नेपाल बंगलादेश बैंकका ७ जना सिनियर परे चेपुवामा

  २०७९ असार ९ गते १६:२८     विकासन्युज

काठमाडौं । नविल बैंकमा मर्ज हुँदै गर्दा नेपाल बंगलादेश (एनबी) बैंकको उच्च पदमा कार्यरत ७ जना कर्मचारी अन्यायमा पर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले एनबी बैंकका उच्च व्यवस्थापन तहमा कार्यरत ७ जनाको पद घटुवा गर्न सहमति दिन सकिने तर त्यसभन्दा तलका कर्मचारीको पद घटाउन नमिल्ने जनाएपछि एनबी बैंकका उच्च व्यवस्थापनमा कार्यरत ७ जना तनावमा परेका छन् ।

यसरी घटुवाको जोखिममा पर्नेमा नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ, नायव महाप्रबन्धकद्वय रघु कृष्ण श्रेष्ठ र सलोनिका सिंह, सहायक महाप्रबन्धकहरु सुरेश देवकोटा, नवराज खनिया, राजेन्द्र प्रसाद अधिकारी र वित्त प्रमुख कविन्द्र दाहाल रहेका छन् ।

दुबै बैंकबीच एनबी बैंकका कामु प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेलाई नविलमा नायव प्रमुख कार्यकारी अधिकृत बनाउने सहमति भएकाेले उनकाेमा विवाद नभएको स्रोतले बतायो ।

मर्जको क्रममा नेपाल बंगलादेश बैंकका सबै कर्मचारीको एक पद घटाएर नविलमा समायोजन गर्ने दुबै बैंकबीच सहमति भएको थियो । यस्तो निर्णयमा राष्ट्र बैंकले असहमति जनाएको छ ।

यसै साता बसेको राष्ट्र बैंकको सञ्चालक समितिमा यस विषयमा गम्भिर छलफल भएको थियो । दुबै बैंकले पाएको लाइसेन्स एउटै वर्गको भएको, दुबै बैंकले समान कानुन पालना गर्दै आएको, दुबै बैंकलाई राष्ट्र बैंकले समान हैसियतमा नियमन गर्दै आएको पृष्ठभूमि उल्लेख गर्दै मर्जको क्रममा एक बैंकको सबै कर्मचारीलाई अर्को बैंकमा पद घटाउने अन्यायपूर्ण हुने र त्यसमा राष्ट्र बैंकले स्वीकृत दिन नसक्ने निर्णय भएकाे छ ।

यो विषय दुबै बैंकलाई जानकारी गराएको राष्ट्र बैंक स्रोतले बतायो । ‘मर्जको सबै प्रक्रिया मिलेर गएको छ । कर्मचारीबीच विभेद नगर्नुहोस् । अहिलेको विवाद मिलाएर आउनुहोस् भनेर दुबै बैंकलाई अनुरोध गरेका छौं’ राष्ट्र बैंकका उच्च अधिकारीले भने ।

दुबै बैंकको सञ्चालक समितिबीच सहमतिमा भएको निर्णयलाई पनि कदर गर्नको लागि उच्च पदमा कार्यरत ७ जनाको पद घटुवा गर्ने सम्बन्धमा राष्ट्र बैंकले सहमति दिने उनले बताए । ‘माथिल्लो पदमा रहेकालाई धेरै असर पर्दैन, म्यानेजर र त्यस भन्दा तलको लागि घटुवा गर्ने कुरा राम्रो होइन, त्यसमा राष्ट्र बैंकको सहमहि हुन्न’ उच्च अधिकारीले भने ।

राष्ट्र बैंकले मंगलबार दुबै बैंकका मर्जर कमिटिका सदस्यहरुलाई बोलाएर यस विषयमा सम्झाई बुझाई पठाएको र उनीहरुले पनि निर्णय सच्याएर ल्याउने बताएको ती अधिकारीले बताए । तर नविल बैंकका मुख्य प्रवद्र्धक विनोद चौधरीले मर्ज भाँडिन सक्ने तर एनबी बैंकका कर्मचारीलाई समान हैसियत दिन नसकिने अडान व्यक्त गरेका छन् । दुइ पक्षबीचकाे विवादले एनबी बैंकका बरिष्ठ ७ जना कर्मचारी भने चेपुवामा पर्ने भएका छन् ।

मर्जर प्रक्रियाको सबै काम सकिए पनि राष्ट्र बैंकले कर्मचारी मिलाउन दुबै बैंकलाई केही समय दिने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विदेश गएकोले एक सातापछि राष्ट्र बैंकको सञ्चालक समितिको बैठक पनि नबस्ने भएको छ ।

सम्बन्धित समाचार

नबिल-एनबी मर्जर प्रकरणमा राष्ट्र बैंकको अडान र विनोद चौधरीको धम्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.