पैसा तान्न बैंकहरुका आकर्षक योजना : १२% ब्याज, चार गुणा प्रतिफलदेखि ९० प्रतिशत ऋणसम्म

  २०७९ असार १२ गते १५:२४     विकासन्युज

काठमाडौं । बैंकिङ प्रणालीमा तरलताको अभाव भइरहेको बेला वाणिज्य र विकास बैंकहरुले आकर्षक बचत खाता योजना सार्वजनिक गरेका छन् । सर्वसाधारणबाट निक्षेप तान्नकै लागि बैंकहरुले उच्च ब्याज तथा आकर्षक योजनासहित बचत खाता योजना सार्वजनिक गरिरहेका हुन् ।

बैंकहरुमा हाल कुल ४९ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप छ भने ४७ खर्ब ८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरुले असार मसान्तभित्रै कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गर्नु पर्ने अवस्था छ । त्यसका लागि पनि बैंकहरुलाई निक्षेप बढाउनु पर्ने दबाब छ । निक्षेप बढाउनका लाग नै विभिन्न बैंकहरुले आकर्षक योजनासहित बचत खाता सार्वजनिक गरिरहेका छन् । यस्तै, निक्षेप बढाउनकै लागि डलर बचत खाता योजना पनि सार्वजनिक गरिरहेका छन् ।

यस्ता छन् बचत खाता योजना

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले निक्षेप योजनामा सर्वाधिक फाइदाले भरिपूर्ण ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ योजना सार्वजनिक गरेको छ । उक्त योजनामा ग्राहकहरूलाई उच्च प्रतिफलको साथमा बीमासम्बन्धी ३ सुरक्षाका फाइदा, कर्जासम्बन्धी ३ फाइदा तथा १८ अन्य अतुलनीय फाइदा प्रदान गरिने बैंकले जनाएको छ । बैंकका अनुसार उक्त योजनाअन्तर्गत खाता खोल्ने ग्राहक महानुभावहरूले २१ लाख रूपैयाँसम्मको ३ प्रकारका बीमा सुविधा प्राप्त गर्न सक्ने छन् । जसअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रू १० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि रू १० लाखसम्मको बीमा सुविधा र १ लाख रूपैयाँसम्मको औषधोपचार बीमा सुविधा प्राप्त गर्न सक्नेछन् ।

सर्वश्रेष्ठ बचत खातामा आकर्षक स्विप इन–स्विप आउट सुविधासमेत रहेको छ । जसअन्तर्गत बैंकले सर्वश्रेष्ठ बचत खातामा २ लाख रूपैयाँभन्दा बढी रकम भएमा उक्त बढी रकमलाई १० हजार रूपैयाँले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र सो रकममा १०.१० प्रतिशतसम्मको ब्याजदर प्रदान गर्ने बताएको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे स्मार्ट मुद्धती खाता संचालनमा ल्याएको छ । उक्त खाता अन्तर्गत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्ने बताइएको छ । माछापुच्छ्रे स्मार्ट मुद्धती खाता न्यूनतम ५० हजारमा नै खोल्न सकिनेछ । साथै बैंकले यस खातामा साँवा रकमको ९० प्रतिशतसम्म ऋण ग्राहकलाई प्रदान गर्नेछ ।

एनएमबि बैंक

एनएमबि बैंकले दुई नयाँ मुद्दती योजना ल्याएको छ । बैंकले ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ गरी दुई योजना सार्वजनिक गरेको हो । जसमध्ये ‘एनएमबि डबल मुद्दती योजना’ अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार रुपैयाँ वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिनापछि सो रकम डबल हुनेछ ।

त्यसैगरी, ‘एनएमबि जन्मभूमि डबल मुद्दती योजना’ मा नेपालीहरुले वैदेशिक रोजगारीबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ । सोही योजना अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले आफ्नो मुद्दती रकमको ९० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८० प्रतिशतसम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ ।

