एकैदिन ७७ प्रतिशतले बढ्यो सेयर कारोबार, दुई लघुवित्तमा लाग्यो सकारात्मक सर्किट

  २०७९ असार ९ गते १५:४२     विकासन्युज

काठमाडौं । सेयर बजार घट्ने क्रम जारी रहेको छ । बिहीबारको सेयर बजार कारोबार शुरु भएदेखि निरन्तर घटेर बन्द भएको छ ।

कारोबार खुल्दा १८८९ बिन्दुमा रहेको परिसूचक दिनभरको कारोबारमा घटेर १८३६ बिन्दुसम्म झरेको थियो । तर अन्त्यमा बजार बन्द हुँदा परिसूचक ४५.२५ अंकले घटेर १८४८.२८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २.३९ प्रतिशतले घटी हो ।

परिसूचकको तुलनामा कारोबार रकम भने बढेको छ । बुधबारको तुलनामा बिहीबारको सेयर कारोबार ७७.८१ प्रतिशतले बढेको छ । बुधबार ८४ करोडमा सीमित भएको सेयर कारोबार बिहीबार १ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसबाट घट्दो बजारमा लगानीकर्ताहरु प्यानिक भएर सेयर बिक्री गर्न थालेको बुझिन्छ । अर्को, बजार निरन्तर घटेपछि बैंक तथा वित्तीय संस्थाहरुले भटाभट मार्जिन कल गर्न थाल्छन् । त्यसबाट लगानीकर्ताहरु थप प्यानिक भएर घाटामै भएपनि सेयर बिक्री गर्न बाध्य हुने छन् ।

बिहीबारको सेयर बजारमा बढी कारोबार गर्नेको सूचीमा वाणिज्य बैंक रहेको छ । सबैभन्दा बढी कारोबार भएको कुमारी बैंकको एकैदिन ९ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १९४ रुपैयाँमा झरेको छ । त्यस्तै, दोश्रोमा लक्ष्मी र तेश्रोमा नबिल बैंक छ । प्रतिकित्ता क्रमशः १९८.८० र ७४९ रुपैयाँ बराबरको मूल्य भएको यी दुई बैंकको सेयर क्रमशः ६ करोड ३६ लाख र ५ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

घट्दो बजारमा पनि दुई लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । आँखुखोला लघुवित्त वित्तीय संस्था र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य क्रमशः १० र ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता क्रमशः ९६०.७० र ६०५.३० रुपैयाँमा झरेको छ ।

बिहीबार शिवश्री हाइड्रोपावरको सेयर मूल्य ९.५६ प्रतिशतले घटेको छ । त्यस्तै, लिवर्टी इनर्जी कम्पनीको ९.२१ प्रतिशतले घटेर प्रतिकित्ता २०७ रुपैयाँमा झरेको छ ।

त्यस्तै, बजारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समूह रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.