेकजाँच छिटो गराइदिने नाममा गिरोहहरुले ठगीधन्दा चलाइरहेको खुलेको छ ।

नर्भिक इन्टरनेशल हस्पिटलले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जाल, इमेल र वेबसाइटमार्फत अष्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअप छिटो गराइदिने भन्दै विभिन्न गिरोहले ठगीधन्दा चलाएको सार्वजनिक गरेको हो ।

अस्ट्रेलिया जानुअघि आवश्यक मेडिकल चेकअप नर्भिक हस्पिटलमा हुने गरेको छ । मेडिकलका लागि डेट लिने वा छिटो डेट चाहिनेले अनलाइनबाटै आवेदन दिनुपर्ने हुन्छ । ‘अष्ट्रेलियाका लागि मेडिकल चेकअप गराउनुपर्नेले अनलाइनबाटै बुकिङ र छिटो डेट चाहिनेले अनलाइनबाटै रिसेड्यूल गर्नुबाहेक अर्को विकल्प नभएको समेत जानकारी गराउँदछौं,’अस्पतालले सोमबार जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।

हस्पिटलले अनधिकृत रुपमा विभिन्न गिरोहहरुले दिएको प्रलोभनमा नफस्न र ठगिनबाट जोगिन समेत आह्वान गरेको छ ।

नर्भिकको नाम दुरुपयोग गरी सर्वसाधारण ठगी गरिरहेको गिरोहको विषयमा हस्पिटल व्यवस्थापनले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी समेत दिइसकेको जनाएको छ । हस्पिटलले यस्ता गिरोहका पछि नलाग्न, त्यस्ताको विषयमा हस्पिटल प्रशासन वा प्रहरीलाई खबर गरिदिन समेत आह्वान गरेको छ ।

विज्ञप्तिका अनुसार मेडिकल चेकअपको विषयमा केही बुझ्नुपरेमा वा कुनै द्विविधा भएमा हस्पिटलको सम्पर्क नम्बर ०१५९७००३२ तथा ह्वाट्सअप वा भाइबर नम्बर ९८८०८८८००० मा सोझै सम्पर्क राख्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.