सेञ्चुरी बैंक

सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी डबल धमाका मद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुनणा रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् । सेञ्चुरी डबल धमाका मद्धती खाता न्यूनतम १० हजार रुपैयाँमा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकलाई मोबाइल बैंकिंङ, भिसा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ । साथै, यस खातामा साँवा रकमको ८० प्रतिशतसम्म ऋणपनि लिन सकिनेछ ।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले ग्राहक लक्षित आकर्षक प्रतिफल तथा विशेषतायुक्त बिओके सुपर मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । बैंक अफ काठमाण्डूले बिओके सुपर बचत खातामा बचत रकमको २ गुणादेखि अधिकतम ४ गुणासम्म प्रतिफल दिन्छ । ‘बिओके सुपर मुद्दतीमा लगानी, भविष्यको लागि सुरक्षित आम्दानी’ नारासहित बैंकले ६ वर्ष ५ महिनामा निक्षेपको २ गुण देखी १३ वर्षमा निक्षेपको चार गुणासम्मको प्रतिफल योजना ल्याएको हो । यस्तो प्रतिफल प्रतिशतमा नभएर अब कुल निक्षेपको चार गुणा पाइने बैंकले जनाएको छ ।
खासगरी बिओके सुपर मुद्दती खातामा तीन किसिमको योजना ल्याएको बैंकले ६ वर्ष ५ महिनामा दुई गुणा, १० वर्ष ३ महिनामा तीन गुणा र १३ वर्षको मुद्दती निक्षेपमा अधिकतम चार गुणासम्म प्रतिफल दिने जनाएको छ । यद्यपि, यस्तो निक्षेपका लागि निक्षेपकर्ताले न्यूनतम ५० हजार रुपैयाँ खातामा राख्नुपर्नेछ ।

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकले धनवृद्धि योजना अन्तर्गत आकर्षक मुद्धती खाता संचालनमा ल्याएको छ । बैंकले यस योजना अन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा दुई गुणा तथा १० वर्ष ३ महिनामा ३ गुणाभन्दा बढी प्रतिफल दिने मुद्धती खाता संचालनमा ल्याएको हो । बैंकका अनुसार उक्त खातामा ब्याज सावाँमा पुँजीकृत हुँदै परिपक्वता पश्चात एकमुष्ट रकम भुक्तानी हुनेछ । बैंकले ग्राहकहरुलाई खातामा रहेको सावाँ रकमको ९० प्रतिशतसम्म ऋण दिन सक्ने जानकारी दिएको छ । यसका साथै संस्थाको हकमा जम्मा गरेको रकम ७ वर्षमा दुई गुणा तथा ११ वर्ष ३ महिनामा ३ गुणा हुने बैंकले जनाएको छ ।

ज्योति विकास बैंक

ज्योति विकास बैंकले ‘ज्योति दुई गुणा डिपोजिट’ मुद्धती योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकले ५ वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्छन् । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्धती खातामा न्यूनतम १० हजार जम्मा गरि खाता खोल्न सकिन्छ । यो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट खोल्न सकिने छ । साथै, यस खातामा ग्राहकलाई रकम आवश्यक परेमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधा पनि छ ।

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकलृ नयाँ मुद्दती योजना महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक गरेको छ । बैंकले एक हजारमै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी क्रमिक बचत खाता’ मा दैनिक मौज्दातमा १२ प्रतिशत व्याज गणना गरी उक्त व्याज त्रैमासिक रूपमा साँवामा गाभि एकमुष्ट रुपमा भुक्तानी गरिने कुरा बैंकले जनाएको छ । यस योजना अन्तर्गत खाता खोलेका ग्राहकहरुले ५ बर्षसम्म जुनसुकै समयमा यस खातामा रकम जम्मा गर्न सक्नेछन् ।

मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले ग्राहकलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई व्यक्तिगत मुद्दती खातामा १२ प्रतिशतको वार्षिक ब्याजदर प्रदान गरेको छ । यस योजना अन्तर्गत बैंकमा न्यूनतम पाँच हजारको मुद्धती खाता खोल्न सकिनेछ र त्सयमा अवधि भने न्यूनतम ३ महिना देखि १५ वर्षसम्म ग्राहकले रोज्न सक्नेछन् । यस खाताबाट बचत गर्न चाहाने ग्राहकलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X