कति लाग्छ विद्युतीय गाडी खरिदपछिको खर्च ?

  २०७९ असार ९ गते १४:२०     विकासन्युज

काठमाडौं । पछिल्लो समय उपभोक्ताको छनौटमा पर्छ विद्युतीय सवारी । पेट्रोलियम पदार्थको उच्च मूल्य वृद्धि र कम मूल्यको विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने सरकारको नीतिले पनि उपभोक्ताहरुको प्राथमिकतामा विद्युतीय सवारी पर्न थालेको छ ।

सवारी किन्न मात्र महँगो हुँदैन, पाल्न पनि महँगो हुने गर्दछ । सवारीमा प्रयोग हुने इन्धन र मर्मतमा नियमित खर्च आउँछ । त्यसमाथि सवारीको पार्टस् फेर्नु पर्दा उत्तिकै खर्च हुने गर्छ ।

पेट्रोल र डिजेलबाट चल्ने सवारीको तुलनामा विद्युतीय उर्जाबाट चल्ने सवारीको सञ्चालन तथा मर्मत खर्च कम आउने जानकारहरु बताउँछन् । विगत ६ वर्षदेखि विद्युतीय गाडी चड्दै आएका पूर्व अर्थसचिव रामेश्वर खनाल विजुली गाडी चलाउन सस्तो परेको अनुभव सुनाउँछन् ।

इन्धन खर्च पनि कम हुने र मर्मत खर्च पनि कम हुने उनको अनुभव छ । ७ वर्षको लागि गाडी उत्पादक कम्पनी कियाले व्याट्री वारेन्टी गरेकोमा ६ वर्षसम्म कुनै समस्या नआएको उनले बताए । ‘६ वर्षको व्याट्रीको पावर ३ प्रतिशत क्षय भएछ । ३० प्रतिशतसम्म क्षय हुँदा चलाउन मिल्छ भन्ने रहेछ’ उनले भने–‘अझै ३/४ वर्ष चल्छ कि भन्ने लागिरहेको छ ।’

एमजी ब्राण्डका विद्युतीय गाडी बिक्री गर्दै आएको पारमाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्याल अन्य गाडीको तुलनामा विद्युतीय गाडीको सञ्चालन खर्च न्यून आउने बताउँछन् । उनका अनुसार गाडीमा कति समस्या आउने चालकको हातमा हुन्छ । यद्यपी विद्युतीय गाडी खरिद गरेको २ वर्षसम्म व्याट्री चार्ज बाहेक खर्च हुँदैन ।

‘विद्युतीय मात्र नभएर जुनसुकै गाडीका पार्टस्हरु बिग्रनुमा मुख्य हात चालकको हुन्छ, चालक अनुसार खर्च बढ्दै जाने हो’, उनले भने, ‘विद्युतीय गाडीकोे एयर फिल्टर र ब्रेक प्याडमा बेलाबेलामा समस्या देखिन्छ ।’

चालक अनुसार २ महिनादेखि ६ महिनासम्ममा एयर फिल्डर फेर्नु पर्ने उनले बताए । एमजीले एक पटक एयर फिल्टर राख्दा ३५०० देखि ४ हजार रुपैयाँसम्म लिने गरेको उनको भनाई छ ।

हुण्डाई गाडीका पाटर्स सर्भिस म्यानेजर सञ्जोक कायस्थले अहिलेसम्म विद्युतीय गाडीमा गम्भीर प्रकृतिको समस्या नआएको बताए । ‘विद्युतीय गाडीमा खासै समस्या आएको गुनासो हामीलाई ग्राहकबाट आएको छैन, तीन वर्षभन्दा पुराना गाडीमा केही सामान्य समस्या आउने गरेका छन्,’ उनले भने ।

तीन वर्षपछि ब्रेक र एसी प्याडमा समस्या आउने गरेको र त्यसको मर्मत सहजै हुने उनले बताए । ‘पुरानो भएपछि हुन्डाईका विद्युतीय गाडीमा ब्रेक प्याड र एसी फिल्टरमा केहीको समस्या आएको छ, डिजेल पेट्रोलका गाडीमा जस्तो विद्युतीय गाडीमा खासै समस्या आउँदैन, कुनै कुनै ग्राहकले ब्रेक प्याड र एसी फिल्डरमा समस्या आयो भन्नुहुन्छ तर अन्यमा समस्या आएको अहिलेसम्म जानकारी भएको छैन’, उनले भने ।

उनले एसी फिल्टरका लागि १२ हजार र ब्रेक प्याडका लागि २० हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको बताए । विद्युतीय गाडीमा जडान गरिएको व्याट्रीमा समस्या नआएको उनको भनाई छ । व्याट्रीको तलको प्यानलमा बर्षाको समयमा पानी पस्ने गरेकोे पाइएको र व्याट्री प्याक खोलेर पानी सुकाएपछि उक्त समस्या समाधान हुने गरेको उनले बताए । प्यानल नै ठोकिएर प्वाल परेको अवस्थामा मात्र पानी पस्ने समस्या आउने गरेको उनले जनाकारी दिए ।

कति लाग्छ चार्जिङ खर्च

विद्युतीय कार, मोटरसाइलक, स्कूटर उपभोक्ताले घरमा नै चार्ज गर्न सकिन्छ । चार्जिङ स्टेशनको लागि पनि नेपाल विद्युत् प्राधिकरणले विद्युतीय छट्टै महसुल तोकेको छ । विद्युतीय बस चार्ज गर्दा चार्जिङ स्टेसनले प्रतियुनिट ४ रुपैयाँ ६० पैसा तिर्नुपर्ने छ ।

निजी सवारी चार्जिङ स्टेसनले न्युनतम् ४.४५ रुपैयाँदेखि ११.७० रुपैयाँसम्म महसुल तिर्नुपर्नेछ । उल्लेखिच शुल्कमा चार्जिङ स्टेशनले २० प्रतिशत शुल्क लिएर सवारी चार्ज गर्नु पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.