मदन भण्डारी राजमार्गको काम ५ वर्षमा ३५ प्रतिशत, २५ अर्ब खर्च, अझै २ वर्ष थपिने

  २०७९ असार १० गते १३:३८     विकासन्युज

काठमाडौं । पूर्व–पश्चिम जोड्ने वैकल्पिक सडक मदन भण्डारी राजमार्गको भौतिक प्रगति ३५ प्रतिशत सम्पन्न छ । निर्माण कार्य सुरु भएदेखि हालसम्म अर्थात ५ वर्षको समायावधिमा राजमार्गको भौतिक प्रगति ३५ प्रतिशत सम्पन्न भएको हो ।

मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका सूचना अधिकारी शिव चरण तिम्सिनाले राजमार्ग निर्माणको काम भने लक्ष्य अनुरूप हुन नसकेको बताए ।

सरकारले २०७५ सालमा चुरे क्षेत्र (भित्री मधेस) मा बसोबास गर्ने बहुसंख्यक जनतालाई सहज यातायात सुविधा प्रदान गरी उनीहरूको जीवनस्तर सुधार्ने लक्ष्यसहित झापाको बाहुनडाँगीदेखि सुदूरपश्चिम डडेल्धुराको रूपालसम्म जोड्ने मदन भण्डारी राजमार्ग निर्माण गर्ने योजना अघि सारेको थियो । आयोजना सुरु गरेकोदेखि नै गति लिन नसकेका कारण अन्योलमा देखिन्छ ।

गत आर्थिक वर्ष २०७७÷७८ मा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सो राजमार्ग काम आ २०८१/०८२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, आयोजना निर्देशनालयले समेत तोकेको समय सीमाभित्रै काम नसकिने बताएको छ ।

निर्देशनालयका सूचना अधिकारी तिम्सिनाका अनुसार राजमार्ग निर्माणको लागि आयोजना अझै २ वर्ष समय थप हुन सक्छ ।

‘हाल राजमार्ग भित्र पर्ने सडकको कालोपत्र गर्ने, पूल बनाउने लगायतका काम भइरहेको छ, ठेक्का व्यवस्थापनमा केही समस्या आएपछि काममा ढिलाइ भएको हो, समयमा नै ठेक्का पट्टा गर्न पनि सकिएन, अहिले दु्रत गतिमा काम भइरहेको छ,’ उनले भने ।

२०७६ जेठ ६ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार यो राजमार्गको रेखांकन बाहुनडाँगी–शान्तिनगर–धरान–चतरा–गाईघाट–कटारी–सिन्धुलीमाडी–हेटौंडा–गैंडाकोट–रामपुर–राम्दी–रिडी–बलकोट–सन्धिखर्क–बिजुवार–सितलपाटी–सुर्खेत–बड्डीचौर–बडुर–जोगबुढा–रूपाल जोड्ने सडक निर्माण गर्ने योजना कार्यान्वयनमा ल्याएको हो । सडक विभाग अन्तर्गतको मदन भण्डारी आयोजना निर्देशानलयले पाँच खण्डमा विभाजन गरेर आयोजनाको काम अगाडि बढाएको छ ।

आयोजना कार्यालय दमकले ६३ किलोमिटर सडकको स्तारोन्नतीको गरिसकेको तिम्सिनाले बताए । सो कार्यालय अन्तर्गत २९ वटा पुल निर्माणको कार्य गरिरहेको छ ।

यस्तै, आयोजना कार्यालय गाईघाट अन्तर्गत १ सय ३४ किलोमिटर सडक खण्ड पर्छ । यस आयोजना अन्तर्गत पनि धेरै सडकको कालोपत्रे भइसकेको छ । सो सडक खण्डमा १२ वटा पुल निर्माण गर्नुपर्ने हुन्छ । जसमध्ये ६ वटा पुल निर्माण भएको र बाँकी ६ वटा पुल निर्माणको क्रममा रहेको पनि तिम्सिनाले जानकारी दिए ।

आयोजना हेटौडा कार्यालय अन्तर्गत १ सय १५ किलोमिटर सडकको कालोपत्रे हुने भनिएको छ । जसमध्ये ९६ किलोमिटर सडकको कालोपत्रे भइसकेको पनि तिम्सिनाले बताए । सो सडक खण्डमा नै ४० वटा पुल निर्माण हुने छन् । सो पुल मध्ये ३२ वटा पुल निर्माण भइसकेका छन् भने बाँकी ८ वटा पुल निर्माणको चरणमा छन् ।

गुल्मी आयोजना कार्यालय अन्तर्गत हलसम्म कुनै पनि सडकको कालोपत्रे नभएको तिम्सिनाले जानकारी दिए । सो कार्यालय अन्तर्गत सडक विस्तार तथा स्तारोन्नतीको काम मात्र भएको छ । आयोजना कार्यालयले यस वर्ष ४ वटा पुल निर्माणको लागि ठेक्का लगाएको पनि तिम्सिनाले बताए । यस आयोजना कार्यालयबाट पनि छिटै सडकहरूको कालोपत्रे गर्ने काम सुरु गर्ने योजनाकाका अगाडि बढेको छ ।

सुर्खेत आयोजना कार्यालय अन्तर्गत १५ वटा पुल निर्माण हुनेछन् । आयोजना कार्यालयले यो वर्ष ३५ किलोमिटर सडक पिच गर्नको लागि ठेक्का लगाएको छ । कालोपत्रेको काम सुरु भएको छैन । स्तरोन्नति सडक चौडा गर्ने काम भइरहेको पनि तिम्सिनाले बताए ।

उतm राजमार्ग अन्तर्गत १३ सय ९० किलोमिटर सडकको कालोपत्रे गर्ने लक्ष्य छ । १३ सय ९० किलोमिटर सडकको कालोपत्रे योजना मध्ये ७ सय ४० किलोमिटर मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयकाले हेरेको छ । बाँकी ६ सय ५० किलोमिटर सडक सडक विभाग तथा अन्य निकायहरूबाट राजमार्ग को काम भइरहेको पनि रहेको पनि तिम्सिनाले बताए ।

निर्देशनालयका अनुसार ७ सय ४० किलोमिटर सडक मध्ये २ सय ५० किलोमिटर सडकको कालोपत्रे भइसकेको छ ।सो राजमार्गको आयोजना अन्तर्गत एक सय ८५ वटा पुलहरू निर्माण हुने छन् । हलसम्म ७७ वटा पुल निर्माण भएका छन् ।

२५ अर्ब बढी खर्च

सो राजमार्ग निर्माण सुरु भएदेखि हालसम्म करिब २५ अर्ब रुपैयाँ भन्दा बढी खर्च भइसकेको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जानकारी दिएको ।

सो आयोजना अगाडि बढाउन चालु आर्थिक वर्षमा ३ अर्ब २० करोड बजेट विनियोजन गरेको थियो । सो बजेटमा थप गरी कुल ४ अर्ब ८३ करोड रुपैयाँ बजेट बनाइयो ।

हालसम्म चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटमध्ये ४ अर्ब ३७ करोड रुपैयाँ खर्च भइसकेको पनि सूचना अधिकारी तिम्सिनाले जनाकारी दिए । यस्तै, आगामी आर्थिक वर्ष २०७९÷८० मा मदन भण्डारी राजमार्गको लागि २ अर्ब ९१ करोड रुपैयाँ विनियोजन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.